Logo
१३ बैशाख २०८१, बिहीबार
(August 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युरोपेली भूमिमा नेपाली क्रिकेटको फेरि कठिन परीक्षा

CC

काठमाण्डौ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्यान्ड्सविरुद्ध दुई खेलका लागि उत्रँदा युरोपेली भूमिमा नेपाली क्रिकेटको फेरि कठिन परीक्षा हुनेछ ।  स्कटल्यान्ड र पपुवा न्युगिनीसँगको पहिलो चार खेलमा पराजित नेपाल पछिल्लो पटक काठमाडौंमा नामिबियालाई हराउँदै छैटौं स्थानमा पुगेको छ ।

स्थानीय वातावरणमा घुलमिल हुन संघर्ष गरिरहेको नेपालले शनिबार र सोमबार नेदरल्यान्ड्ससँग च्याम्पियनसिपको खेलमा प्रतिस्पर्धा गर्दैछ । बिहीबार मात्र नेदरल्यान्ड्स ‘ए’ सँगको अभ्यास खेलमा ८८ रनमै अलआउट भएकाले नेपालका लागि डच भ्रमण सजिलो नहुने देखिइसकेको छ । त्यसमा नेदरल्यान्ड्स ८ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्षस्थानमा छ ।

नेदरल्यान्ड्स आउनुअघि नेपालले इंग्ल्यान्डमा स्थानीय टिमसँग ५ अभ्यास खेल खेलेको थियो र सबैमा जित हात पारेको थियो । तर पछिल्ला युरोप भ्रमणमा आधिकारिक खेलमा नेपालको प्रदर्शन निकै कमजोर रहेको छ । नेपालले गत वर्ष युरोप भ्रमणमा ट्वान्टी–२० र एकदिवसीयमा गरी १३ खेल खेलेको थियो, त्यसमा दुईमा जित हात पारेको थियो । नेदरल्यान्ड्ससँग ट्वान्टी–२० मा पाएको जित यही भ्रमणमा थियो ।

नेदरल्यान्ड्सबाट उत्तरी आयरल्यान्ड र गणतन्त्र आयरल्यान्डमा नेपालले विश्व ट्वान्टी–२० छनोटको ७ खेलमा ५ पराजय स्वीकारेको थियो, त्यसमा जर्सीसँगको हार पनि थियो । अमेरिकासँग पहिलो खेलमा पाएको जित नेपालको भ्रमणमा सान्त्वना बटुल्ने माध्यम बनेको थियो । त्यसपछि स्कटल्यान्डमा च्याम्पियनसिपको दुवै खेलमा पराजित भएको थियो ।

प्रकाशित मिति: Aug 13, 2016

प्रतिक्रिया दिनुहोस्