Logo
१३ बैशाख २०८१, बिहीबार
(August 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी युद्धमा मारिएका र वेपत्ता परिवारलाई बाँकी ५ लाख दिने निर्णय

Prachand GOV

३२ साउन,  काठमाडौं । सरकारले जनयुद्धमा मृत्यु भएका तथा वेपत्ता पारिएकाहरुको परिवारलाई पूर्वघोषणा अनुसार बाँकी पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।  निर्णयमा भनिएको छ, ‘विगतका सरकारहरुले निर्णय गरी कार्यान्वयन गर्न बाँकी सहिद एवं वेपत्ता र द्वन्द्वका क्रममा मृत्यु भएका मृतकका परिवारलाई दिन बाँकी रकम उपलब्ध गराउन पूर्व निर्णय कार्यान्वयन गर्ने ।’

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि साउन २० गते बसेको मन्त्रिपरिषद बैठकले यो रकम दिने निर्णय गरेको हो ।  मंगलबार सहिद एवं वेपत्ता योद्धा परिवारका प्रतिनिधिहरुसँगको भेटमा पनि प्रधानमन्त्री प्रचण्डले बाँकी ५ लाख दिने निर्णय भएको बताए । उनले भने, ‘जनयुद्धका सहिदहरुलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने र १० लाख दिने निर्णय म पहलोपटक प्रधानमन्त्री हुँदा गरेको पहिलो निर्णय थियो । अहिले जिम्मेवारी सम्हालेपछि बाँकी ५ लाख दिने पहिलो निर्णय गरेको छु ।’

०६५ मा प्रचण्ड सरकारले १० लाख दिने निर्णय गरेपनि ५ लाखभन्दा बढी पाएका छैनन् । केहीले त यो ५ लाख पनि नपाएको गुनासो गर्दै आएका थिए । माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बाँकी पाँच लाख नगद दिनुको साटो कुनै जलविद्युत आयोजनामा शेयर दिने घोषणा भएको थियो । तर, यो निर्णय पनि कार्यान्वयन भएन ।

आफ्नो समर्थनमा बनेको केपी ओली नेतृत्वको सरकारले बजेट ल्याउन लाग्दा माओवादीले यो माग गरेको थियो । तर, बजेटमा माओवादीले भने जस्तो परेन । पछि बजेटमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले पूर्वघोषणाअनुसार रकम दिने बताएका थिए । तर, त्यसको स्रोत बजेटमा व्यवस्थापन भएको थिएन ।

प्रकाशित मिति: Aug 16, 2016

प्रतिक्रिया दिनुहोस्