Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत भ्रमण टोलीमा बढीमा २३ जनासम्म संलग्न हुनसक्ने !

फाइल तस्विर
फाइल तस्विर

काठमाडाै‌ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न भारत भ्रमणको टोली सानो बनाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् । भारत भ्रमण टोलीमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा. महत, सचिव बैरागी, मुख्य सचिव सोमलाल सुवेदी, शिष्टाचार महापाल दीपक अधिकारी, परराष्ट्रमा भारत महाशाखा हेर्ने सहसचिव भृगु ढुंगाना, प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहाल, राजनीतिक सल्लाहकार चक्रपाणि खनाललगायत रहने बताइएको छ ।

प्रधानमन्त्रीले परराष्ट्रमन्त्री प्रकाशशरण महत र सचिव शंकरदास बैरागीलाई भ्रमण टोली सानो बनाउन गृहकार्य गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहाल यही भदौ ३० देखि चार दिने भारत भ्रमणमा जाँदैछन् ।  टोलीमा दुई सुरक्षाकर्मी तथा केही सञ्चारकर्मी पनि रहनेछन् । भ्रमण दलमा केही अन्य मन्त्री, नयाँदिल्लीस्थित दूतावासका अधिकारीहरू पनि रहनेछन् । परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले भारत भ्रमण टोली र एजेन्डाबारे गृहकार्य गरिरहेका छन् ।

भ्रमण दल कति सदस्यीय हुने भन्ने अझै निधो भइनसकेको परराष्ट्र अधिकारीले बताए । भ्रमण टोलीको अनुमोदन मन्त्रिपरिषद्बाट हुन बाँकी छ । प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमण टोलीमा बढीमा २३ जनासम्म संलग्न हुनसक्ने सरकारको भ्रमण निर्देशिकामा उल्लेख छ । यद्यपि निर्देशिका मिचेर अधिकांश भ्रमणमा जम्बो टोली सहभागी हुँदै आएको पाइन्छ । दाहालले प्रधानमन्त्री बनेपछि पहिलो विदेश यात्राअन्र्तगत भारत भ्रमणमा जान लागेका हुन् ।

गत वर्ष नेपालमा संविधान जारी भएलगत्तै भारतले गरेको पाँचमहिने नाकाबन्दीपछि बिग्रेको द्विपक्षीय सम्बन्ध सुधारबारे भारतीय नेतृत्वसँग दाहालको छलफल हुनेछ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भदौ ३१ गते र सोही दिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेट्ने भएका छन् । प्रधानमन्त्री दाहाललाई विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायत प्रतिपक्षी दल कांग्रेस आईका नेताले समेत भेट्नेछन् ।

भूकम्पपीडितहरूलाई नेपाल सरकारले उपलब्ध गराउने राहतमा भारतीय सहयोग र केही साना विकास परियोजनामा भारतको प्रतिबद्धता आउने सम्भावना रहेको अधिकारीहरूले बताए । ‘दाहालको भ्रमणमा खासै नयाँ एजेन्डा छैनन् । ओली सरकारको बहिर्गमनपछि आफूसँगको सम्बन्ध सामान्यीकरण भएको सन्देश दिन भारत उद्यत देखिन्छ ।

प्रकाशित मिति: Aug 31, 2016

प्रतिक्रिया दिनुहोस्