Logo
१३ बैशाख २०८१, बिहीबार
(August 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुरामले भने ‘१० खर्ब म उठाइदिन्छु’, भूकम्प पीडितलाई ५ लाख देउ

Baburam News_Gorkha

गोरखा ३२ साउन ।  नयाँ शक्ति नेपालका संयोजक बावुराम भट्टराईले सरकारले भूकम्प पीडितहरुलाई घर बनाउन एकमुष्ट ५ लाख रुपैयाँ दिनु पर्ने बताएका छन् ।  ‘सरकार पैसा छैन भनेर राहत दिन पछि हटन लागेको छ,’ उनले भने, ‘म नै भूकम्प पीडितका लागि भनेर १० खर्ब उठाउन सक्छु ।’

‘प्राधिकरणको धारणा मैले ल्याएको थिएँ,’ उनले भने, ‘गुदी फालेर बोक्रा मात्रै टिपियो काम हुन सकेन ।’ प्राधिकरणको नाममा अहिले तमासा भइरहेको उनले बताए । ‘बाबुराम प्राधिकरणको प्रमुख हुन लाग्यो भनेर मलाई आरोपित गरियो,’ पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘सरकारमा बसेका मान्छेहरु मैले भनेको जहिल्यै ठिक उल्टो गर्छन् ।’

मंगलबार सदरमुकाममा नयाँ शक्ति पार्टीको सामाजिक संघसंस्था विभागले आयोजना गरेको गोरखा पुनर्निर्माण विषयक अन्तर्क्रियामा बोल्दै उनले सरकारले पीडितलाई उचित राहत दिन नसकेको बताएका हुन् ।

सरकारको अस्थिरता र निरिहताले भूकम्प पीडितले राहत पाउन नसकेको उनको भनाई थियो । ‘म्यादी सरकारहरु फेरिँदै गए जनता सधैं आशैआशमा बस्नुपर्छ,’ उनले भने । पुनर्निर्माण प्राधिकरण गठन गर्नु सकारात्मक काम भएपछि खासै उपलब्धि हुन नसकेको भट्टराईले बताए ।

अन्तर्राष्ट्रिय समुदायसँग सकारात्मक कुराकानी भइरहेको भन्दै उनले १० खर्ब उठाउन सक्ने दाबी गरेका हुन् । ‘भूकम्प पीडितलाई ५/५ लाख दिए, ३ खर्ब भए पुग्छ,’ उनले भने, ‘बाँकी ७ खर्ब विकास निर्माण र ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा खर्च गर्न सकिन्छ ।’ उक्त काम गर्न सरकारले जिम्मेवारी दिनुपर्ने समेत उनले बताए ।  #पत्रकार सन्तोष आर्चायको सहयोगमा

प्रकाशित मिति: Aug 16, 2016

प्रतिक्रिया दिनुहोस्