Logo
१९ बैशाख २०८१, बुधबार
(August 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्कुलबाट छुट्टी भएलगत्तै अपहरणमा परेकी भारतीय बालिकाको नेपालबाट उद्धार

तस्विर सौजन्य नेपाल प्रहरी
तस्विर सौजन्य नेपाल प्रहरी

काठमाडौं २४ साउन । गत बिहीबार भारतको बिहारबाट अपहरणमा परेकी एक बालिकाको नेपाल प्रहरीले विराटनगरबाट उद्धार गरेको छ । स्कुलबाट छुट्टी भएलगत्तै अपहरणमा परेकी ४ वर्षीया बालिका स्पर्श अग्रवालको नेपाल प्रहरीले उद्धार गरेको हो ।  बालिकालाई अपहरण गरेर नेपाल ल्याएको खबर पाएलगत्तै क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले अनुसन्धान सुरु गरेको थियो ।

सिआइबी र क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले चार दिन पछि ति बालिकालाई सकुशल अपहरणमुक्त गराएको हो ।बिहारको कटिहारस्थित एनबिआर स्कुलमा केजीमा अध्ययनरत ति बालिका बिहारमा पेट्रोलपम्प सञ्चालन गर्दै आएका भानु अग्रवालकी छोरी हुन् । पेट्रोल पम्प सञ्चालक भानुकै ड्राइभर मिथुन पासवानले बालिकाको अपहरण गरेको खुलेको छ । उनलाई साथ दिने विराटनगरका दिनेश गुप्ता र अर्का एक ड्राइभरलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकाको परिवारसँग अपहरणकारीले एक करोड रुपैयाँ फिरौती माग गरेका थिए । तर नेपाल प्रहरीको सक्रियताका कारण फिरौती बुझाउनु परेन र बालिकाको सकुशल उद्धार भएको छ । अपहरणका मुख्य योजनाकार मिथुन पासवानले बालिकालाई नम्बर प्लेट नखुलेको मोटरसाइकलमा राखेर नेपाल ल्याएका थिए ।

विराटनगरको भण्टाबारीमा राखेका अपहरणकारीले भोलिपल्ट त्यहाँबाट भेडेटारस्थित एक होटलमा राखेको अनुसन्धानबाट खुलेको छ ।सिआइबीले उपलब्ध गराएको सूचनाको आधारमा दिनेश गुप्ता पक्राउ परेपछि बालिका राखिएको ठाउँ पत्ता लागेको सिआइबीका डिआइजी नवराज सिलवालले बताए ।

प्रकाशित मिति: Aug 8, 2016

प्रतिक्रिया दिनुहोस्