Logo
२६ बैशाख २०८१, बुधबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा संघीयता असफल बनाउने प्रयास भइरहेको आरोप

CA-Bicc_2nd-Nepal
१ भदौ, काठमाडौं । सत्तारुढ दलका सांसद्हरुले स्थानीय तहको सीमाना तथा संख्या निर्धारणका लागि गठित आयोगमाथि संघीयता असफल बनाउने प्रयास गरेको आरोप लगाउँदै आयोग नै भंग गर्न माग गरेका छन् । व्यवस्थापिका संसद्को बुधबार बसेको बैठकमा सत्तारुढ दलका सांसद्हरुले वैज्ञानिक आधार विना नै ५ सय ६५ वटा स्थानीय तहको प्रस्ताव गरेर आमजनतामा झगडा पारी संघीयता नै असफल बनाउने प्रयास गरेको आरोप लगाएका हुन् ।

नेपाली काँग्रेसका सांसद् जीवनबहादुर शाहीले आयोगको प्रस्तावले आमजनतामा संघीयताप्रति नै नकारात्मक धारणा जाने बताए । उनले सरकारी सेवा सुविधा सरल र छिटोरुपमा प्रवाह गर्नका लागि मुलुक संघीयतामा गएपनि आयोगको प्रस्ताव भने सरकारी सेवाका लागि अहिलेभन्दा पनि बढी सास्ती खेप्नुपर्ने खालको भएको बताए । उनले आयोगले संघीयता सफल हुन नदिने नियतसाथ स्थानीय तहको संख्या प्रस्ताव गरेको आरोप लगाउँदै आयोग नै खारेज गर्नुपर्ने बताए ।

बैठकमा शुन्य र विशेष समयमा भाग लिएका सांसद्हरु सबैले आयोगको प्रस्तावित संख्याप्रति असन्तुष्टि जनाए । उनीहरुले स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्दा जनसंख्यालाई भन्दा भूगोललाई बढ्ता प्राथमिकता दिनुपर्ने र आयोगले अहिले प्रस्ताव गरेको संख्या बढाइनुपर्ने बताए ।  सांसद्हरुले शुन्य र विशेष समयमा बोल्ने क्रम सकिएपछि संसद् बैठकमा महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाले समितिको वार्षिक प्रतिवेदन पेश गरके थिइन् ।

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्