Logo
११ बैशाख २०८१, मंगलबार
(September 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी कार्यविधि खारेज

school

इलाम । जिल्ला शिक्षा समितिले २०६८ चैत ९ देखि जिल्लामा लागू गरेको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी कार्यविधि खारेज गरेको छ । स्रोतव्यक्तिले विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयसम्म जाँदा कार्यविधि दुरुपयोग गर्दै शुल्क लिइरहेकोबारे बुधबारको नागरिकमा समाचार प्रकाशित भएको थियो ।

कार्यविधिको दुरुपयोग गर्दै केही स्रोतव्यक्तिले विद्यालयबाट ‘यातायात, खाना र आवास खर्च’का नाममा अनुचित रकम लिएको गुनासो आएपछि ‘कार्यविधि कार्यान्वयन नगर्ने निर्णय’ गरिएको समितिले जनाएको छ । यसबारे सञ्चारमाध्यममा समाचार आउने थाहा पाएपछि तत्काल शिक्षा समितिको बैठक राखेर मंगलबार नै कार्यविधि कार्यान्वयन नगर्ने निर्णय गरिएको थियो ।

समितिका एक सदस्यले भने, ‘कार्यविधिको दुरुपयोग भएको गुनासो निकै आयो, यसै विषयमा भोलिपल्ट मिडियामा समाचारसमेत आउँदैछ भनेर अघिल्लै दिन बैठक बोलाइएको रहेछ,’ उनले भने, ‘बैठकमा पनि यसबारे पत्रकारले रिपोर्टिङ गरिरहेको भन्ने कुरा निस्किएको थियो ।’

शिक्षा ऐन र नियमावलीअनुसार २०६८ साल चैत ९ मा पारित भएको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी कार्यविधि–२०६८ कार्यान्वयन नगर्ने समितिको बैठकको निर्णय–३ मा भनिएको छ, ‘शिक्षा ऐन र नियमावलीअनुसार २०६८ साल चैत ९ मा पारित भएको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी कार्यविधि–२०६८ कार्यान्वयन नगर्ने ।’

कार्यविधि अब खारेज नै भएको तर शिक्षा समिति आफैंले बनाएको कार्यविधि भएकाले आफैं ‘खारेज’ शब्द चाहिँ प्रयोग नगरौं भन्ने मनसायले मात्रै ‘कार्यान्वयन नगर्ने’ शब्द राख्नुपरेको शिक्षाका एक अधिकृतले बताए । उनले निर्णयबारे सम्बन्धित व्यक्ति र विद्यालयहरूलाई पत्र पठाउने तयारी गरिरहेको पनि जनाए ।

प्रकाशित मिति: Sep 9, 2016

प्रतिक्रिया दिनुहोस्