Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्धविश्वासको पराकाष्ठाः बोक्सीको आरोपमा छोरा–बुहारीले नै गरे कुटपिट

Boksi

कास्की । बोक्सीको आरोपमा कास्की स्थित एक जना बृद्धामाथि भएको घटनाले समाजमा अझै पनि अन्धविश्वास कतिको कायम रहेको छ त्यसको उदाहरण बनेको छ । बोक्सीको आरोपमा आफ्नै छोरा बुहारीको यातना दिएपछि अर्मला–६ डिहीकी ६९ वर्षीया सुमित्रा खत्री घर छाडेर बृद्धाश्रमको शरणमा पुगेकी छन् ।

बोक्सी भन्दै छोराले कुटेपछि घर छाडन बाध्य भएको उनले बताएकी छिन् । तेह्र वर्षअघि श्रीमानको मृत्यु भएपछि उनी छोराबुहारीकै भरोसामा बसेकी थिइन् । सुरुमा राम्रो व्यवहार गरेका उनीहरूले चार वर्षयता बोक्सीको आरोपमा मानसिक र शारीरिक यातना दिन थालेपछि घर छाड्नु पर्ने अवस्था आएको उनले बताइन ।

श्रीमान नरबहादुरको नाममा अर्मलामै साढे १९ रोपनी जग्गा थियो । बाबुको निधनपछि आमालाई झुक्याएर छोरा रामबहादुरले १८ रोपनी जग्गा आफनो नाममा पास गराए । डेढ रोपनी जग्गा आमा र छोराको नाममा संयुक्त थियो । उक्त जग्गा बुहारी बसन्तीले नामसारी गरिदिन वा जग्गा बिक्री गर्न दवाव दिँदै आएकी थिइन् ।

तर, सुमित्राले मानिनन् । त्यसपछि उनले दैनिकजसो छोरा बुहारीको नराम्रो गाली खानु पर्थ्यो ।  ‘म बुढी भइसकें मरेपछि तिमीहरुले नै सम्पत्ती खाने हो बाँचुञ्जेलसम्म डेढ रोपनी जग्गा मेरै नाममा राख्न देउ भन्दा उल्टै छोरा र नातिनीले त बोक्सी होस् भन्दै कुटपिट गरे,’ उनले भनिन्, ‘दुई वर्षअघि छोराले घरमा जम्मा भएका दुई चार जना छिमेकीकै अगाडि टाउकोमा नराम्ररी हान्यो ।

लामो समय निधार सुन्नियो । नातिनीले पनि कुटी । रुँदै बसेँ । खानपिनमा वास्ता गरेनन् । ज्यान जोगाउनै गाह्रो भयो ।’ गाली गर्न नछाडे पनि घरमै बसेकी उनले यातना उग्र भएपछि घर छाड्नुको विकल्प नभएको बताइन् ।  उनले भनिन् ‘बारम्बार बोक्सी भन्दै गाली गरे । सानो कोठामा राखेर बोक्सी हो भन्दै इष्टमित्र र छिमेकीलाई समेत भेटघाट गर्न दिएनन् ।’

गाली धेरै गरेपछि नातेदार कहाँ बस्न गइन् । ‘आफैंले जन्माएको छोरो त हो, अब त गाली नगर्ला भन्दै केही दिनपछि घरमा आउँथे, पिटेपनि गाली गरेपनि मेरो मन छोरातिर फर्कियो तर, छोराको मन मतिर फर्किएन’, उनले भनिन्, ‘डरत्रासमा बस्न सकिँन । जीवनभर दुस्ख गरेर जोरेको सम्पती माया मारेर घर छाडें । अब कहिल्यै घर फर्किन्न ।’

अधिवक्ता शोभा पौडेलको सहायतामा स्थानीय रेडियो जननीमा गुहार माग्न आएकी खत्रीलाई बुधवार पोखराकै वात्स्यान वृद्धाश्रममा लगिएको छ । नेपाली सेनाबाट अवकास प्राप्त भएपछि पोखराको एक विद्यालयमा सुरक्षागार्डमा कार्यरत उनका छोरा रामबहादुरले घर परिवारमा झैंझगडा भएपनि आमालाई दुर्व्यवहार नगरेको दाबी गरेका छन् भन्दै कान्तिपुरमा समाचार छ ।

प्रकाशित मिति: Aug 11, 2016

प्रतिक्रिया दिनुहोस्