Logo
११ बैशाख २०८१, मंगलबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत् लिने तर महसुल नतिर्ने ग्राहकको लाइन काटिने !

NEA_Bulding1काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लिने तर महसुल नतिर्ने ठूला ग्राहकको लाइन अब तत्काल काटिने भएको छ । ऊर्जा मन्त्री जनार्दन शर्माले तीन दिनभित्र महसुल नतिर्ने दश ठूला ग्राहकको लाइन काट्न प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई निर्देशन दिए ।

महसुल नतिरेको आधारमा साना तथा मझौला ग्राहकको लाइन काट्ने तर ठूला ग्राहकलाई भने कुनै कारबाही नगरेको व्यापक जनगुनासो आएपछि लाइन काट्ने तयारी गरिएको हो ।  मन्त्री शर्माले भने ‘‘कार्यकारी निर्देशकको नेतृत्वमा सम्बन्धित विभागका प्रमुख र प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका प्रतिनिधि सहितको टोलीले महसुल नतिर्ने ग्राहकको लाइन काटियोस । होइन भने किन कारबाही गरिएन भनेर मैले कार्यकारी निर्देशकमाथि प्रश्न उठाउनुपर्ने हुनसक्छ।’’

प्राधिकरणकाअनुसार केही ठूला व्यापारिक घराना, सरकारी निकाय, शक्ति केन्द्र नजिकका व्यक्ति तथा उद्योग व्यवसायले पनि अटेर गरेर महसुल तिरेका छैनन् । मन्त्री शर्माले विधिवत् रुपमा प्रक्रिया मिलाउन समेत प्राधिकरणका अध्यक्ष एवम् ऊर्जा सचिव सुमन शर्मालाई आग्रह गरे।

प्राधिकरणले बर्सेनि कालोसूचीमा रहेका ग्राहकको नामावली सार्वजनिक गर्दै महसुल बुझाउन आग्रह गर्दै आएको छ तर अटेर गरेर बस्नेको सङ्ख्या पनि उत्तिकै रहेको छ । विशेष गरी तराई– मधेसका केही जिल्लामा मिटरबक्स नपाएर पनि उपभोक्ताले विद्युत् चोरी गर्ने गरेको पाइएको छ ।

यस्तै प्राधिकरणले उपभोक्तलाई सहज रुपमा ट्रान्सफर्मर र मिटरबक्स समेत दिन सकेको छैन । जसका कारण उपभोक्ता विद्युत् सुविधा पाउनबाट वञ्चित भएका छन् । मन्त्री शर्माले भने ‘‘ उपभोक्ताले पैसा तिरेर मिटर बक्स राख्छु भन्दा पनि प्राधिकरणले किन नदिएको, ट्रान्सफर्मर खरिदमा किन ध्यान नदिएको हो ? अब यस्तो चल्दैन तत्काल प्रक्रिया सुरु गर्नुस् ।

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्