Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सल्लाह नै नगरी संशोधनको विषयमा मोदीलाई जानकारी गराइएको प्रति मोर्चा असन्तुष्ट !

Madheshi Morcha

काठमाडौं, ६ भाद्र । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन गरेर प्रदेशको सीमांकन हेरफेरका लागि छलफल अगाडि नबढाइएको भन्दै असन्तुष्टि जनाएको छ । मोर्चाले खासगरी आफूसँग सल्लाह नै नगरी संविधान संशोधनको विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी गराइएकोप्रति असन्तुष्टि जनाएको हो ।

मोर्चाको सचिवालयको सोमबार तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकले संविधान संशोधन मुलुकको आन्तरिक विषय भएको र यस विषयमा मुलुकभित्रका शक्तिबीच छलफल आवश्यक पर्नेमा सरकारले छिमेकी मुलुकलाई प्राथमिकता दिनु चित्तबुझ्दो नभएको ठहर गरेको छ ।

मोर्चाले सरकार गठन भएको तीन साता भइसक्दा पनि संविधान संशोधनको विषयमा आफूसँग छलफल नगरिएको भन्दै असन्तुष्टि जनाएको हो । बैठकले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सचिवालय समितिको बैठकले कांग्रेस–माओवादीसँग मोर्चा/संघीय गठबन्धनको भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीसँग आग्रह गर्ने निर्णय समेत गरेको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले संविधान संशोधनको विषयमा छलफल अगाडि नबढाइएको बारेमा आधिकारिक धारणा तय गर्न दुई/तीन दिनभित्रै मोर्चाका शिर्ष नेताको बैठक बस्ने जानकारी दिए ।

बिजुलीबजारस्थित तमलोपाको केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा उच्चस्तरीय छानबिन आयोगलाई पूर्णता दिने, शहीद घोषणामा छुट भएकाहरुलाई पूर्णता दिने, घाइतेहरुको पूर्ण विवरण संकलन गर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने विषयमा छलफल भएको मोर्चाका नेता तथा रामसपाका महासचिव केशव झाले बताएका छन् ।

मन्त्रिपरिषद्बाट हुने कार्यहरु तत्काल गर्नका लागि मोर्चाले प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णयसमेत भएको झाले बताए । यसैगरी, बैठकमा मोर्चाका नेताहरुले स्थानीय निकायको चुनाव गर्न हतार गर्न नहुने कुरा उठाएका थिए । स्थानीय निर्वाचनको सन्दर्भमा अहिले कुनै निर्णय नगर्न सचिवालयले निष्कर्ष निकालेको झाले बताएका छन् ।

उनले सीमांकनको टुंगो नलागेसम्म कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुन नसक्ने दाबी गरेका छन् । ‘सबभन्दा पहिला सीमांकन टुंगो लगाुनपर्छ’ झाले भने, ‘सीमांकन टुंगो लागेपछि मात्र स्थानीय निकायको चुनावको सम्भावना रहेको छ ।’ मोर्चाका शीर्षस्थ नेताहरुको बैठक तमलोपाको केन्द्रीय कार्यालयमा बुधबार बस्ने महासचिव झाले जानकारी दिएका छन्

प्रकाशित मिति: Aug 22, 2016

प्रतिक्रिया दिनुहोस्