Logo
२३ आश्विन २०८१, बुधबार
(July 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डको प्रष्टोक्ती: ‘परम्परागत संकीर्ण राष्ट्रवाद गलत हो’

फाइल फोटो : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
फाइल फोटो : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । संभावित प्रधानमन्त्री भनिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रचण्डले भारतसँग तिक्तता बढाउने र संकीर्ण राष्ट्रवादलाई प्रश्रय दिने पक्षमा आफू नरहेको बताएका छन् ।

भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा प्रचण्डले एक देशविरुद्ध अर्को देशलाई प्रयोग नगर्ने बताए । नेपाल-भारत सम्वन्ध विशिष्ट खालको रहेको भन्दै उनले पछिल्लो समय दुबै पक्षमा केही कमी कमजोरी देखिएको उल्लेख गरे ।

साथै उनले नेपालमा चीनको चासो भारत नभएर पीश्चमा शक्तिहरु भएको विश्लेषण गरेका छन् । आफ्नो नेतृत्वमा बन्ने नयाँ सरकारले दुबै छिमेकी भारत र चीनसँग सन्तुलित सम्वन्ध राख्ने प्रचण्डले बताए ।

अन्तरवार्ताका क्रममा प्रचण्डले मधेस समस्या समाधानको रोडम्यापसमेत अघि सारेका छन् । मधेसमा आन्दोलन गरिरहेको मधेसी मोर्चाले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्तावमा समर्थन गरेको थियो ।

आफ्नो माग सम्बोधनको लिखित प्रतिवद्धता आए प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा जान सक्ने मधेसी मोर्चा नेताहरुले बताइरहेका छन् । यसैक्रममा माओवादी अध्यक्ष प्रचण्डले मधेसी मोर्चाका केही चासोहरु क्याबिनेटबाट सम्बोधन गर्ने बताए ।

यसमा मधेस आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा गर्ने र पक्राउ परेकाहरुको मुद्दा फिर्ता लिने एवं रिहा गर्ने लगायत छन् । सीमांकनको मुद्दामा भने कांग्रेस, एमालेसहितका सबै दललाई विश्वासमा लिएर बीचको बाटो खोज्ने प्रचण्डले बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले नेपालमा चिनियाँ प्रभाव बढेको भारतीय चासो सम्बोधनको प्रयास गरेका छन् । ‘चीनले नेपाललाई भारतविरुद्ध प्रयोग गर्न चाहेको छैन’ आफू चिनियाँ उच्च अधिकारीहरुसँग निरन्तर सम्वादमा रहेको दाबी गर्दै उनले भनेका छन्, ‘उनीहरुले लगातार हामी (नेपाल) लाई भारतसँग राम्रो सम्वन्ध राख्न भनिरहेका छन् ।’

साथै उनले नेपालको आन्तरिक राजनीतिमा चीन हावी भएको भारतीय दाबीको खारेज गरेका छन् । चिनियाँ दबावकै कारण गत वैशाखमा नयाँ सरकार बनाउने निर्णयबाट आफू पछि हटेको धेरैको अनुमान रहेको भन्दै प्रचण्डले भने, ‘चिनियाँ प्राथमिकता वामपन्थी एकता हो । तर, कुनै दबाव छैन ।’

संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाउँदा माओवादी अध्यक्ष प्रचण्डले आलोचना गरेका थिए । र, सैनिक मञ्चबाटै नेपाल कसैको ‘एस म्यान’ नबन्ने सन्देश भारतीय नेताहरुलाई दिएका थिए ।

संविधान निर्माणको अन्तिम चरणमा केही दिन प्रक्रिया रोक्न सल्लाह दिनु भारतको गल्ती भएको प्रचण्डले बताए । ‘भारत यो तहको ‘माइक्रोम्यानेजमेन्ट’ मा संलग्न नभएको भए हुन्थ्यो’ प्रचण्डले अन्तरवार्तामा भनेका छन् ।

तर, कांग्रेससहितको सरकारको नेतृत्व गर्ने तयारीका क्रममा प्रचण्डले अब यही विषयलाई उठाएर भारतसँग तिक्तता लम्ब्याउने र ‘संकीर्ण राष्ट्रवाद’लाई बढावा दिने पक्षमा नरहेको बताएका छन् ।

भूराजनीतिक अवस्थाका कारण सन्तुलित नीति लिनुपर्ने भन्दै प्रचण्डले भनेका छन्- हाम्रो चुनौती भनेको आन्तरिक राष्ट्रियता बलियो बनाउनु र सबैको पहिचानको सम्मान गर्नु हो । परम्परागत संकीर्ण राष्ट्रवाद गलत हो ।’

प्रकाशित मिति: Jul 26, 2016

प्रतिक्रिया दिनुहोस्