Logo
८ बैशाख २०८१, शनिबार
(September 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वीकार गर्दे प्रधानमन्त्री दाहालले भने ‘हो जोखिम मोलेर भारत जाँदै छु’

pm-prachanda

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोखिम मोलेर आफूले भारत भ्रमण गर्न लागेको बताएका छन् । शनिबार नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसन्सले राजधानीमा गरेको ‘नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमण’विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले नेपाल–भारतसम्बन्ध बहुआयामिक र गम्भीर भएको समेत बताए । ‘नेपाल–भारत सम्बन्ध धेरै बहुआयमिक र गम्भीर छ । यस बीचमा मैले धेरै विज्ञ र कुटनीतिज्ञको कुरा सुनेको छु,’ उनले भने, ‘मेरो भ्रमण राष्ट्रियहित र दुई देशीय पारस्पारिक सम्बन्ध सुदृढ गर्न केन्द्रित हुनेछ ।’

घुमाउरो भाषामा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण जोखिम मोलेर गर्न लागेको बताए । ‘लिडरको काम ‘लिड’ गर्ने हो, लिडरलाई रिस्क लिने छुट हुनुपर्छ, नत्र लिडरको विकास हुनै सक्दैन’, उनले भने, ‘त्यसका लागि मलाई तपाईहरुको बलियो साथ चाहिन्छ ।’  प्रधानमन्त्रीले आफूले जनताको भावना र राष्ट्रिय हित विपरित कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै भने, ‘मैले विभिन्न समुदाय र जनताका प्रतिक्रिया सुनेको छु, राष्ट्रिय आवश्यकता र चाहना बुझेको छु ।

मेरो भ्रमण त्रीदेशीय रणनीतिक साझेदारी, पारस्पारिक सम्बन्धको सुदृढीकरण र आर्थिक समृद्धिको विषयमा केन्द्रित हुनेछ । राष्ट्रिय हित विरुद्ध कुनै सम्झौता गरिने छैन ।’ प्रधानमन्त्रीले देशको राष्ट्रिय नीतिले विदेश नीति निर्धारित गर्नेमा जोड दिँदै भने, ‘कुनै पनि देशको विदेश नीति राष्ट्रिय नीतिकै विकसित रुप हो । देशभित्रको भावनात्मक र आन्तरिक एकता बलियो बनाएर मात्र बाह्य कुटनीतिमा प्रभाव विस्तार गर्न सकिन्छ ।’

कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला, परराष्ट्रविद् भेषबहादुर थापा, सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायतका वक्ताले नेपाल–भारत सम्बन्धका विविध आयाम र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे मन्तव्य व्यक्त गरे ।

प्रधानमन्त्रीले राष्ट्रवादको नारा लगाउँदा लगाउँदै बिखण्डनको खतरा बढाउने प्रवृत्ति रहेको समेत उल्लेख गरे । ‘राष्ट्रियता बलियो हुन देशभित्रका शक्ति र समुदायबीच बलियो एकता कायम गर्नुपर्छ । हामीकहाँ राष्ट्रवादको नारा लगाउँदा लगाउँदै बिखण्डनको खतरा बढाउने प्रवृत्ति छ’, उनले भने, ‘देशभित्रका समुदायलाई अपमानित गरेर, तराई र पहाडलाई अलग–थलग गरेर राष्ट्रवाद बलियो हुँदैन ।’

प्रकाशित मिति: Sep 10, 2016

प्रतिक्रिया दिनुहोस्