Logo
१३ बैशाख २०८१, बिहीबार
(September 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय र पाकिस्तानी मिडियाबीच आरोप प्रत्यारोप !

indian-pakistan-media

नयाँ दिल्ली, एजेन्सी ।  उरी हमलाले भारत र पाकिस्तानको सम्बन्धमा ठूलै उथलपुथल ल्याइदिएको छ । यसै त यी दुई देशले एक अर्कालाई ‘दुश्मन’ को रुपमा हेर्ने गर्दथे, अहिले उनीहरुको ‘दुश्मनी’ निकै चुलिएको छ । उनीहरुले एउटै घटनालाई हेर्न दृष्टिकोणमा पनि आकाश–पातालको फरक छ । यसलाई पुष्टि गर्छ भारतीय र पाकिस्तानी मिडियाका समाचारहरुले । यी दुई देशका मिडियाले एकअर्कामाथि आरोप प्रत्यारोप लगाउन पछि परेका छैनन् ।

१. बुधबार राती भारतीय सेनाले ‘सर्जिकल अप्रेशन’ गरी ३८ आतंककारीलाई मृत्युको मुखमा पुर्याएको बताउने भारतीय समाचार एजेन्सीको दाबीलाई पाकिस्तानी मिडियाले खण्डन गरेको छ । पाकिस्तानी सेनालाई उद्धृत गर्दै त्यहाँका मिडियाले बतायो, ‘ भारतको तर्फबाट कुनै सर्जिकल स्ट्राइक भएको थिएन । यो सीमा पारीबाट गरिएको गोलीबारी थियो जुन पहिले पनि हुने गर्दथ्यो ।’ यदि पाकिस्तानी भूमिमा सर्जिकल स्ट्राइक भए पाकिस्तानले यसको निकै कडा जवाफ दिने पाकिस्तानी सेनाले बताएको छ ।

२. यसका साथै बुधबार रातीको गोलीबारीमा भारतीय सैनिकले ३८ आतंककारीलाई मारेको बताए पनि पाकिस्तानले भने आफ्ना दुई सैनिकले सहादत पाएको बताएको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले आफ्ना मृत दुई सैनिकलाई श्रद्धाञ्जली दिएको खबर पाकिस्तानी मिडियाले सार्वजनिक गरेका थिए ।

३.पाकिस्तानका प्रधानमन्त्री शरिफले भारतले ‘सर्जिकल स्ट्राइक’ गरेको घोषणालाई अस्वीकार गरेपछि लाजबाट बच्नका लागि पाकिस्तानले यसो गरेको भारतले आरोप लगाएको छ । यता पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले भारतले आफ्ना जनता र मिडियालाई सन्तुष्ट बनाउनका लागि आफ्नो झुटो रङ देखाइरहेको बताएका छन् । रक्षामन्त्रीका अनुसार एलओसीमा भारतले साना हतियारको प्रयोग गरेका थिए जसमा दुई सेना शहिद भएका छन् र अन्य ९ जना घाइते भएका छन् । पाकिस्तानले पनि यसरी नै जवाफी कारवाही गरेको उनले बताए ।

pak-indian-media

४. भारतीय क्रिकेट टिमको एक दिवसीयका कप्तान महेन्द्र सिंह धोनीको बायोपिक फिल्म ‘एम एस धोनी– द अनटोल्ड स्टोरी’ माथि पाकिस्तानमा प्रतिबन्ध लगाएको खबर भारतीय समाचार एजेन्सीले छापेको छ । कुनैले त पाकिस्तानले धोनीको फिल्ममाथि प्रतिबन्ध लगाएर आफ्नो औकात देखाएको भनी आरोप लगाएका छन् । तर यता पाकिस्तानी मिडियाले भने आफूहरुले धोनीको फिल्मलाई प्रतिबन्ध नगरेको बताएका छन् । पाकिस्तानी मिडियाका अनुसार पाकिस्तानका सेन्सर बोर्डले फिल्मको सर्टिफिकेसन नै नपाएको भन्दै फिल्मलाई कसरी प्रतिबन्ध लगाउन सकिन्छ भनेर प्रतिप्रश्न गरेका छन् ।

५. धोनीको फिल्म पाकिस्तानले प्रतिबन्ध लगाएकोमा रिसाएको भारतले पाकिस्तानी गायक आतिफ असलमको कन्सर्ट रद्ध गरेको छ । भारतको गुडगावमा हुने भनिएको अतिफको कन्सर्ट त्यहाँको जिल्ला प्रशासनले सैन्य बल र सीमामा तैनाथ सैनिकको भावनालाई ध्यानमा राख्दै कन्सर्ट रद्द गर्नुपरेको बताएको छ ।

प्रकाशित मिति: Sep 29, 2016

प्रतिक्रिया दिनुहोस्