Logo
१२ श्रावण २०८१, शनिबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड दुई पटक प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट नेता 

pm-prachanda

काठमाडौं १९ साउन  । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका छन् । बुधबार बसेको व्यवस्थापिका संसद बैठकबाट प्रचण्ड ३६३ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । सभामुख ओनसरी घर्तीले प्रचण्डको पक्षमा ३६३ मत र विपक्षमा २१० मत आएको जानकारी दिइन् । यस्तै कुल ५७३ मत खस्यो । प्रचण्डले प्रधानमन्त्री निर्वाचित हुन आवश्यक मत पाएसँगै उनी नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको सभामुखले घोषणा गरिन् ।

संसद् नियमावलीअनुसार प्रधानमन्त्रीमा निर्वाचित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्याको बहुमत अर्थात २९८ मत ल्याउनुपर्छ । संसद्मा हाल ५९५ सांसद भएपनि २२ सांसद अनुपस्थित रहे । प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि विसं २०६५ साउन ३१ गते पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । कम्युनिष्ट राजनीतिबाट आएका नेताहरुमध्येबाट दुई पटक सम्म प्रधानमन्त्री बन्नेमा प्रचण्ड पहिलो नेता भए ।

यसअघि कम्युनिष्ट नेताहरु मनमोहन अधिकारी, माधव कुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई र केपी ओली एक–एक पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । नयाँ प्रधानमन्त्री चयनका लागि एमालेले कुनै उम्ममेद्वार खडा नगरेपछि प्रचण्ड एक्ला उम्मेद्वार बनेका थिए । प्रचण्डको उम्मेदवारीमा नेपाली काँग्रेका सभापति शेरबहादुर देउवा प्रस्तावक रहेका थिए भने संसद्का अन्य १६ दलका नेताले समर्थन जनाएका थिए ।

संसदमा एमाले र राप्रपा नेपालसहितका साना दलहरले भने विपक्षमा मतदान गरे । प्रचण्डलाई भोट हाल्ने दलहरुमा काँग्रेसका २०७, माओवादी केन्द्रका ८१, सङ्घीय समाजवादीका १५, फोरम (लोकतान्त्रिक)का १४, राप्रपाका १२, तमलोपाका ११, सद्भावना पार्टीका पाँच, नेकपा (संयुक्त) तीन, थरुहट तराई पार्टी दुई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका एक, समाजवादी जनता पार्टी एक, नेपाली जनता दल एक, खुम्बुवान राष्ट्रिय मोर्चा एक, अखण्ड नेपाल पार्टी एक, दलित जनजाति पार्टी एक, जनजागरण पार्टी एक र स्वतन्त्र सांसद रहेका छन् । यस्तै परिवार दललगायतका केहि एक सिट दलले पनि प्रचण्डको पक्षमा मतदान गरे ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्