Logo
१५ चैत्र २०८०, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निधि भन्दछन्-‘मोदीलाई दिएको पत्र सार्वजनिकको माग गर्नु एमालेको बचपना’

Bimlendra Nidhi

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाइएको पत्र सार्वजनिक गर्न माग गरेर प्रमुख प्रतिपक्षी नेकपा एमालेमाथि कूटनीतिक अज्ञानता प्रदर्शन गरेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा निधिले आफू उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा नभइ प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत गएकाले त्यसैको प्रमाणस्वरुप भारतीय प्रधानमन्त्री मोदीलाई पत्र बुझाएको बताए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले कूटनीतिमा दुई देशबीच आदान प्रदान हुने पत्र सार्वजनिक गर्ने चलन नहुने भन्दै भारतीय प्रधानमन्त्री मोदीलाई आफूले बुझाएको पत्र सार्वजनिक गर्न माग गरेर एमालेले कूटनीतिक अक्षमता प्रदर्शन गरेको बताए । उनले मोदीलाई बुझाइएको पत्रमा संविधान संशोधनबारे केही उल्लेख नभएको भन्दै पटक–पटक सरकार संचालन गरेको एमालेले पत्रलाई स्थायी समितिको बैठकको एजेण्डा बनाएर कच्चा काम गरेको बताए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री निधी प्रधानमन्त्रीको विशेष दूतका रुपमा भदौको सुरुमा भारत जानुभएको थियो । एमालेले स्थायी समितिको बैठकबाट निर्णय गरी निधिले भारतीय प्रधानमन्त्री मोदीलाई बुझाएको पत्र सार्वजनिक गर्न माग गरेको थियो । पत्रकै विषयलाई लिएर दुई दिन पहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा काँग्रेस र एमालेका नेताबीच चर्काचर्की समेत भएको थियो ।

प्रकाशित मिति: Sep 1, 2016

प्रतिक्रिया दिनुहोस्