Logo
२४ मंसिर २०७९, शनिबार
(September 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर आज जितियाको रौनक: महिलालाई सार्वजनिक विदा !

jitiya

काठमाण्डौ । तराई–मधेशमा खासगरी मधेशी र थारु महिलाले मनाइने जितियाको अन्तिम दिन आज धुमधानमले बनाइदै छ । तराई/मधेशमा जितियाकै अवसरमा बिभिन्न स्थानमा मेला तथा विषेश कार्यक्रमको आयोजना गरिएको छ । यता सरकारले जितिया पर्व बनाउने महिलालाई सर्वाजनिक विदा समेत दिएको छ । पहाडी महिलाहरुले बनाइने तिज जस्तै मधेशी र थारु महिलाहरुले यो पर्व मनाउने गरिएका छन ।

जितिया पर्व मधेसी र थारु समुदाय संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई “जिमुतवाहन ” व्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन मधेस र थारु समुदायका प्रत्येक गाउँघर, सहरका महिलाले मनाउँछन् । विशेष रुपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यसलाई “खड् जितिया” पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसको आमाले खड् जितिया गरेकी रहिछन् भन्ने मान्यता पनि रहेको छ ।

“यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ ।” 

पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र प्राचीन प्रक्रिया अनुरुप पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ । जितिया पर्व यस कारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो पुत्रको आयु वृद्धि हुने जनविश्वास पाइन्छ ।जितिया पर्वको मुख्य उदेश्य मोक्ष प्राप्तिको कामनासँगै परिवार कल्याण पनि रहेको धारणा पाइन्छ । यस पर्वबारे एउटा भनाइ यस प्रकार छ :-
जितिया पावनि बड भारी
धियापूताके ठोकी सुतौलनी
अपने खयलनी भरि थारी 

अर्थात् जितिया पर्व धेरै ठूलो छ । यो पर्व गर्न आमाले छोराछोरीलाई ठोकठाक पारेर सुताइदिन्छे अनि आफू थालभरि खान्छे । तर वास्तविकता त्यो होइन, त्यो त खाली त्यसको पवित्रता र महत्वलाई दर्शाउने गरी त्यो पर्व गर्नुभन्दा अगाडि प्रत्येक महिलाले व्रत लिन अपनाउने सतर्कताका क्रममा गरिने चरणको कार्यमात्र हो ।

जितिया पर्वको बिधि:-
यस पर्वको आफ्नै विशिष्ट विधिविधान रहेको छ । पर्वको एक दिनपूर्व अर्थात् सधवा स्त्रीसँग माछा एवम् कोदोको रोटी खाने गर्छन् भने विधवाले भात, चिउरा, कोदोको रोटी खाने परम्परा रहेको छ । शाकाहारी हुनेले स्नान गरेर गम्हरी (कोसाभित्रै फल्ने धान)को खीर वा भात पनि खाने चलन छ । अष्टमी तिथिको बिहान ३,४ बजेतिर नै प्रत्येक महिलाले आचमन शुद्धि गरी घिरौंलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्घ राख्छन् । त्यसपछि दिनरात उपवासमा बस्नुपर्ने भएकाले छाकभरि भोजन गर्छन् । महिलाले व्रत उपवास गर्नुभन्दा पहिला नै खाने गरेकाले नै होला, यस व्रतका सन्दर्भमा माथि उल्लेख गरिएको भनाइको चलन भएको विश्वास छ ।

बच्चा ब्युँझेपछि तिनका आमाले तिनको मुख, हात धुन लगाई राति तिनका लागि घिरौँलाका पातमा राखेका नैवेद्य स्वरुपको चिउरा, दही खान दिन्छन् र आफू दिनरात उपवासमा बसेर जिमुतवाहन र चुल्हो सियारोको कथा सुन्छन् । जुन दिन नुहाएर खाइन्छ त्यसको भोरमा घरको भित्तामा अडेस लिएर मन्त्र पढिन्छ जसलाई ओङगठन भनिन्छ । ओङगठनको मन्त्र यसप्रकार रहेको छ:-

धियाके जनम जनि दिय हे विधाता
देवनी सहोदर जेठ भाय
घैलाके ओङगठन गेरुली
बहिनियाँके ओङगठन भाय ।।
भोलिपल्ट बिहानै सकालै उठेर व्रतीले पोखरी, नदीमा गएर स्नान गर्छन् र त्यही डिलमा घिरौँलाको पात, कचौरामा लगेको तेल लगाई त्यसमाथि हल चढाएर अर्घ दिसकेपछि घर आउँछन् र आ–आफ्ना सन्तानका कपालमा कचौरामा रहेको सो पूजनको तेल लगाइदिने चलन रहेको छ । यसपछि सबैलाई दही, चिउरा र फलफूल खान दिएर व्रती आफू पनि पारायण गरेर पर्वको समापन गर्छन् ।

जिमुतवाहनको पूजा:
कृष्ण अष्टमीका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका महिलाले एक ठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ, जिमुतवाहन देउताका बारेमा एउटी व्रतालु महिलाले कथा वाचन गर्छन् र सबैले कथा श्रवण गरेपछि आ–आप्mना घर फर्किन्छन् । साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ ।

त्यो पोखरीको डिलमा पाकडी रुखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोकोे चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाउँछन् । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छन् ।
जिमुतवाहन को हुन् ? भविष्य पुराणमा वर्णन गरेअनुसार शालिवाहन राजाका पुत्र जिमुतवाहन थिए । उनीमाथि महादेवको असीम कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवान्बाट प्राप्त गरेका थिए ।

चिल र स्यालको पनि पूजा
हिन्दू धर्मको विभिन्न पर्वमा कतिपय चरा र जनावरलाई विशेष महत्व दिएर पूजा गरेर सम्मान दिने परम्परा रहेको छ । सोहीअनुरुप गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसोलगायतका जनावरको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्नुपर्ने हुन्छ ।
जितिया पर्वको कथा :-
कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रुखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल । दुईवटैको बीचमा घनिष्ठ मित्रता थियो । एकदिन जितिया पर्व मनाउने महिलाले नर्मदा नदीमा स्नान गरी त्यही रुखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन गरेका थिए ।  व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि जितिया व्रत गर्ने इच्छा जागृत भयो । दुवैले सल्लाह गरी व्रतमा बस्ने निधो गरे । सोही राति नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकका आफन्तले शवको अधिकांंश भाग जलेपछि छोडेर घर फर्के । उनीहरु फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो र साथी चिललाई थाहै नदिई मासु पनि खायो र केही लुकाएर पनि राखेको चिलले हेरिरहेको थियो ।

दुवैको जन्म भास्कर नामक ब्राह्मणको घरमा भयो । पूर्वजन्ममा चिलको शीलावती र स्यालको कर्पुरावतीका रुपमा जन्म भयो । जेठी शीलावतीको विवाह धनवानको घरमा र कर्पुरावतीको राजाको घरमा । जेठी शीलावतीका सात छोरा भए तर महारानी भएकी कर्पुरावतीको छोरा जन्मियो तर मृत्यु भयो । वर्षांपछि दुवैको सम्बन्ध चिसिँदै गएपछि जेठी शीलावतीले आप्नी बहिनीलाई पूर्वको घटना स्मरण गराउँदै व्रत भङ्ग गरेका कारण यस जन्ममा तिम्रो सन्तानको मृत्युु भएको भनी जानकारी गराएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । त्यसै कारणले यो व्रत जति कठोर भए पनि व्रतलाई कसैले खण्डित गर्न चाहँदैनन् ।

थारु जनजातिका महिलाबीच पनि यो पर्व अति लोकप्रिय रहेको छ । थारु समुदायमा विवाहित महिलाले आफ्ना सन्तति र पतिको सुखशान्तिको कामना गर्दै निराहार बसी तीन दिनसम्म यो पर्व मनाउने गर्छन् । यस समुदायमा पर्वको पहिलो दिन पिना र पहेँलो माटो मुछेर घिरौँलाका पातमा घिरौँलाकै फूलबाट पूजा गरिन्छ र त्यही माटोबाट कपाल नुहाइन्छ । भोलिपल्ट बिहान कुलदेवता बस्ने घरको पिँढीमाथि चिल र पिँढीदेखि तल स्यालको पूजा गरिन्छ । पर्वको तेस्रो दिन बिहान घरको आँगनमा पूजा गरेर उपवास तोडिन्छ र जिमुतवाहनको कथा सुन्ने र नाचगान गरिन्छ ।

जितिया पर्वलाई दसैँ आगमनको सङ्केतका रुपमा पनि लिइन्छ । कतिपय महिलाले यस पर्वमा पुर्खालाई समेत पूजा गर्ने गरेको पाइन्छ । यस पर्वमा आफ्ना कुलका मृत श्रेष्ठ महिलाको स्मरण गर्दै पूजन गरिन्छ । छोरा र छोरीमा भेदभाव गर्नुहुन्न भन्ने चेतना बढ्दै गएकाले यसलाई अचेल आफ्ना सन्तानको कल्याणका लागि मनाइने पर्व पनि भन्न थालिएको छ । ऐतिहासिक यस भू–भागमा बसोवास गर्ने मुस्लिमबाहेकका महिलाको पर्वका रुपमा पनि यसले आफ्नो अस्तित्व हालसम्म कायम राखेको छ ।

एउटा भनाइ प्रसिद्ध छ :-
जितिया, दसँ दशमी, दशमी बिसे
सुकराति, सुकराति छवे छठी ।।

यस भनाइले पनि जितिया सकिएको लगभग विजयादशमीको रौनकतालाई प्रस्ट गर्दछ । यो व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेकाले यस पर्वले सामाजिक, धार्मिक र सांस्कृतिक विविधतालाई पनि सामाजिक संरचनाकै अभिन्न पर्वका रुपमा बुझ्नु जरुरी छ ।

जितियाबारे थप विषेश जानकारी हाम्रो पात्रोबाट :

संस्कृतमा ‘जिवित पुत्रिका’, हिन्दीमा जियतिया र नेपालमा तराइवासी मधेशी महिलाहरू ‘जितिया’लार्इ अाफ्नो सन्तानको सुख, अानन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाड हो । यसलार्इ जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अाश्विनको (अष्ठमी तिथीको कृष्ण पक्ष)को दिन मनाइन्छ । यो पर्व खासगरि अामाहरूले अाफ्नो जिवित पुत्रहरूकालागि व्रत बस्ने गर्दछन् । महिलाहरु ‘निर्जला’ अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान ‘जीतमहान गोसार्इँ’ को पूजाअाजा गरी कठोर व्रत बस्ने परम्परा रहिअाएको छ ।

आउनुहोस् सर्वप्रथम आज हामी यस व्रतको महिलामा संग्रहित कथाबाट शुरुवात गर्दछौं । एकादेशमा नर्मदा खोलाको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो र उक्त ठाउँमा राजा मलायकेतुले राज्य गर्दथे । खोलाको पश्चिमी किनारामा वलुहटा नाम गरेको एउटा मरुभुमी पनि थियो, त्यहि किनारमा एउटा पाखरको रुख मा पोथी चील चरा र रुखमुनी पोथी स्याल बस्थे । उनिहरु दुवै साथीसाथी भए र एकदिन गाउँका अरु महिलाहरुले जस्तै उनिहरुले पनि भगवान जीतमहान गोसार्इँको निर्जल व्रत बस्ने निर्णय गरे तर संयोगवश त्यसै दिन उनिहरु बस्ने मरुभुमीको छेउमा शहरको धनी ब्यापारीको छोरालाई ल्याएर गाडिन्छ, चीलले अरु महिलाहरुझैं ब्रत कायम राखेपनि स्याल भने गाडेको लाशको मासु सेवनगर्ने तिव्र इच्छालाई दबाउन नसकेर व्रत तोड्न पुग्दछे ।

अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि व्राह्मण परिवारमा दिदि-वहिनीका रुपमा जन्मिन्छिन् । चील अब शिलवती नामकी व्राह्मण कन्याको रुपमा र उनकी वहिनी अर्थात स्यालको यस जन्ममा कपुरवती हुन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसंग अनि वहिनी कपुरवतीको विवाह राजा मलायकेतुसंग विवाह हुन्छ । शिलवतीको सात जना सुन्दर पुत्रहरु हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनि एकदमै दुखी र निरास हुन्छिन् । शिलवतीका छोराहरुले राजा मलायाकेतुकोमा काम गर्न थाल्दछन् र ति केटाहरु आफ्नी दिदिका पुत्रहरु भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकि शिलवतीकी बहिनी कपुरवति रिसले चुरचुर हुन्छिन् । राजालाई भनेर ति सातैजना शिलवतीका पुत्रहरुको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदिकोमा पठाउने षडयन्त्र गर्दछिन् ।

तर यो कुरा भगवान जीतमहान गोसार्इँले थाहा पाएपछि सातै छोरालार्इ जनालाई बचाउनुहुन्छ र ति सातैजना पुत्रहरुलाई अमृत दिएर अमर बनाउँदै उनिहरुको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ । यसरी रातो कपडाले बेरीएको त्यो उपहारजस्तो देखिने भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफुलले भरिपूर्ण भएको हुन्छ । यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदिको घरमा अब छोराहरुको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयवित अनि रुवावासी भइरहेको होला भनि एकजना सेविकालाई बुझ्न पठाउँछिन तर शिलवतीको घरमा हर्ष उल्लास र खुशियाली छाएको सन्देशयूक्त खबर उनीहरूले ल्याएपछि राजा मलायतु अर्थात कपुरवतीका पतिले पक्कैपनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोंच्दछन् ।

दिदिको खुशी सहन नसकि अव कपुरवती दिदिको घर पुग्दछिन् र आफूले सम्पूर्ण कुरा भन्दिन्छिन् । यसो भन्दैगर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आँउछ जहाँ उनले चीलको रुपमा भएपनि भगवान जीतमहान गोसार्इँको व्रत बसेकि थिइन् यो प्रसंग शिलवतीले बहिनीलार्इ भन्दछिन् र यो सुनेर बहिनी कपुरवति बेहोस हुन्छिन् जसलगत्तै उनको मृत्यु हुन्छ । यसै बेलादेखि भगवान जीतमहान गोसार्इँको श्रद्दापूर्वक ढंगले आमाहरुले छोराछोरीको रक्षकालागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहिअाएको छ । विशेषत तराइ र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा सनातन रित अनुसार आज जितियाको व्रत लिइन्छ ।

यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यकालागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदहारण हो । अश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म गरी तिनदिनसम्म मनाइने यो पर्वको प्रथम दिनलाई नहाई खाई अर्थात् एकाविहानै उठी नजिकको जलाधार अथवा नदिमा गएर स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिअाएको छ । आमाहरुले स्नान गरेर मात्र यस दिन चोखो खानेकुरा सेवन गर्दछन् ।

दोश्रो दिन जिवितपुत्रीकाको दिन ‘अष्टमी’ र यसदिनलार्इ ‘खर दिन’ पनि भनिन्छ । खर भनेको एक प्रकारको घाँस हो जुन विभिन्न धार्मिक सामाजिक कार्य लगायत गाउँतिर घरको छाना छाउन पनि प्रयोग गरिन्छ । तेश्रो दिनलाई पारण भनिन्छ र यस दिन खाना खाइन्छ, तिथि मितीमा तलमाथी परे अथवा एउटै तिथी दुइदिन परेमा कहिलेकाँही आमाहरुले तिनदिनसम्म निर्जल व्रत बस्नुपर्ने पनि हुन्छ ।

अझ विशेष रूपले नेपालको मिथिलाञ्चलमा एकदमै प्रचलित यो पर्वको विशेष खाने परिकारको आकर्षण भनेको झोर भात अर्थात झोल भनेको तरकारी लगायतका कुराको रस र सामान्य भात अनि ‘नोनीको साग’ र ‘मडूवा’ अर्थात कोदोको रोटी हो । खानेकुराको स्वाद त समय अनि भान्छा अनुसार परिवर्तन हुनसक्ला तर एउटी आमाको आफ्नो सन्तानप्रतिको माया सदियौंदेखि उत्तिकै पवित्र अनि मातृमिठासले भरिपूर्ण छ । सबै आमाका छोराछोरीको रक्षा होस्, सबै छोराछोरीले आमालाई माया गरुन्, जितियाको अपार शुभकामना ।

प्रकाशित मिति: Sep 23, 2016

प्रतिक्रिया दिनुहोस्