Logo
११ बैशाख २०८१, मंगलबार
(September 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले सुझाव लिन बोलाएको सर्वदलीय बैठकमा आलोचना नै बढी !

sarbadaliya-baithak

प्रचण्डलाई बाबुरामको सुझाव: भारतसँग लिपुलेक र सीमाको कुरा उठाउनुस्

काठमाडौं, २८  भदौ  । नयाँ शक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणमा लिपुलेक र नेपाल–भारत सीमा विवादको कुरा उठाउन सुझाव दिएको छ । मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटी नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपाल–भारतबीच हुँदै आएको सीमा विवाद र लिपुलेक नेपालको हो भन्ने दाबी नेपालका तर्फबाट पेश गर्न सुझाव दिएको हो ।

नयाँ शक्तिले भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डलाई १० बुँदे सुझावसमेत पेश गरेको छ। संयोजक भट्टराईले प्रधानमन्त्रीलाई नेपाल–भारतबीचको सम्बन्धलाई संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलका सिद्धान्तका आधारमा कायम राख्नुपर्ने आवश्यकता औंल्याउँदै सुझाव पेश गरेका हुन् । उनले नेपाल–भारत सम्बन्धमा विगतदेखि रहँदै आएका समस्या र असमझदारी हल गर्न विशेष पहल गर्न सुझाव दिए। भट्टराईले नेपाल–भारतबीचको सम्बन्धको एक महत्वपूर्ण आयाम रहँदै आएको परम्परागत सुरक्षा अवधारणालाई समेत समयानुकूल विकसित र परिमार्जित गर्नु पर्ने आवश्यकता रहेको बताएका थिए ।

नेपाल–भारत सीमा विवाद अन्त्य गर्नका लागि दुईदेशबिचको सीमाना स्ट्रिप नक्सा तयार गरी लागू गर्नुपर्ने सुझाव नयाँ शक्तिले दिएको छ। नेपाल, भारत र चीनको त्रिदेशीय सीमाना रहेको लिपुलेकमा नेपालले पनि आफ्नो दाबी गर्न प्रधानमन्त्रीलाई सुझाएको छ। भट्टरार्इले अाफू प्रधानमन्त्री भएका बेला गरिएको विप्पा सम्झाैता कार्यान्वयनका लागि पनि सुझाव दिएका छन् । भट्टराईले बढ्दै गएको नेपाल–भारत व्यापार घाटालाई कम गर्दै दुई देशबीचको परनिर्भरतालाई अन्तरनिर्भरतामा बदल्न भारतले नेपालको निर्यातजन्य वस्तुमा लगाएको अतिरिक्त शुल्क, क्वारेन्टाइन बन्देज, नन् ट्यारिफ, प्यारा ट्यारिफ शुल्कहरु हटाउन तथा तुलनात्मक लाभका सेवा तथा उद्योगहरुको प्रवद्र्धन गर्न प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने ध्येयले गरिएको बिप्पा सम्झौता छिटो कार्यान्वयन गर्न माग गरेका छन् ।

baburam-with-prachanda

यसैबीच,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहिबारदेखि चार दिने भारत भ्रमणमा जान लागेको सन्दर्भमा मंगलबार सर्वदलीय बैठक बाेलाएर सुझाव लिएका छन् । बालुवाटारमा झन्डै २ घन्टा चलेको छलफलमा संसदमा भएका अधिकांश दलका प्रतिनिधिको उपस्थिति रहेकाे थियो । भारत भ्रमणबारे सुझाव संकलनका लागि विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गर्दै आएका प्रचण्डले मंगलबार सर्वदलीय बैठकको आह्वान गरेर सुझाव लिएका हुन् ।

एमाले नेता माधव नेपाल: 

– नेपालको प्रतिष्ठामा आँच नपुगोस् । जलविद्युत, विद्युत प्रशारण लाइन, व्यापार जस्ता कुराहरुमा देशलाई फाइदा हुने गरी काम छलफल गरियोस् । नेपालको भौगोलिक अखण्डता स्वाधिनतामा आँच नआओस्, नेपाली जनताको मन नदुखोस् भन्ने सुझाव पनि दिएँ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी: 

-बजारमा नेपाल र भारतको सम्बन्ध चिसो भएको हल्ला छ । हाम्रो कारण चिसो भएका छैन हामीले हाम्रो संविधान बनाएका छौं । यसकारण चिसो भएको हो । अझैै चिसो हुन्न अब तताएर आउन सुझाव दिएँ ।
– नयाँ योजनाहरुमा सम्झौता हुने गरेपनि कार्यान्वयन हुन्नन् । त्यस्ता कार्यान्वयन नहुने सम्झौता नगर्नूस् । पहिलाको सम्झौता कार्यान्वयन गर्नमा चाहिँ लागौं ।
– देशको सार्वभौमिकता र अखण्डातामा आँच आउने कुनै काम नहोस् ।
यस्तै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस्तो सुझाव दिएः
–भ्रमणबाट नेपाल र नेपालीलाई अधिकतम लाभ पुगोस् भ्रमण फलदायी बनोस् मधेसी मोर्चाको शुभकामना छ ।
–नेपाल र भारतबीचको विस्वसनीय सम्बध कायम गर्न योगदान पुगोस् ।
– तीन बुँदे सहमति भारत भ्रमणसँग जोडिएको सवाल नै होइन । तपाईले किन नगरेको भन्ने प्रश्न राखेँ ।
जवाफमा प्रधानमन्त्रीले मधेसी मोर्चाको मागबारे आफूले भोलि ११ बजे मोर्चासँग छलफल गर्ने बताएको उनले जानकारी दिए ।

सिपी मैनाली, महासचिव, नेकपा माले
–समग्रमा दलहरुले देशको सार्वभौमसक्ता, अखण्डतालाई केन्द्रबिन्दुमा राखेर विगतमा चिसिएको नेपाल भारत सम्बन्ध सुधार उन्नतस्तरमा माथि पु¥याउने भन्नेमा जोड दिए ।
भरत खड्का, संसदीय दलका सदस्य, नेपाली कांग्रेस
– भारतमा जाने पुष्पकमल दाहाल हैन, नेपालको सम्माननीय प्रधानमन्त्री जानुहुन्छ । उहाँ संस्थागत रुपमा जाने भएकोले हामीले विश्वास गर्नुपर्ने हुन्छ । सरकारमा भएका कारण कांग्रेसले विश्वास गरेको हैन, सरकारमा नहुँदा पनि हामीले प्रधानमन्त्री नेपालको संस्था भएकोले विश्वास गर्छौ ।
–भारतसँग हाम्रो शंका, उपशंका र केही कन्फ्युजनहरु छ, त्यसलाई हामीले यथार्थ ढंगले उठाउनु पनि पर्छ । नेपालका प्रति भारतको अपेक्षा के हो ? नेपालले भारतका प्रति कस्तो अपेक्षा राखेको छ ? भन्ने कुरा स्पष्टताका साथ आयो भने, हामीले दुई देशका विचमा कन्फिडेन्स बिल्डअप गर्न सक्छौँ ।
छलफलबाट बाहिरिएपछि प्रधानमन्त्रीले कुनै संचारकर्मीलाई प्रतिक्रिया दिएनन् तर दलहरुको सुझावपछि उनले सल्लाहलाई मनन् गर्ने बताएको छलफलमा सहभागी नेताहरुले बताए ।
संविधान संसोधनका बिषयमा बुधबार बैठक बस्ने
मधेश केन्द्रीत दल आवद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार दिउसोँ १ बजे छलफल गर्ने भएका छन् । संविधान संसोधन प्रक्रिया प्रधानमन्त्री भारत भ्रमण जानुअघि नै शूरु गर्नुपर्ने बताउदै आएको मोर्चासँग अहिलेसम्म भएको प्रगतिमा बारेमा छलफल हुने भएको संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले जानकारी दिए । सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी ओली भने सहभागि भएनन् ।

प्रकाशित मिति: Sep 13, 2016

प्रतिक्रिया दिनुहोस्