Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ, उपप्रधानमन्त्री महराको बेइजिङ तम्तयारी !

Krsnabahadur Mahra

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीनको छ दिवसीय भ्रमणमा सोमबार बेइजिङ जाँदैछन् । चीनमा रहँदा उनले नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षका साथै राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणमा केन्द्रित रहेर सम्बद्ध उच्च अधिकारीहरूसँग छलफल गर्ने मन्त्रालयका सचिव शङ्करदास वैरागीले बताए ।

‘विशेष दूतका रुपमा उपप्रधानमन्त्रीज्यूको चीन भ्रमण हुन लागेकाले लक्ष्य र उद्देश्यमा केन्द्रित रहेर चिनियाँ उच्च अधिकारीहरूसँग छलफल गर्नुहुनेछ’, पारस्परिक सम्बन्ध सुदृढीकरणका साथै विगतमा भएका आपसी सन्धि सम्झौताबारे पनि परामर्श हुने जानकारी दिँदै सचिव वैरागीले भने । सरकारले गत बिहीबार उपप्रधानमन्त्रीद्वयलाई प्रधानमन्त्रीका विशेष दूतका रुपमा भारत र चीन पठाउने निर्णय गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सिलाई नेपाल भ्रमणका निम्ति पठाएको निमन्त्रणापत्र विशेष दूत महराले चीन सरकारलाई हस्तान्तरण गर्नेछन् । त्यसैगरी, प्रधानमन्त्री दाहालले चीनका प्रधानमन्त्री लि खछ्याङलाई नेपाल भ्रमण गर्न सम्प्रेषण गरेको आमन्त्रणपत्र पनि उनले सम्बन्धित अधिकारीलाई हस्तान्तरण गर्नेछन् ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने विश्वसनीय वातावरण तयार पार्नु तथा चिनियाँ पक्षलाई सम्पूर्ण रुपमा आश्वस्त तुल्याउनु उपप्रधानमन्त्री महराको चीन यात्राको मुख्य उद्देश्य हो । उपप्रधानमन्त्री महराका साथ परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याल रहनेछन् ।

प्रकाशित मिति: Aug 14, 2016

प्रतिक्रिया दिनुहोस्