Logo
७ बैशाख २०८१, शुक्रबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘आइरन लेडी’ शर्मिला रुदै तोडिन् १६ वर्षदेखिको अनशन (भिडियो सहित)

elome-sarmila

यस्ता छन ‘आइरन लेडी’ इरोम शर्मिलाबारे १० कुरा

वीरेन्द्र केएम, काठमाण्डौ । भारतस्थित मणिपुरकी इरोमचानु शर्मिलाले मंगलबार १६ वर्षपछि अनशन तोडेकी छन् । ४४ वर्षीया अधिकारवादी महिलालाई भारतको ‘आइरन लेडी’ को संज्ञा विश्वले दिएको छ, उनले सोमबार रुँदै अनशन तोडेकी हुन् । अनशन तोड्दै उनले राजनीतिमा गएर ‘सरकार प्रमुख बनेर आफ्ना माग आफै पूरा गर्ने’ बताइन् ।

भारतीय टेलिभिजनहरूले उनीबाट अनशन तोड्नै लाग्दा प्रत्यक्ष प्रसारण गरेका थिए । सेनालाई रहेको विशेष अधिकारको विरोधमा अनशन बसेकी उनले १६ वर्षपछि केही दिनअघि अनशन तोड्ने घोषणा गरेकी थिइन् । राज्यले गरेको दमनविरोधी आन्दोलनका लागि उनी अद्वितीय उदाहरण हुन् । द्वन्द्वमा पिल्सिएको भारतको उत्तर–पूर्वी राज्य मणिपुरनिवासी शर्मिलाले सोमबार अदालतसमक्ष पेस भएर अनशन तोड्ने जानकारी गराएसँगै उनी प्रहरी हिरासतबाट पनि मुक्त भएकी छन् । अदालतले उनलाई १० हजार धरौटी तोकेको छ ।

राजनीति गरेर निर्वाचनमा जाने
उनले आफू राजनीति गरेर निर्वाचन जितेर मणिपुर राज्यको मुख्यमन्त्री भएरै सुरक्षाकर्मीले प्राप्त अधिकार हटाउने घोषणा गरेकी छन् । इरोमलाई अहिलेसम्म जवाहरलाल नेहेरु स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीको निगरानीमा राखिँदै नाकबाट छिराइएको पाइप (नासल ट्युब) बाट उनको अनुमति बेगर खुवाउँदै आइएको थियो । कानुनी प्रक्रियाअनुरूप उनलाई हरेक १५ दिनमा अदालत लगिँदै आइएको थियो । उनले पछिल्लो पेसीमा भने सशस्त्र सुरक्षाकर्मीलाई विशेष सुविधा दिने कानुन विरुद्धको लडाइँमा जित हासिल गर्न फरक बाटो अपनाउने घोषणा गरेकी थिइन् ।

इरोमले अनशन तोडेर राजनीति गर्ने बताएसँगै उनको कैदी जीवनजदेखि राजनीति सम्मको संघर्षलाई आङसाङ सुकी र नेल्सन मन्डेलासँग तुलना गर्न थालिएको छ । उनले बेलायती उपनिवेशवादविरुद्ध भएको ‘भारत छोड्’ अन्दोलनको ७० वर्ष गाँठका दिन अनशन तोड्न लागेकी छन् । जुन आफैंमा एक स्वतन्त्रताका लागि गरिएको संघर्षको दिनसँग मेल खान जान्छ । जसलाई केही विश्लेषकहरूले भारतको प्रजातान्त्रिक अभ्यासमाथि इरोमको विश्वास हराएको रूपमा व्याख्या गर्न थालेका छन् ।

हत्याकाण्डपछि अनशन
इरोमले सन् २०००, नोभेम्बरका दिन मणिपुरको इम्पालबाहिर पर्ने सानो गाउँ मालोममा भएको हत्याकाण्डपछि अनशन सुरु गरेकी थिइन्, जहाँ सरकारी अर्धसैनिक बल–आसाम राइफल्सका सुरक्षाकर्मीले १० जना मानिस मारेका थिए । त्यसबेला उनले सरकारले सशस्त्र सुरक्षाकर्मीलाई दिएको विशेष अधिकार दिने विवादास्पद कानुनलाई परिवर्तन नगरेसम्म अनशन बस्ने घोषणा गरेकी थिइन् । उक्त कानुनले सैनिकलाई द्वन्द्वरत क्षेत्रमा सुरक्षा दिने नाउँमा जस्तोसुकै कारबाही गर्ने अधिकार दिएको छ ।

अहिले इरोमको यो अनपेक्षित निर्णयमा उनको बेलायती मूलको भारतीय प्रेमी देशमोन्ड कुटिन्योको प्रमुख भूमिका रहेको बताइएको छ । इरोमलाई विगत १५ हिरासतमा राखिएको थियो जहाँ उनलाई केही सीमित व्यक्तिसँग मात्र भेटघाट गर्ने अनुमति दिइएको थियो । उनको परिवार तथा उनीसँग निरन्तर सम्पर्कमा रहेकाहरूलाई पनि उनको पछिल्लो निर्णयको बारेमा उनले सार्वजनिक रूपमा भनेपछि मात्रै थाह भएको थियो ।

मिडियाकर्मी तथा मानवअधिकारकर्मीहरूको भीड
अहिले मणिपुरको सानो गाउँमा उनले अनशन तोडेको दृश्य कैद गर्नका लागि मिडियाकर्मी तथा मानवअधिकारकर्मीहरूको भीड नै लागेको छ । इरोमका भाइ इरोमसिंहजित सिंहका अनुसार उनलाई हाल ६०–७० वटासम्म फोन आउने गरेको छ । ‘मलाई धेरै फोन आउँछ,’ उनले भने, ‘सबै स्टेसनहरू त्यसैका लागि यहाँ आएको बताउँछन् । म कृषक हुँ, मानवअधिकारवादी होइन । शर्मिलालाई नभेटी म केही भन्न सक्ने अवस्थामै छैन ।’ उनको ८४ वर्षीया आमा जसले इरोमलाई अनशन सुरु गरेदेखि भेटेकी छैनन्, अनशन तोड्ने उनको निर्णय सुनेपछि भनिन्, ‘उसलाई मेरो आशीर्वाद छ ।’

आफ्नो माग पूरा नभएसम्म घरमा पाइला नटेक्ने घोषणा
शर्मिलाले आफ्नो माग पूरा नभएसम्म घरमा पाइला नटेक्ने घोषणासमेत गरेकी छन् भने उनको आमाले पनि छोरी आफ्नो संघर्षमा सफल नभएसम्म नभेट्ने बताएकी छन् । त्यसैले इरोमले अनशन तोड्ने स्थानमा उनको आमा नजाने भएकी छन् । अनशन तोडेर राजनीतिमा प्रवेश गर्ने इरोमको अभिव्यक्तिले मणिपुरको राजनीतिमा तरंग ल्याइदिएको छ भने त्यहाँका विपक्षी पार्टीहरू उनलाई आफ्नो पार्टीमा सामेल गराउने कसरतमा लागेका छन् ।

उनले सरकारी पक्ष तथा सुरक्षा अधिकारीहरूलाई अनशन तोडेपछि इम्पालमै कार्यालय खोलेर बस्ने इच्छा जाहेर गरेकी छन् । तर उनको कार्यालय कहाँ हुन्छ र त्यसको रेखदेख कसले गर्छ भन्ने उनलाई नै थाह नभएको बताइएको छ । यस्तै, अनशन तोडेर हिरासत मुक्त भएपछि पनि उनको कहाँ जाने भन्ने टुंगो लागेको छैन । उनले मणिपुरकै एक अनाथ आश्रम वा इस्कोनको आश्रममा बस्ने इच्छा गरेकी छन् । तर सुरक्षा अधिकारी तथा राज्य सरकार भने उनको सुरक्षालाई लिएर उनलाई दिल्लीमा जान आग्रह गरिरहेको छ । त्यसमा उनले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

‘आइरन लेडी’ इरोम शर्मिला बारे १० कुरा
इरोम शर्मिलाले मंगलबार आफ्नो १६ वर्षे अनशन तोड्ेकी छन् । अनशन तोड्ने उनको निर्णयका कारण उनले ज्यान मार्ने धम्कीसमेत खेप्नुप¥यो । उनका धेरै समर्थक र परिवारका केही सदस्यले उनले अनशन जारी राखून् भन्ने इच्छा व्यक्त गरेका थिए ।

शर्मिलाले आफ्नो नयाँ जीवनको बाटो तय गरिरहेका बेला उनीसँग सम्बन्धित केही कुरा तपाईंले जान्न जरुरी छः
१. ‘मणिपुरको आइरन लेडी’ भनेर चिनिने शर्मिला उनको परिवारको ९ सन्तान मध्येकी कान्छी हुन् । उनी डाक्टर बन्न चाहन्थिन् तर उनले पछि अधिकारकर्मी हुने सोच बनाइन् ।
२. सन् १९७२ मा जन्मिएकी शर्मिलाले सन् २००० को नोभेम्बर ४ तारिकमा २८ वर्षको हुँदा अनशन बसेकी थिइन् । आसाममा बन्दुकधारीले १० जना सर्वसाधारणलाई गोली हानी हत्या गरेको दुई दिनपछि उनी अनशनमा बसेकी थिइन् । यो घटना मणिपुरको राजधानी इम्फाल नजिकै मालोमको हो जसमा ट्युसन जान लागेका युवा पनि समावेश थिए ।
३. विशेष शक्ति सहितको सेना परिचालनविरुद्ध कुनै पनि आन्दोलनको नेतृत्वमा उनी त्यतिबेलादेखि देखिन थालिन् । उनको स्वतन्त्र उडिरहेको घुम्रिएको कपाल र नाकमा राखिएको खानाको पाइपले उनलाई चिनाउन थप मद्दत गरेको थियो ।
४. शर्मिलालाई ‘इम्फाल्स सजिवा सेन्ट्रल जेल’ को हिरासतमा राखिएको थियो तर उनले राजधानीस्थित जवहारलाल नेहरू इन्सटिच्युट अफ मेडिकल साइन्सेजमा आफ्ना समय बिताइन् । कम्तीमा पनि ४० व्यक्तिहरू जसमध्ये ५ डाक्टर, १२ नर्स र तीनजना महिला पुलिसकर्मीले उनले नाकमार्फत खाना खाएको छ कि छैन भनेर हेरफेर गर्दथे ।
५. सन् २००० मा जब उनलाई पहिलो पटक पक्राउ गरियो तब उनलाई तत्काल छोडियो र पटक–पटक समातियो किनभने उनले आत्महत्या गर्न खोजिरहेकी थिइन् जुन अहिले पनि अपराध मानिन्छ ।
६. शर्मिला आफ्नो स्थानीय भाषा ‘मैतेलोन’ की लेखिका र कवि हुन् ।
७. सन् २००६ मा शर्मिलाले आफ्नो आन्दोलनलाई नयाँ दिल्लीसम्म पु¥याइन् जहाँ उनीलगायत उनका अरू कार्यकर्ताले जन्तरमन्तरमा भोक हडताल गर्न थाले । उनी त्यहाँ पक्राउ परिन् तर उनको भोक हडताले अन्तर्राष्ट्रिय ध्यानआक्रिष्ट गर्न सफल भयो । युरोपेली संसद्ले भारतीय सरकारलाई सेना परिचालनबारे आफ्नो नीति सच्याउनका लागि आग्रह गरेको थियो ।
८. शर्मिलाले थुप्रै पुरस्कार जितेकी छन् जसमा सन् २००७ मा ‘जिवाङजु पुरस्कार’, सन् २०१० मा ‘रविन्द्रनाथ ट्यागोर शान्ति पुरस्कार’, ‘एसियाली मानवअधिकार आयोग पुरस्कार’ पर्दछन् । एम्नेस्टी इन्टरनेसनलले उनलाई सन् २०१३ मा ‘विवेकको कैदी’ को उपमा दिएको थियो ।
९. शर्मिलाको सार्वजनिक जीवन उनको व्यक्तिगत जीवनका कारण प्रभावित हुन थाल्यो जब उनले भारतीय मूलका बेलायती नागरिक डेसमन्ड कौटिन्होलाई सन् २०११ को मार्चमा हस्पिटलमा भेटिन् । शर्मिला र कौटिन्हो, त्यतिबेला ४८, ले सन् २००९ देखि चिठी आदानप्रदान गर्ने गरेको बताइएको छ । शर्मिलाले कौटिन्होलाई मन पराएको बताएकी थिइन् ।
१०. जुलाई २६ मा शर्मिलाले आफ्ना समर्थकलाई अनशन तोड्ने, निर्वाचन राजनीतिमा समावेश हुने र विवाह गर्ने भन्दै अचम्मित पारिदिइन् । यदि उनी आफ्नो निर्णयमा अडिग रहिरहिन् भने मंगलबार उनी अनशनमुक्त हुनेछिन् । (समाचार एजेन्सीहरूको सहयोगमा, कमाण्डर पोष्ट राष्ट्रिय दैनिकबाट )

भिडियो सौजन्य: एबिपि न्यूज :

प्रकाशित मिति: Aug 9, 2016

प्रतिक्रिया दिनुहोस्