Logo
८ बैशाख २०८१, शनिबार
(August 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डको उम्मेदवारीपछि, यस्तो छ प्रधानमन्त्री निर्वाचनको कार्यतालिका

CA_BICC News

काठमाडौँ । राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि संसद‌लाई आव्हान गरेपछि संसद्ले प्रधानमन्त्री निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार साउन आज बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र सोही दिन अपराह्न ४ :३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

संसद्‍ सचिवालयले प्रकाशित कार्यतालिका अनुसार प्रधानमन्त्रीको निर्वाचनका लागि यही साउन १९ गते बुधबार मतदान हुने भएको छ । मत विभाजनको प्रकियाबाट मतदान हुनेछ। संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।

साउन १९ गते बिहान ११ बजे हुने संसद्को बैठकमा सबै उम्मेदवारीको सूचना प्रस्तुत भई प्रस्तावक र समर्थकको समर्थनपछि ती सूचनामाथि सामूहिक छलफल र निर्णायार्थ प्रस्तुत (मतदान) हुने छ । ती सबै कार्यक्रम संसद् भवन नयाँ बानेश्वरमा हुनेछ ।

सहमतिका आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि बहुमतीय प्रक्रिया सुरु भएको हो । व्यवस्थापिका–संसद्को सोमबारको दोस्रो बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री निर्वाचनका लागि राष्ट्रपति कार्यालयबाट प्रक्रिया अघि बढाउनेसम्बन्धी प्राप्त पत्र पढेर सुनाएकी थिइन् ।

संसद् नियमावली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचनको मिति तथा निर्वाचन कार्यक्रम प्रकाशन गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही साउन १० गते सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न दलहरुलाई आह्वान गरेकी थिइन । सो अवधिमा प्रधानमन्त्रीको चयन हुन नसकेपछि आज राष्ट्रपति कार्यलयबाट बहुमतीय प्रक्रिया अघि बढाउन संसद्लाई पत्र पठाएकी हुन् ।

संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसद्मा तत्काल कायम रहेका सदस्यको बहुमतबाट प्रधानमन्त्री चयनका लागि आह्वान भएको हो ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । नेकपा (एमाले) ले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरिसकेको छैन ।

संसदमा कायम रहेको सांसद संख्याको बहुमत अर्थात २ सय ९८ जना सांसदको समर्थनमा प्रधानमन्त्री निर्वाचित हुनसक्ने अवस्था छ। कांग्रेस, माओवादी, मधेसी मोर्चासहितको गठबन्धन, राप्रपा तथा अन्यसमेत गरी तीन सय पचासभन्दा बढी संख्या नयाँ समिकरणको पक्षमा देखिएको छ ।

प्रकाशित मिति: Aug 2, 2016

प्रतिक्रिया दिनुहोस्