Logo
७ बैशाख २०८१, शुक्रबार
(August 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको नेतृत्व गरेसँगै माओवादी केन्द्र अलमलमा

maoist-kendriya-karyala-meeting-

काठमाडौं ६ जेठ । १० वटा कम्युनिस्ट समूहसँग एकीकरण गरेपछि जतिसक्दो चाँडो महाधिवेशन गर्ने योजनामा रहेको नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व गरेसँगै अलमलमा पर्न थालेको छ । खासगरी पार्टी र सरकारको कामलाई समायोजन र सन्तुलन गरी अघि बढाउने सवालमा माओवादी नेतृत्व अलमलिएको हो ।

माओवादीका एक हेडक्वार्टर सदस्यका अनुसार १० वटा कम्युनिस्ट घटकको एकीकरणपछि अधिकांश नेता–कार्यकतालाई व्यवस्थापन गर्न नसकिरहेकै अवस्थामा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पार्टीको आन्तरिक काममा समस्या पर्दै आएको छ। ‘एकीकरणपछिको विवाद मिलाउन नसकेर २१ सयभन्दा बढीको केन्द्रीय कमिटी घोषणा गर्दा पार्टीभित्रै व्यंग्य भइरहेको छ,’ ती नेताले भने, ‘आन्तरिक समस्याको व्यवस्थापन नहुँदै सरकारमा गएपछि सिंगो पार्टी र कार्यकर्ता अलमलमा परेका छन्।’

कांग्रेस–माओवादी गठबन्धनमा अध्यक्ष दाहालले सरकारको नेतृत्व गरेपछि त्यसको असर पार्टीको आन्तरिक काममा देखिन थालेको भन्दै नेता/कार्यकर्ता निराश भइरहेका छन्। आउँदो पुस २३ गते गर्ने भनिएको पार्टी एकीकरणपछिको पहिलो महाधिवेशन रोकिएको निर्णय सुनेपछि झन् धेरै नेता–कार्यकर्ता निराश भए । शुक्रबार माअेावादीको कार्यालय बैठकले भदौ ११ गतेका लागि तोकिएको महाधिवेशन आयोजक राष्ट्रिय समितिको बैठक र पुस २३ गतेको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो ।

माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार अध्यक्ष दाहाललगायत नेताले सरकारको काममा जोड दिनु परेकाले पुस २३ गते गर्ने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको हो । अब उक्त महाधिवेशन कहिले गर्ने भन्नेबारे आगामी दिनमा हुने बैठक, छलफलले टुंगो लाग्ने उनले बताइन् । तर, कतिपय नेता भने १३ जना व्यक्ति (प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री) सरकारमा गएकै कारण महाधिवेशन रोक्नुपर्ने कुनै कारण नरहेको ठान्छन् ।

माओवादी केन्द्रले शनिबार केही नेताको जिम्मेवारीमा हेरफेर गरेको छ । रामबहादुर थापाको नेतृत्वमा १३ सदस्यीय संगठन विभाग पुनर्गठन गरिएको छ । त्यस्तै नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकार सञ्चालन सहयोग समिति गठन भएको छ । प्रदेश नम्बर १ को इन्जार्जमा गोपाल किराँती र प्रदेश नम्बर ६ को इन्चार्जमा शक्ति बस्नेतलाई ल्याइएको छ । प्रदेश नम्बर १ का इन्चार्ज सुरेन्द्र (राम) कार्की र ६ नम्बर प्रदेशका इन्चार्ज जनार्दन शर्मा मन्त्री भएपछि उक्त जिम्मेवारी फेरबदल गरिएको माओवादीले जनाएको छ ।

प्रकाशित मिति: Aug 21, 2016

प्रतिक्रिया दिनुहोस्