Logo
१३ बैशाख २०८१, बिहीबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री दाहालले भने ‘चुनाव भएन भने फेरि दुर्घटना हुन्छ’

फाइल तस्विर
फाइल तस्विर

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समयमै चुनाव भएन भने फेरि मुलुकमा राजनीतिक दुर्घटना हुनसक्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘०७४ माघ ७ भित्र सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले प्रशासनिक पुनःसंरचनाको काम चाँडै गर्नुपर्छ।संविधान कार्यान्वयन गराउन तीन तहको निर्वाचन गर्नुपर्दछ होइन भने देशमा राजनीतिक दुर्घटना हुने खतरा हुन्छ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार उच्चस्तरीय सङ्घीयता कार्यन्वयन तथा प्रशासन पुनःसंरचना निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक दुर्घटनाको खतरा रहेको चिन्ता व्यक्त गरेका हुन् । उनले राष्ट्रलाई दुर्घटनाबाट जोगाउन समयमा सङ्घीयता कार्यान्वयन गर्नु जरुरी रहेको पनि बताए ।

प्रचण्डले प्रशासनिक संयन्त्र सयाँै वर्षदेखिको संस्कारमा चलेकाले नयाँ संरचनामा जाने कुरा जटिल र चुनौतीपूर्ण भएको बताए । प्रधानमन्त्री दाहालले संविधानले निर्दिष्ट गरेका उद्देश्यलाई पूरा गराउन कठोर भई काम गर्न सचिवहरुलाई निर्देशनसमेत दिएका छन् । ‘‘संविधान कार्यान्वयन गराउने कुरा सजिलो काम होइन । चुनौतीपूर्ण रहेको छ’’उनले भने–‘‘निर्मम नभई संविधानको भावना र मर्मलाई कार्यान्वयन गराउन सकिंदैन । त्यसैले कठोर भएर काम गर्नुहोस् ।’’

प्रधानमन्त्री दाहालले सङ्घीयताको ढाँचा सरकार र कर्मचारीको लागि ठूलो चुनौती भएको बताउँदै रातदिन खटेर ढाँचा तयार पार्नुपर्नेमा जोड दिए ।  बैठकमा मुख्यसचिव डा सोमलाल सुवेदीले प्रशासन पुनःसंरचनाको कामलाई मन्त्रालयहरुले सोचेअनुसार अगाडि बढाउन नसकेको बताएका थिए ।

प्रधानमन्त्री दाहालले देश सङ्घीयतामा जाँदा मौलिक पुनःसंरचनाभन्दा प्रशासनिक पुनःसंरचना आफूले जटिल देखेको बताउँदै भने, ‘सङ्घीयतामा जाँदा सबै कुरा मिल्छ, तर मानिस यताउता पार्ने काम अलि जटिल देखेको छु । सेना, पुलिस निजामती को कुन सङ्घ, प्रदेश वा स्थानीय निकायमा जाने, कसको अधिकार कति हुने भन्ने कुरा अलि जटिल छ ।’

प्रकाशित मिति: Sep 6, 2016

प्रतिक्रिया दिनुहोस्