Logo
६ बैशाख २०८१, बिहीबार
(September 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशबाट शव ल्याउन अब नयाँ कार्यविधि: झमेला र ढिलाइ अन्त्य

saw

काठमाडौं । विदेशमा मृत्यु भएका कामदारको शव ल्याउँदा हुने झमेला र ढिलाइ अन्त्य गर्न छिट्टै कार्यविधि आउने भएको छ । नीतिगत व्यवस्था नहुँदा श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र परराष्ट्र मन्त्रालयबीच शव ल्याउने विषयमा बारम्बार प्रस्टताको अभाव खटकिरहन्थ्यो ।

कार्यविधि बनेपछि विदेशमा मृत्यु भएका वैध वा अवैध दुवैथरी कामदारको शव ल्याउन भइरहेको झमेलाको अन्त्य गर्नेछ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशकको नेतृत्वमा बनेको टोलीले शव व्यवस्थापन कार्यविधि निर्माण अन्तिम चरणमा पुर्‍याएको छ ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलका अनुसार शव व्यवस्थापन कार्यविधिले विद्यमान झन्झटमात्रै हटाउने छैन, शव ल्याउने जिम्मेवारीको पनि प्रस्ट बाँडफाँड गर्नेछ । अवैध वा बेवारिसे कामदारको शव ल्याउँदा लाग्ने खर्चको व्यवस्थापन कसले गर्ने भन्ने विषयमा श्रम, परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागबीच सधैं झमेला देखिँदै आएको छ ।

‘कार्यविधि लागू भएपछि गैरकानुनी रूपमा मृत्यु भएका कामदारको शव कसले र कसरी ल्याउने भन्ने प्रस्ट हुनेछ,’ उनले भने । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर शाखाका अनुसार वैदेशिक रोजगारीमा गएका ५२ जनाको शव विदेशका विभिन्न अस्पतालमा छन् । साउदी अरबमा ३०, मलेसियामा १४ र कतारमा ८ नेपालीका शव छन् । ती मध्ये केहीको शव नेपाल झिकाउने अन्तिम प्रक्रिया चलिरहेको छ ।

मलेसियन दूतावासमा द्वितीय सचिवका रूपमा काम गरेर हालै मात्र नेपाल फर्केका कन्सुलर अधिकृत अरुण महत परिवारको सम्पर्क ठेगाना पत्ता लाग्न नसकेर वर्षौसम्म शव विदेशका अस्पतालमा अडकिने गरेको बताउँछन् । मलेसियामा एउटा शव एक वर्षभन्दा लामो समयदेखि अडकिएको सुनाए ।

परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागका महानिर्देशक गणेशप्रसाद ढकाल शव ल्याउन धेरै सरकारी निकायको सहभागिता आवश्यक पर्ने बताउँछन् । कतिपय देशमा उनीहरूको चाडपर्व वा सम्बन्धित कम्पनीले गर्ने ढिलाइका कारण पनि शव अडने उनले बताए । अनेकन प्रयत्नपछि नेपालमा शव आए पनि त्यसबारे अन्तिम जानकारी भने कन्सुलर विभागले पाउँदैन । ‘शव आएको जानकारी हामीकहाँ आइपुग्ने विधि छैन,’ ढकालले भने ।

प्रकाशित मिति: Sep 29, 2016

प्रतिक्रिया दिनुहोस्