Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डप्रति अविश्वास कायमै,दिल्ली अझै ‘हेर र पर्खको’ नीतिमा !

thsri_modi_prachan_2038996f

काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी ओलीको बहिर्गमनसँगै दुई देशको सम्बन्धमा सुधार आउने विश्वास भारतले लिए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र दिल्लीका बीचमा भने आपसी आशंका र अविश्वास कायमै रहेको पाइन्छ । अबको एक साताभित्रै दाहाल बहुमतीय सरकारको प्रधानमन्त्री बन्ने लगभग पक्का भएपछि उनको नयाँदिल्लीसँगको सम्बन्धबारे यहाँ राजनीतिक तथा कूटनीतिक वृत्तमा चर्चा छ । भारतीय राजनीतिक दलका नेता, कूटनीतिज्ञ तथा सरकारी अधिकारीहरू मिडियामा आएजस्तो ओलीको बहिर्गमनसँगै भारत खुसी भएको र दाहाल प्रधानमन्त्री भएलगत्तै दुई देशको सम्बन्ध ट्रयाकमा आउने र सबै कुरा ठीक हुन्छ भन्ने अवस्था नरहेको बताउँछन् ।

पछिल्ला दिनमा औपचारिक तथा अनौपचारिक रूपमा नयाँदिल्ली र दाहालको बीचमा सम्बन्ध सुधारका लागि विभिन्न तहमा कुराकानी भइरहेका छन् । दुवै पक्षले एकअर्काप्रतिको आशंकाबारे आश्वस्त पार्ने प्रयास गरिरहेको स्रोतले बतायो । दुई साता अगाडि नयाँदिल्ली आएका भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय र माओवादी केन्द्रका नेता मातृका यादवले भारतीय अधिकारी तथा नेताहरूलाई भेट गरी दाहाल नेतृत्वमा बन्ने सरकारले दुईपक्षीय सम्बन्ध सुधार गर्न ध्यान दिने भनी भारतीय पक्षलाई आश्वस्त पारेका थिए ।
स्रोतका अनुसार यसबाहेक पनि विभिन्न च्यानलमार्फत कुराकानी भई अविश्वास हटाउने प्रयास भइरहेको छ । तर सकारात्मक पक्ष के छ भने दुवै पक्ष पहिलेका गल्ती र कमजोरीलाई सच्याएर अगाडि बढ्न दुवै पक्ष सकारात्मक छन् । ‘ओलीको सरकार ढलेकोमा हामी खुसी भएको र दाहाल आउनेबित्तिकै सम्बन्ध तत्काल सुधार भइहाल्छ भन्ने होइन,’ एक भारतीय उच्च अधिकारीले भने ।

यसैबीच बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालमा सरकार परिवर्तन हुन लागेकामा भारत खुसी र दु:खी दुवै नभएको बताउँदै जुनसुकै राजनीतिक नेतृत्व आए पनि ऊसँग काम गर्नु भारतको जिम्मेवारी भएको बताएका थिए । यतिखेर भारतले पहिलेको जस्तो नेपालको मामिलामा सार्वजनिक रूपमा टिप्पणी नगर्ने र अनौपचारिक कुराकानीमार्फत सम्बन्ध सुधार गर्ने नीति लिएको देखिन्छ । भारतीय एक उच्च अधिकारीले दाहाल सन् २००८ मा जस्तै चीनतर्फ ढल्कने र ओली सरकारले जस्तै भारतविरोधी भावना बढाउने हुन् कि भन्ने आशंका कायमै रहेको बताए । दाहालले पनि भारतलाई भन्दा चीनलाई बढी प्राथमिकता दिने हुन् कि भन्ने आशंकासमेत भारतीय अधिकारीमा छ । नेपाली प्रशासनयन्त्रमा बढदो चिनियाँ प्रभावबारे भारतमा बढी नै चिन्ता पाइन्छ भने राजनीतिक नेताहरू भने यसलाई त्यति गम्भीर विषय नभएको बताउँछन् ।

भारतीय अधिकारीले भारतसँग सन्तुलित र सौहार्दपूर्ण सम्बन्ध बनाउन दाहालले ध्यान दिने अपेक्षा गरेका छन् । भारतीय पक्षले नेपाली कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री बन्न लागेकाले नयाँ सरकारले भारतसँगको सम्बन्ध राम्रो बनाउन प्रयत्न गर्ने आशा राखेको छ । प्रधानमन्त्रीसँगै भारतको चासो परराष्ट्रमन्त्रीमा देखिन्छ । उसले भारतसँग राम्रो सम्बन्ध कायम राख्ने व्यक्तिलाई परराष्ट्रमन्त्री बनाउने सुझावसमेत दिइसकेको छ । विशेषत: ओली सरकारका परराष्ट्रमन्त्री कमल थापाले दुई देशको सम्बन्धलाई सुधार गर्न खासै भूमिका नखेलेको भारतीय बुझाइ छ ।  कान्तिपुरमा समाचार छ ।

प्रकाशित मिति: Jul 30, 2016

प्रतिक्रिया दिनुहोस्