Logo
१५ चैत्र २०८०, बिहीबार
(August 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेसिन बिग्रिएको भन्दै कोशी अस्पताल दलालको कब्जामा !

Koshi-Zonal-Hospital-Biratn

बिराटनगर । कोसीअञ्चल अस्पताल विराटनगरको रगत परीक्षण गर्ने ‘सिबिसि’ मेसिन बिग्रिएपछि सेवाग्राहीलाई समस्या भएको छ । मेसिन बिग्रेको एक महिनाभन्दा बढी भइसक्दा पनि अस्पतालले त्यसको मर्मतगरी प्रयोगमा ल्याउन चासो नदिँदा सेवाग्राही अस्पताल हाता बाहिर रहेका निजी ल्याबमा महँगोमा रगत परीक्षण गराउन बाध्य छन् । सिबिसि मेसिनबाट हेमोग्लोबिन, प्लेटलेट, डब्ल्युबिसि, आरबिसिलगायत अनेकौ जाँच गरिन्छ ।

अस्पतालका दन्तरोग विशेषज्ञ डा सुधीर श्रेष्ठका अनुसार अस्पतालमा ल्याब परीक्षण गर्नेमध्ये ९० प्रतिशत परीक्षण सिबिसि मेसिनमै आधारित हुन्छ । त्यसको अभावमा उपचार गर्न समस्या हुन्छ । अस्पतालका वरिष्ठ मेडिकल प्राविधिक मुनरलाल यादवले स्वास्थ्य परीक्षणका लागि अत्यन्त महत्वपूर्ण मानिएको उक्त मेसिन विग्रिएको लामो समय भइसक्दा पनि अस्पताल प्रशासनले बनाउन ध्यान नदिएकोमा आक्रोश पोखे ।

उनले भने, “अस्पताल प्रशासनलाई म एक महिनादेखि ध्यानाकर्षण गराइरहेकोे छु तर यस वारे प्रभावकारी कदम चाल्न सकेको छैन् । मेसिन बनाउने प्राविधिक बोलाए पनि लेखा शाखाले मर्मत खर्चको जिम्मा लिन्न भनेर फर्काइदिएपछि महिना दिनदेखि मेसिन थन्किएको छ ।” नियमित मर्मत गर्ने प्राविधिकले विगतमा काम गरेको रु. ५० हजार भूक्तानी पाएपछि मात्र अर्को काम गर्ने भनेपछि मेसिन मर्मतको काम रोकिएको हो ।

अस्पतालमा रगत परीक्षण हुन छोडेपछि अस्पतालभित्र दलालको प्रवेश तीव्र बनेको छ । बाहिर ल्याब सञ्चालन गरेर बस्ने स्वास्थ्यकर्मीले दर्जनौंँ प्रतिनिधि अस्पतालभित्र पठाएका छन् । उनीहरुको हातमा इन्जेक्सनको प्याकेट हुन्छ, बिरामीको बेडमै पुगेर उनीहरु आफ्नो ल्याबमा परीक्षण गराउनका लागि मोलमोलाई गरिरहेका भेटिन्छन् । बिमारी लिएर अस्पताल आउनुभएका अशोक मण्डलले भन्छन, ‘अहिले अस्पतालमा हाटबजारमा बाख्रा किनबेच गर्ने जस्तै दलाल मात्र भेटिन्छन् । मेरो ल्याबमा जाँच गराउँ सस्तोमा गराइदिन्छु भन्ने जताततै छन् ।

सिबिसि मेसिन सञ्चालनमा रहँदा रगत परीक्षणबाट दैनिक रु. ८० देखि ९० हजार आर्जन गर्दै आएको कोसी अञ्चल अस्पताललाई एक महिनाको अवधिमा झन्डै रु २० लाख नोक्सानी भइसकेको अस्पताल स्रोतले जनाएको छ । अस्पताल प्रशासनका अधिकृत नवराज लुइँटेलले मेसिन बिग्रिएको जानकारी आएपछि मर्मतकालागि पहल भएको र दुई दिनभित्रमा मेसिन मर्मत हुने जानकारी दिए । कोसीअञ्चल अस्पतालमा दैनिक एक हजार ५०० बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । रासस

प्रकाशित मिति: Aug 28, 2016

प्रतिक्रिया दिनुहोस्