Logo
१५ चैत्र २०८०, बिहीबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ बालबालिकाले किताबमा लेखे भूकम्प अनुभव !

Sahity News

काठमाडौं । कक्षा ४ मा अध्ययनरत काठमाडौंका अञ्चित ढुंगाना २०७२ बैशाख १२ गते भूकम्पका बेला भान्सामा आमालाई सघाउँदै थिए। ‘एक्कासी घर हल्लियो, म र आमा टेबलमुनि लुक्यौं । हल्लिन रोकिएपछि खुला ठाउँमा निस्क्यौं, बाबाको फोन आयो, उहाँ सुरक्षित नै हुनुहुँदो रहेछ, त्यो रात घर बाहिर खुला चौरमा नै बित्यो।’

वुद्धनगरको साउथ प्वाइन्ट बोर्डिङ स्कुलमा पढ्ने नेन्सी गुरागाईं भने भूकम्प आउँदा खाना खाएर दिदीसँग मोबाइल चलाउँदै टीभी हेरिरहेकी थिइन् । ‘घर हल्लियो, हामी सोफामा अडेस लाग्यौं। हल्लाइरह्यो। सानो भाईलाई बिर्सेछु, एकछिनपछि याद आयो। अनि भाईलाई समातेर बाहिर निस्क्यौं।’ त्यसपछिका धेरै दिनहरु त्रिपालभित्रै बिते।

कक्षा ६ मा पढ्ने काभ्रेका चिराग तिमिल्सिना बैशाख १२ गते साथीहरुसँग ऐंसेलु खाँदै थिए। एक्कासी ऐंसेलुको झ्याङसहित धर्ती नै हल्लियो। ‘ऐंसेलुको झुल सहित उभिएको धर्ती हल्लियो। एकछिनपछि घर आउँदा बाबाले घर भत्किएको सुनाउनुभयो।’ कक्षा १० मा पढ्ने अस्मिता भट्टराईको विचारमा भूकम्पका कारण स्कुल जान नपाएपनि उनलाई धेरै कुरा सिकायो।

‘भूकम्पको हल्लाइमा घरहरु र धरहरा लगायत महत्वपूर्ण संरचना भत्किए तर हाम्रा मन र साहस भत्किएनन्’ उनी भन्छिन्, ‘भूकम्पपछिका केही महिना स्कुल जान पाएनौं, तर दुई महिना स्कुल नगएपनि धेरै कुरा सिक्न पायौं।’ वैशाख १२ गतेको भूकम्प भोगाईबारे धेरै नेपालीको आआफ्नै कथा छ। कतिले लेखेका छन् कतिपयले साथीभाईलाई मात्र सुनाएका होलान्। अझ बालबालिकाको भूकम्प भोगाई त निकै कम मात्र पढिएका र सुनिएका छन्।

जर्मनीमा कक्षा ८ मा पढ्ने अनुकृत लामिछाने र अमेरिकामा बस्ने हिमांशु नीभा कुवँरले भूकम्पको धक्का त महसुस गर्न पाएनन् तर नेपालको भूकम्पबाट उनीहरु अलग रहन सकेनन्। ‘भूकम्पले हामीजस्तै बालबालिकाका लेख्ने कापी, कलम र पढ्ने किताब घरका भग्नावशेषमा च्यापिदिएको छ’ उनीहरु भन्छन्, ‘ठूला मान्छेले भूकम्पको पीडा ख्यालठट्टा गरेर, कला, लेखन र किताब अध्ययनबाट बाहिर ल्याउलान् तर बच्चाहरुको माध्यम के? त्यो मौनता मात्र हुनेछ।’

उनीहरुले बालबालिकाका पीडालाई बाहिर ल्याउन अनुभव लेख्न लगाउने र किताब प्रकाशन गर्ने निधो गरे। उनीहरुको प्रयास स्वरुप नेपालका २४ बालबालिकाको भूकम्प भोगाईले अहिले किताबी रुप पाएको छ। यसमा अनुकृत र हिमांशुले ४ देखि १० कक्षासम्म बढ्ने बालबालिकाको अनुभवलाई सामाजिक सञ्जाल र इमेलमार्फत मागे र सम्पादन गरे।

त्यसमा साथ दिए साहित्यकार नीलम कार्की निहारिका र महेश पौड्यालले। अहिले यो किताब बजारमा आइसकेको छ। नाटककार अशेष मल्लले भूकम्पसम्बन्धी बालबालिकाको भोगाईमा देशप्रतिको माया भेटिएको बताए। ‘कक्षा चारदेखि १० सम्मका बालबालिकाको यो प्रयासले इतिहास बनाएको छ। यसले देशप्रतिको माया अद्भूत छ भन्ने बुझ्न सकिन्छ।’

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्