Logo
१५ चैत्र २०८०, बिहीबार
(August 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ सदस्यीय मन्त्रीपरिषद् : प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीले लिए सपथ ! 

New Pm

काठमाडौं ।  नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले ६ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन् । नवनिर्वाचित प्रधानमन्त्री दाहालले विहिवार अपरान्ह पद तथा गोपनियताको सपथ खानुपहिले ६ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका हुन् । ६ सदस्यीय मन्त्रीपरिषद्मा २ जना उपप्रधानमन्त्री तथा ३ जना मन्त्री छन् ।

दाहालले आफूलाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका विमलेन्द्र निधि र आफ्नै पार्टीका कृष्णबहादुर महरालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद्मा निधि र महरा दुवै पुराना अनुहार हुन् । महरा दोस्रो पटक उपप्रधानमन्त्री नियुक्त भएका हुन् । पटक पटक मन्त्री भइसकेका निधिले उपप्रधानमन्त्रीमा बढुवा पाएको पहिलो पटक हो। महरा रोल्पा १ तथा निधि धनुषा ३ बाट निर्वाचित सांसद् हुन्।

प्रधानमन्त्री दाहालले ६ सदस्यीय मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका रमेश लेखक र आफ्नै पार्टीका गौरीशंकर थारू र दलजित विके श्रीपालीलाई मन्त्री नियुक्त गरेका हुन्। लेखक कञ्चनपुर क्षेत्र नम्बर ४ र थारु कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन् ।

श्रीपाली समानुपातिक सांसद् हुन् । मन्त्रीपरिषद्‌मा थारु र श्रीपाली नयाँ अनुहार हुन्। ६ सदस्यीय मन्त्रीपरिषद्का निधि र लेखकले स्नातकोत्तर सम्मको, प्रधानमन्त्री दाहाल र महराले स्नातकसम्मको, श्रीपालीले प्रमाणपत्र तहसम्मको तथा थारुले एसएलसीसम्मको अध्ययन पूरा गरेका छन्। ६ जनामध्ये थारू सबैभन्दा कम उमेर अर्थात ३५ वर्षको हुन् ।

………………………

नवनिर्वाचित प्रधानमन्त्री ‘प्रचण्ड’ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले प्रचण्डलाई सपथ खुवाएकी हुन् ।

सपथ ग्रहण कार्यक्रममा प्रचण्ड सुट र भादगाउँले टोपीमा सहभागी भए । उनले देश र जनताको नाममा सपथ ग्रहण गरे । उपप्रधानमन्त्री द्वय महरा र निधिले प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई उपप्रधानमन्त्री नियुक्त गरेका छन् । माओवादीबाट कृष्णबहादुर महरा र कांग्रेसबाट विमलेन्द्र निधि उपप्रधानमन्त्री नियुक्त भएका हुन् ।

सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए ।

साथै बिभिन्न राजनीतिक दलका नेता-कार्यकर्ताहरु पनि सपथ ग्रहण कार्यक्रममा सहभागी थिए । दिउँसो तीन बजे सपथ ग्रहणको कार्यक्रम राखिए पनि मन्त्रीहरुको टुंगो नलागेका कारण आधा घण्टा ढीलो कार्यक्रम सुरु भएको थियो ।

प्रचण्ड यसअघि २०६५ सालमा पनि प्रधानमन्त्री बनेका थिए । उनी दुईपटकसम्म प्रधानमन्त्री बन्ने नेपालको पहिलो कम्युनिष्ट नेता बनेका छन् ।

प्रकाशित मिति: Aug 4, 2016

प्रतिक्रिया दिनुहोस्