Logo
७ बैशाख २०८१, शुक्रबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल–भारतबीच द्विपक्षीय उच्च तहको भ्रमण छिट्टै

राजदूत रणजित राय
राजदूत रणजित राय

काठमाडौं । नेपालकालागि भारतीय राजदूत रणजित रायले नेपाल–भारतबीच द्विपक्षीय उच्च तहको भ्रमण छिट्टै हुने बताएका छन्। उनले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीको भारत भ्रमण भारतको राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र नेपालका राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण मिति तय गर्नेमा केन्द्रित हुने बताए ।

बुधबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदूत रायले द्विपक्षीय उच्च भ्रमण हुन आवश्यक रहेको उल्लेख गर्दै भने,‘नेपाल–भारतबीच द्विपक्षीय उच्च भ्रमण हुन जरुरी छ, यस्ता किसिमको भ्रमण र अन्र्तक्रियाले आपसी सम्बन्ध सुमधुर बनाउँछ।’ राजदूत रायले भ्रमणको मिति भने अहिले तय नभएपनि आफूहरु भ्रमण मिति तय गर्नको लागि गृहकार्यमा जुटेको स्पष्ट पारे ।

भारत नेपालमा स्थायित्व, शान्ति र विकास भएको हेर्न चाहन्छ भन्दै राजदुत रायले थपे, ‘हामी नेपालमा विकास भएको हेर्न चाहन्छौं, त्यसको लागि भारत सधैं नेपाललाई सहयोग गर्न तयार छ।’ भारतको राष्ट्रिय स्वार्थ आर्थिक वृद्धि भएको उल्लेख गर्दै उनले थपे,‘हामी अहिले आर्थिक वृद्धि गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौं, अब हामी दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्यमा छौं, तर यसका लागि छिमेकी मुलुकमा स्थायित्व हुनुपर्छ, विकास हुनुपर्छ, यो भारतको चाहना हो ।’

भारतले एक्लै उक्त लक्ष्य हासिल गर्न नसक्ने भन्दै उनले भने छिमेकमा शान्ति र स्थिरता हुनुपर्छ भन्ने भावानाका साथ नै भारतले छिमेकी पहिलो प्राथमिकतामा राखेको बताए। उनले थपे,‘छिमेकमा अस्थिरता भयो भने भारतमा पनि अस्थिरता हुन्छ, भारतमा अस्थिरतमा भयो भने छिमेकी मुलुकमा पनि अस्थिरता हुन्छ, त्यसैले यो एक अर्को देशको लागि ‘म्युच्युल इन्ट्रेष्ट’ हो ।’

कहिलेकाहीँ भारतले नेपालमा अस्थिरता चाह्यो भन्ने आरोप आफूले सुनेको भन्दै राजदुत रायले खण्डन गरे। ‘यो त स्वयम् भारतको हितको विपरितमा छ, किनकी नेपालमा अस्थिरता भयो भने भारतको विकासमा पनि असर पर्छ नि, त्यसैले भारतले कहिलेपनि त्यस्तो अस्थिरता चाहँदैन्,’ उनले भने।

उनले भारतको नेपालसँग अझै युनिक सम्बन्ध रहेको उल्लेख गर्दै थपे,‘नेपाल–भारतबीच खुल्ला सीमाना छ, जनता जनताबीच प्रगाढ सम्बन्ध छ, कुनै नदी नेपालबाट बगेपनि गंगामा मिसिन्छ, त्यसैले एक देश अर्को देशमा यस्तो अस्थिरता चाहन्छ भन्ने भावना कसैको मनमा पनि आउनै हुँदैन।’

नेपाल–भारत सम्बन्धमा धेरै उतारचढाव र चूनौति आएको कुरा स्विकार्दै राजदुत रायले भने,‘चुनौतिले सम्बन्धलाई अझै मजबुत बनाउँछ, बलियो बनाउँछ, वर्तमान सम्बन्धमा केही मतमतान्तर देखियो भन्दै यसले दीर्घकालीन असर पर्छ भनेर कसैले पनि सोच्नुहँदैन।’

आगामी दिनमा नेपाल–भारत सम्बन्धलाई राजनीतिक भन्दापनि आर्थिक साझेदारीको रुपमा अघि बढाउनुपर्नेमा उनको जोड थियो। उनले थपे, ‘राजनीतिक विषय एउटा कुरा हो, आर्थिक साझेदारी अर्को विषय हो, त्यसैले आर्थिक साझेदारीको कुरा गर्दा राजनीतिक कुरा जोड्नु हुँदैन्।’ आर्थिक साझेदारीका आयोजनालाई अघि बढाउनको लागि पनि मिडियाको सकारात्मक भूमिकाको आवश्यकता रहेको राजदुत रायले बताए।

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्