Logo
१२ बैशाख २०८१, बुधबार
(July 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षासँगै देशभर बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ८३

Puyuthan news

काठमाडौं । लगातारको वर्षासँगै देशभर बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ८३ पुगेको छ।  अझै १६ जना हराइरहेका छन् भने कयौं जना घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ। गृहले आज बिहिान ११ बजेसम्ममा मृतक संख्या ६९ को पुष्टि गरेको छ।

गृहका हनुसार प्युठानमा सबैभन्दा बढी मानवीय क्षति भएको छ। फोप्ली गाविसमा मात्र २४ जनासहित यस जिल्लामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३७ पुगेको छ । प्युठान, फोप्ली–६ मा बुधबार गएको पहिरोमा सात जनाले ज्यान गुमाएका छन् । मंगलबारको पहिरोमा परेका थप १५ जनाको शव सनाखत भएको प्रहरीले जनाएको छ। अझै ६ जना बेपत्ता रहेको प्रहरी दाबी छ।

नेपाल रेडक्रस सोसाइटी, प्युठानका आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेले फोप्ली गाविस पहिरोको उच्च जोखिमयुक्त रहेको बताए। अन्य वडामा सयौं घर जोखिममा छन्। अर्खा गाविसमा भने जंगलछेउको गोठमा बस्दै आएका एकै परिवारका तीन जनाले पहिरोमा परी ज्यान गुमाएका छन्।

जिल्ला प्रशासन कार्यालय, प्युठान एवं जिल्ला दैवीप्रकोप उद्वार समितिको अगुवाइमा राहत सामग्री लिएर प्रशासन गाउँमा पुगेको छ। बुधबार सदरमुकाममा बैठक बसी राहत सामग्री गाउँमै पुर्‍याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

यसैगरी, राप्ती नदी किनारमा बाढीले बगाएर ल्याएका ५ शव बुधबार भेटिएका छन्। दाङ देउखुरीस्थित राप्ती नदी किनारमा तीन पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ।

पाँचमध्ये एउटा शवको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाशराज शर्माका अनुसार पाँचमध्ये एउटा शव दाङ गंगापरस्पुुर–९, तकियापुरका ५३ वर्षका ठगिराम चौधरीको हो । उनी मंगलबार बस्तीमा राप्तीको बाढी पसेपछि बेपत्ता थिए। बुधबार बिहान स्थानीयले बगरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

झापामा बुधबार राजगढ–४ मा ११ वर्षीय मिलन लिम्बूको बाढीको पानीमा डुबेर मृत्यु भएको छ। गृहले थप १ को मृत्यु भएको पुष्टि गरेको छ। गृहका अनुसार बाढीपहिरोमा रोल्पामा ४, बाँके कोहलपुरमा १, पर्वतमा १, अर्घाखाँचीमा थप १ र बाग्लुङमा थप २ को मृत्यु भएको छ।

कपिलवस्तु बाणगंगा नदीमा मंगलबार आएको बाढीले चार जना बेपत्ता छन्। सोमडीह–६,  बेलसापुरका ५५ वर्षीय तीर्थ पासी र सोही गाविस– ८ इटवाका ४५ वर्षीय माधे कुजडा भन्ने अहमद  हुसेन तथा निग्हिवा–२ का ५२ वर्षीय चैते रोका र कजराहा–९, सिग्राहवाका २२ वर्षीय शिव गुलामा कलवार बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: Jul 28, 2016

प्रतिक्रिया दिनुहोस्