Logo
११ बैशाख २०८१, मंगलबार
(July 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगातारको वर्षा-बाढी र पहिरोका कारण ३७ जनाको मृत्यु, २४ बेपत्ता

Baddi News  (1)

काठमाडौं । लगातारको वर्षा र त्यसको प्रभावका कारण आएको बाढी र पहिरोका कारण चौबिस घण्टाको अवधिमा ३७ जनाको मृत्यु भएको छ । भने अझै २४ जना बेपत्ता रहेका छन । बाढी र पहिरोले सबैभन्दा धेरै क्षति पश्चिम नेपालमा पुर्याएको छ । प्युठान जिल्लामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख रञ्जितसिंह राठौरले १४ जनाको शव प्राप्त भएको जानकारी दिए ।

प्युठानमा पहिरोमा पुरिएकाहरुको खोजी भइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्युठानका स्थानीय पत्रकार विजयसिंह भारतीले १७ जनाको मृत्यु भएको बताएका छन् । त्यस्तै, वर्षा र बाढीले झापा, सर्लाही, सुनसरी, विराटनगर, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली लगायतका स्थानका बस्ती डुबानमा परेका छन् । सयौं विघा खेतियोग्य जमिन कटान भएको छ ।

त्यस्तै, पाल्पामा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमका अनुसार गोठादी गाविसमा तीन जना र दोभान गाविसमा एक जना गरी चार जनाको मृत्यु भएको हो । एता, गुल्मीमा पनि ठूलो मानवीय क्षति भएको छ । गुल्मीमा ७ जनाको मृत्यु भएको खबर छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार हस्तीचौर गाविसमा तीन जनाको, बिसुखर्क गाविसमा दुई जनाको र वाङदी गाविसमा दुई जनाको मृत्यु भएको छ ।

मकवानपुरमा ३ जनाको, रुपन्देहीमा २ जनाको र काठमाडौं, अर्घाखाँची, दोलखा र सर्लाही जिल्लामा एक–एक जनाको मृत्यु भएको छ ।
बाग्लुङ जिल्लामा पनि पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले हस्तीचौर गाविसमा तीन, बिसुखर्क गाविसमा दुई र वाङदी गाविसमा दुई गरी सात जनाको पहिरोमा पुरिएर मृत्यु भएको जानकारी दिए ।

राप्ती नदीमा १२ वर्षयताकै ठूलो बाढी आउँदा दाङ, बाँके लगायतका जिल्लाका बस्तीहरु पनि डुबानमा परेका छन् । दाङ देउखुरीको सतबरियामा सबैभन्दा धेरै घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रकाश शर्माले जानकारी दिए । बाँकेमा पनि राप्ती नदीको बाढीले खतराको संकेत पार गरेपछि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । कपिलवस्तुमा वाणगंगा नदीको बाढी बस्तीमा पस्दा दुई सय घर डुबानमा परेका छन् । वाणगंगा नगरपालिका १२, १३, १४ र १७ का बस्ती डुबानमा परेका स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: Jul 26, 2016

प्रतिक्रिया दिनुहोस्