Logo
१३ बैशाख २०८१, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसबाट सरकारमा थप मन्त्री पठाउने तयारी, विभिन्न पक्षसँग छलफल सुरु

NC-News 1

काठमाडौं । आगामी बुधबारभित्र नेपाली कांग्रेसले सरकारमा थप मन्त्री पठाउने तयारी सुरु गरेको छ । पार्टीको १३ औं महाधिवेशन, संसदीय दलको निर्वाचनका साथै नेपाल विद्यार्थी संघको महाधिवेशनमा पार्टीका विभिन्न तहका नेतालाई दिएको आश्वासनका आधारमा देउवाले सरकारमा पठाउने नेताको सूची तयार पारेको स्रोतको दाबी छ।

पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन सकिसँगै सभापति शेरबहादुर देउवाले सरकारमा पठाउने नेताको सूचीलाई अन्तिम स्वरुप दिन विभिन्न पक्षसँग छलफल थालेका छन् ।  देउवाले आफ्ना विश्वासपात्र एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको छलफलपछि मात्र अन्तिम रूप दिने भएका छन् । प्रधानमन्त्रीका विशेष दूतका रूपमा भारत भ्रमणमा रहेका निधि सोमबार मात्र स्वदेश फर्कने छन् ।

सरकारमा सहभागी गराउने नेताका विषयमा सभापति देउवाले नेता रामचन्द्र पौडेलसँग नाम मागेको स्रोतको दाबी छ । पार्टीले पाउने १३ मन्त्रालयमध्ये ६ वटा दाबी गर्दै आएको पौडेल पक्षसँग सभापतिले तीन नेताको मात्र नाम मागेको स्रोतको दाबी छ । तर, नेता पौडेलले सरकारमा को–को पठाउने भन्ने विषयमा कुनै छलफल नभएको दाबी गरेका छन् । नेपाल प्रेस युनियन चितवनले शनिबार आयोजना गरेको कार्यक्रममा पौडेलले मन्त्रीका विषयमा पार्टीभित्र छलफल नै नभएको बताए ।

सभापति देउवाले बालकृष्ण खाँण, प्रकाशशरण महत, अर्जुननरसिंह केसीसहितका नेता सरकारमा पठाउने तयारी गरेका छन् । गृह नपाएपछि सहभागी नभएका केसी सरकार विस्तार हुँदा शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारीमा छन् ।  त्यस्तै, जीवनबहादुर शाही, मीन विक, भीष्मराज आङ्दम्बे, शंकर भण्डारी, अम्बिका बस्नेतसहितका नेता मन्त्रीको लाइनमा छन्। बस्नेतलाई मन्त्री बनाउन देउवानिकट नेतृले लबिङ गरिरहेका छन् भने अन्य दुई दर्जन बढी नेता सक्रिय छन्।

शेखर कोइराला परराष्ट्रमन्त्री पाए सरकारमा सहभागी हुने जनाउँदै आएका छन् । उनले कुनै गुट/उपगुट वा भागबन्डाको आधारमा सरकारमा नजाने स्पष्ट पारेका छन् । पौडेल पक्षबाट सरकारमा सहभागी हुन कोषाध्यक्ष सीतादेवी यादव, दीपक गिरी, नवीन्द्रराज जोशी, राजेन्द्रकुमार केसी, रामकृष्ण यादव, किरण यादव, आनन्दप्रसाद ढुंगाना, बलबहादुर केसी, जीवन परियारसहित दुई दर्जन बढी नेता लागिपरेका छन् ।

देउवाले सरकारमा पठाउने नेताका विषयमा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरिसकेको स्रोतको दाबी छ । पार्टी १३ औं महाधिवेशनमा सभापतिमा पराजित भएदेखि दोस्रो चरणको चुनाव हुँदै नेविसघंको महाधिवेशनसम्म देउवालाई साथ दिँदै आएका सिटौलाले भीमसेनदास प्रधान/गगनकुमार थापामध्येबाट मन्त्री बनाउन आग्रह गरेका छन् । सिटौला पक्षबाट मन्त्रीको लाइनमा तारामान गुरुङदेखि राजु खनालसम्म आधा दर्जन आकांक्षी छन् ।

प्रकाशित मिति: Aug 21, 2016

प्रतिक्रिया दिनुहोस्