Logo
८ बैशाख २०८१, शनिबार
(September 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख रुलिङ:  ‘हाजिर गरेपछि बाहिर नजानुस्’  

onsari-gharti-magar
काठमाडौं, २६भदौ । सभामुख ओन्सरी घर्तीमगरले सांसदहरुलाई हाजिरी गरेर बाहिर बेपत्ता नहुने र बैठकमा सहभागी हुन रुलिङ गरेकी छिन् । शुक्रबार संसद्मा हाजिरी गरेका २४० जना सांसदहरु एनजिओको गोष्ठीमा भाग लिन रिसोर्टमा गएपछि संसद्को बैठक स्थगित भएको थियो । यसबारेमा सबतिरबाट आलोचना र खबरदारी भएपछि आइतबार संसद्मा सांसदहरुको उपस्थिति केही बाक्लो देखिएको छ।

शुक्रबार कोरम नपुगेर स्थगित भएपछि आइतबार बसेको संसद्को बैठकको सुरुमै सभामुखले यस्तो रुलिङ गरेकी हुन् । संविधान कार्यान्वयनका लागि संसद्ले महत्वपूर्ण कामहरु गर्नुपर्ने अवस्थामा सांसदहरुको संसद्मा उपस्थिति अनिवार्य रहेको बताउँदै बाहिरी गतिविधिलाई संसद्को विजनेसलाई प्राथमिकता दिन पनि सभामुखले रुलिङ गरेकी छिन् ।

शुक्रबारको बैठकमा उच्च अदालत गठनलगायतका विधेयकसहितको महत्वपूर्ण कार्यसूची भए पनि नियमावलीअनुसार आवश्यक पर्ने न्यूनतम संख्या नपुगेपछि सभामुखले दिउँसो एक बजे बैठक अचानक स्थगित गर्नुपरेको थियो । गणपूरक संख्याका लागि १४९ जना सांसद्को उपस्थिति आवश्यक पर्नेमा शुक्रबार संसद्ंमा जम्मा १२६ जना सांसदहरु थिए । तर संसद्को हाजिरी खातामा भने ३६६ जना सांसद्ले दस्तखत गरेका थिए । ५ सय ९५ संख्या रहेको संसद्मा बैठकले कुनै निर्णय लिन वा प्रस्ताव पास गर्नका लागि १४९ सांसद आवश्यक पर्दछ ।

पछिल्लो दिनमा संसद्‌मा सांसदहरुको उपस्थिति पातलो हुँदै गएपछि सभामुखले पटकपटक दलका सचेतकमार्फत चासो राख्दै आएकी छिन् भने स‌ंसद्‌मा पनि ध्यानाकर्षण गराउँदै आएकी छिन् । संसद्को बैठकभन्दा विदेश भ्रमण, जिल्ला भ्रमण र एनजिओको गोष्ठीतिर सांसदहरुको बढी रुचि र प्राथमिकता देखिएको छ।

प्रकाशित मिति: Sep 11, 2016

प्रतिक्रिया दिनुहोस्