Logo
६ बैशाख २०८१, बिहीबार
(August 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 सिकारीको गोली लागि घाइते  गैंडा चितवन ल्याइयो

Gaida News

भरतपुर ।  सिकारीको गोली लागि घाइते एकसिंगे गैंडालाई उद्धार गरि आइतबार सौराहास्थित जनकौली सामुदायिक वनमा ल्याइएको छ । गैंडाको टाउकोमा ४, घाँटीमा १ र शरिरको पछाडी भागमा १ गरी ६ वटा गोली लागेको छ ।

रौतहटको चन्द्रनपुर नगरपालिका-२ स्थित गैंडाटारमा रहेको तिलेश्वर सामुदायिक वनमा सिकारीले भरुवा बन्दुकबाट गोली प्रहार गरी घाइते बनाएको गैंडालाई निकुञ्जका सहायक संरक्षण अधिकृत चन्द्रशेखर चौधरी, पशु स्वास्थ्यकर्मी पुरुषोत्तम पाण्डे, प्रकृति संरक्षण कोषका सूचना अधिकारी रामकुमार अर्याल र सेनाको टोलीले उद्धार गरेर रौतहटबाट चितवन ल्याएको हो ।

गोलीले गैंडाको स्वास्थ्य अवस्था नाजुक छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा घाइते गैंडाको उपचार सुरु गरिएको छ ।  टोलीले शनिबार राती १० बजे गैंडालाई डाट गरि ट्रकमा राखेर बिहान ३ बजे निकुञ्ज ल्याइपुर्‍याएको थियो । उक्त गैंडाको सामुदायिक वनमा उपचार सुरु गरिएको छ ।  चिकित्सकले घटनास्थलमै एन्टीबायोटिक र स्लाइन दिएको छ । सिकारीले प्रहार गरेको गोली लागि १५ वर्षीया गैंडाको ९ देखि १२ इन्चसम्म गहिरो घाउ भएको छ ।

‘टाउकोको गोली निकाल्न सक्ने अवस्था छैन,’ सौरहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका सूचना अधिकारी रामकुमार अर्यालले भने, ‘यस्तो हालतमा गोली निकाल्न सम्भव र्छैन् ।’ गैंडाको पछिल्लो भागमा समेत चोट देखिएको छ । गोली लागेर छटपटिएको गैंडाको जंगलमा च्याउ टिप्न जाँदा नजिकैको झाडीबाट अवाज आएपछि सर्वसाधरणले देखेर प्रहरी र वन कर्मचारीलाई खबर गरेका थिए । ट्रकबाट बाहिर निस्कन नसकेपछि चिकित्सकले भित्रै स्लाइन दिएको थियो ।

प्रकाशित मिति: Aug 21, 2016

प्रतिक्रिया दिनुहोस्