Logo
१२ बैशाख २०८१, बुधबार
(August 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाँदाजाँदै ओलीले आफ्ना कार्यकर्तालाई २७ लाख बाँडेको खुलासा !

KP-Sharma-Oli-

काठमाडौं । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कामचलाउ बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले जाँदाजाँदै आफ्ना कार्यकर्तालाई २७ लाख रुपियाँ बाँडेको खुदलासा भएको छ ।  साउन ७ र १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयमार्फत नेकपा एमालेका केन्द्रीय सदस्यदेखि कार्यकर्तासम्मलाई मनलागी पैसा बाँडेको हो । साथसाथै प्रतिष्ठान र संस्थानमा राजनीतिक नियुक्तिसमेत गरेको भेटिएको छ ।

भूकम्पपीडित, बाढीपहिरो पीडितले खर्च नपाएका बेला ओली सरकारले आर्थिक सहायताका नाममा पहुँचवालालाई रकम दिएको बताइएको छ । एमाले केन्द्रीय सदस्य घनेन्द्र बस्नेतलाई ३ लाख, गणेश मैनालीलाई २ लाख तथा अछाम, पातलकोटका सिद्धराज जोशी, खोटाङ, चिसापानीकी गंगालक्ष्मी श्रेष्ठ, दोलखा जफेका मधुकर पोखरेल र काब्रेका वैकुण्ठ घिमिरे, अर्घाखाँची, धारापानीका बालकुमारी थापा, बझाङ, भामचौरका निशा धामी, डोटीका रवीन्द्र शाहीलाई एक–एक लाख रुपियाँका दरले बाँडिएको हो ।

त्यसैगरी ओलीनिकटकी झापा, अनारमनीकी विशेश्वरा दाहाललाई ५ लाख, कुरुङवाङका रुद्र कुमारलाई २ लाख, कालिकोटकी रीता आचार्य, रुपन्देहीका चतुर्भुज आत्रेय, काभ्रेका दिलीप लामा, अछामका कीर्ति सिंह, दोलखाकी सिर्जना गोले, चितवनकी मीना परियार, सिन्धुपाल्चोक, भोटेचौरका गणेश सापकोटालाई १ हजार रुपैयाँका दरले आर्थिक सहायता दिने बैठकको निर्णय छ। ती सबै एमाले नेता–कार्यकर्ता रहेको स्रोतले जनायो ।

त्यसै गरी सोही बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत दुरा सेवा समाजलाई ३ लाख रुपैयाँ, आदित्य संरक्षण प्रतिष्ठानलाई १ करोड, उपचारखर्चस्वरूप द्रौपती ज्ञवालीलाई ५ लाख रुपियाँ, पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहलाई २ लाख ९० हजार र पत्रकार मनोज शाहलाई २ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको थियो । यसैगरि ओली सरकारले जाँदाजाँदै विभिन्न राजनीतिक नियुक्तिसमेत गरेको पाइएको छ ।

राष्ट्रिय न्यायिक प्रतिष्ठान परिषद् सदस्यमा शोभा बुढाथोकी र नारायण नेपाल मनोनीत गरिएका छन् । असार ३१ मा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । त्यसै गरी गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द पोखरेल, चलचित्र विकास बोर्डको सदस्यमा नरेन्द्र महर्जन र अशोककुमार राईलाई मनोनीत गरिएको छ ।

साउन ७ मा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयमा मिलेनियम च्यालेन्ज कर्पोरेसनुको सहयोगमा सञ्चालन हुने कम्प्याक्ट कार्यक्रम तयार गर्न राष्ट्र्रिय संयोजकमा सूर्यप्रसाद आचार्यलाई नियुक्ति गरेको छ । साउन ५ गते बसेको मन्त्रिपरिषद्ले नेपाल खाद्य संस्थानको सञ्चालक समिति अध्यक्षमा प्रकाशबहादुर केसीलाई नियुक्त गरेको छ, भन्दै नागरिकमा समाचार छ ।

प्रकाशित मिति: Aug 12, 2016

प्रतिक्रिया दिनुहोस्