Logo
१५ चैत्र २०८०, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसमा भागबन्डा मिल्यो: सरकारमा सहभागी हुने ११ को नाम लिष्ट तयार !

NC-News 1

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको तर्फबाट सहभागी हुने ११ जनाको नाम टुंगो लगाएको छ । नेविसंघको ११ औं महाधिवेशन झण्डै दुई साता लम्बिएपछि कांग्रेसले सरकारमा मन्त्रीको नाम पठाउन ढिलाई गरेको थियो ।

हाल मन्त्रीमा नपरेकालाई देउवाले पार्टीको महत्वपूर्ण जिम्मेवारी दिने बताएका छन् । सभापति शेरबहादुर  देउवा भदौ ९ गते बिहीबार देशबाहिर जानुअघि बुधबार प्रचण्ड नेतृत्वको सरकार बिस्तार हुने निश्चित भएको हो। सभापति देउवाले सरकारमा जानेहरुको नाम दिन नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्कासँग सल्लाह गरिसकेका छन् । तीनै नेताले देउवालाई नाम पठाइसकेका छन् ।

सभापति देउवाले सरकारमा आफ्नो गुटबाट ६ जना पठाउन लागेका छन्। ति मध्ये दुई जना उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा विमलेन्द्र निधी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रमेश लेखकलाई पठाइसकेका छन्। देउवाले अब चार मन्त्रीमा अर्जुननरसिंह केसी, केशवकुमार बुढाथोकी र जीवनबहादुर शाहीलाई पठाउने लगभग निश्चित भएको छ ।

बाँकी एक जनामा ज्ञानेन्द्रवहादुर कार्की, बालकृष्ण खाँड र डा. प्रकाशशरण महतमध्येबाट छान्ने छन् । पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्कालाई महामन्त्रीमा मनोनित गरेमा कार्कीलाई सहमहामन्त्री मनोनित गर्ने वा खड्कालाई नल्याए कार्कीलाई नै महामन्त्री बनाउने योजनामा देउवा छन् । कार्की महामन्त्री र खाँड सहमहामन्त्रीमा मनोनित भए डा. महत मात्र सरकारमा जाने छन् ।

खाँड प्रचण्ड नेतृत्वको सरकारमा गएमा डा. महतलाई पार्टी प्रवक्ता र संसदीय दलको प्रमुख सचेतकमध्ये एउटा जिम्मेवारी दिने तयारी भएको बुढानिलकण्ठ स्रोतले बतायो । नेता पौडेलले आफ्नो समूहलाई ६ वटा मन्त्रालय दिनु पर्ने माग गरेपनि सभापति देउवाले चार वटा मन्त्रालय मात्र दिने भएका छन् ।

स्रोतका अनुसार पौडेलले आफ्नो समूहको तर्फबाट कोषाध्यक्ष सीतादेवी यादव, डा. शेखर कोइराला, नवीन्द्रराज जोशी र दीपक गिरीलाई पठाउने भएका छन् । यता नेता कृष्णप्रसाद सिटौलाले भने मन्त्रीमा गगन थापा र सुधीरकुमार शिवाकोटीलाई पठाउने निश्चित भएको छ। नेता खड्काले भने केन्द्रीय सदस्य एवं सांसद मोहनबहादुर बस्नेतलाई पठाउने भएका छन् ।

राज्यमन्त्रीमा भने देउवाले चारजना, पौडेलले तीन जना र सिटौलाले एकजनालाई पठाउने गोप्य सहमति भएको छ। जस अनुसार देउवाले राज्यमन्त्रीमा मीन विश्वकर्मा र भिष्मराज आङदम्वेलाई प्राथमिकतामा राखेका छन् । उनीहरु राज्यमन्त्रीमा जान तयार नभए जीवनबहादुर शाही,वीरबहादुर बलायर, अव्दुल रज्जाक र सीताराम मेहता राज्यमन्त्री बन्ने निश्चित भएको छ ।

पौडेलको सिफारिसमा सभापति देउवाले राज्यमन्त्रीमा किरण यादव, राजन केसी, कञ्चन वादे श्रेष्ठलाई सिफारिस गर्ने भएका छन्। सिटौलाले भने तारामान गुरुङलाई पठाइसकेको स्रोतको दावी छ । मन्त्रीमा जान केन्द्रीय सदस्य एवं सांसद अम्विका बस्नेत, कमला पन्त, फर्मुल्लाह मन्सुर, भरतकुमार शाहले आकांक्षा देखाएका छन् ।

प्रकाशित मिति: Aug 23, 2016

प्रतिक्रिया दिनुहोस्