Logo
६ बैशाख २०८१, बिहीबार
(September 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जितेन्द्र देव लगायतलाई गच्छदारले कारबाही गर्दै !

Vijay Gachhdar

काठमाडौं, २८ भदौ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार पार्टी फुटाउन खोज्ने नेताहरूमाथि निष्काशनसम्मको कारबाही गर्ने योजनामा देखिएका छन् । ‘लहलहैमा लागेका सांसदहरूलाई सम्झाइबुझाइ गरिसकेको’ गच्छदारनिकट एक नेताको दाबी रहेको छ ।

पार्टी फुटको सम्भावनालाई समाप्त पारिसकेपछि अध्यक्ष गच्छदारले कारबाही गर्न लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार मुस्लिम समुदायको पर्व परेको र केही सांसद देशबाहिर रहेका कारण उनीहरूको अनुपस्थितिमा निर्णय गर्दा ‘उपयुक्त नहुने ठानेर’ गच्छदार रोकिएका हुन् ।

‘सांसदहरूलाई लिएर पार्टी फुटाउनेसम्मको योजना सार्वजनिक भएको छ । यसको अगुवाइ जितेन्द्रनारायण देवले गरेका हुन्,’ स्रोतले भन्यो, ‘निःसन्देह उनी कारबाहीमा पर्न सक्छन् ।’ पार्टी फुटाएर भए पनि सरकारमा जाने गरी एक समूह लबिङमा लागेको थियो । देवसहित डा. बाबुराम पोखरेल, सुमित्रा विश्वास, योगेन्द्र चौधरी, रमणी राम, डा. सुबोधराज पोखरेल, जनक चौधरी, पवनकुमार सारडालगायत नेता गोविन्द चौधरीलाई अध्यक्ष बनाएर भए पनि सरकारमा जाने ध्याउन्नमा लागेका थिए ।

उनीहरूले आफ्नो पक्षमा ५१ प्रतिशत सांसदको समर्थन रहेको दाबी गरेका थिए । संसदीय दल र कार्यसम्पादन समितिको संयुक्त बैठकले सरकारमा सहभागितालाई लिएर निर्णय गर्ने जिम्मेवारी अध्यक्षलाई दिएको थियो । त्यसअनुरूप गच्छदारले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेपछि केही सांसद त्यसविपरीत पार्टी फुटाएर भए पनि सरकारमा जाने खेलमा लागेको पाइएको स्रोतले जनाएको छ ।

संसदीय दलको बैठक यही भदौ ३० गते बस्न सक्ने र त्यसपछि कार्यसम्पादन समितिको बैठक बस्ने महासचिव भारतेन्दु मल्लिकले जानकारी दिए । ‘पार्टीको हितविपरीत काम गर्ने जोसुकैलाई कारबाही गरिनेछ,’ महासचिव मल्लिकले भने, ‘भदौ ३० गतेसम्म सबै सांसद राजधानीमा उपस्थित हुन सके सोही दिन नभए त्यसलगत्तै संसदीय दलको बैठक बस्नेछ ।’ कारोबार दैनिकमा धर्मेन्द्र कर्णले खबर लेखेका छन् ।

प्रकाशित मिति: Sep 13, 2016

प्रतिक्रिया दिनुहोस्