Logo
७ बैशाख २०८१, शुक्रबार
(July 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबैले टंगालमा ‘म पागल’ भनेपछि  प्रहरीको लाठी चार्ज !

KC News

काठमाडौं  ९   साउन  ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गर्न गएका वरिष्ठ चिकित्सक गोविन्द केसीका समर्थकलाई प्रहरीले लाठी चार्ज गरेको छ भने  केहीलाई धरपकड गरेको छ ।

आइतबार ११ बजे चिकित्सक, नर्स, विद्यार्थी तथा सर्वसाधारण आयोग अगाडि प्रदर्शन गर्न गएका थिए। ठूलो संख्यामा परिचालित प्रहरीले जुलुशलाई टंगालस्थित भाटभटेनी सुपरमार्केट अगाडि नै रोकेको थियो ।  यसक्रममा करिब एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घम्साघम्सी हुँदा प्रदर्शनकारीलाई प्रहरीले लाठी हानेर लखेटेको थियो ।

प्रदर्शनमा उत्रिएकाहरूले सुरूमा ‘तपाईं किन पागल?’ भनी सोधिएको प्रश्नमा विभिन्न उत्तर दिए । कसैले ‘भ्रष्टाचारको विरोध गर्ने म पागल’, कसैले ‘सोलुखुम्बुमा स्वास्थ्य सेवा पुर्याउन खोज्ने म पागल’, कसैले ‘तीन करोड सदाचारीको न्याय चाहने म पागल’, भनेका थिए । त्यसपछि सबैले ‘म पनि पागल, हामी पनि पागल’ भनेर नारा लगाउन सुरू गरेका थिए । ‘माफियाको मन्त्र, लोकमान तन्त्र’, ‘सांसदको घडीमा लोकमानको ब्याट्री’, ‘सबैतिर प्रष्ट छ, अख्तियारमै भ्रष्ट छ’, ‘लोकमान मुर्दावाद’, लगायत नारा लगाएका थिए ।

पानीको फोहोरासहित नेपाल प्रहरीको टोली अग्रपंक्तिमा थियो । पछिल्तिर सशस्त्र प्रहरीको टोली तयारी अवस्थामा राखिएको थियो । नेपाल प्रहरीका दुई जना डिएसपीको कमाण्डमा रहेको प्रहरीले नाराबाजीपछि अगाडि बढ्ने क्रममा प्रदर्शनकारीलाई धरपकड र लाठी प्रहार गरेको थियो ।

चिकित्सा क्षेत्र सुधारर अख्तियार दुरूपयोग अनुसन्धान आयोका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै वरिष्ठ चिकित्सक केसी पन्ध्र दिनदेखि अनसनरत् छन् । चिकित्सा क्षेत्रमा आफ्नो र आफ्ना नातेदारको निहित स्वार्थमा भ्रष्टहरूसँग मिलेर कार्कीले हस्तक्षेप बढाएको भन्दै केसीले महाअभियोग माग गर्दै अनसन बसेका थिए ।

केसीले महाअभियोग माग गरेपछि अख्तियारले उनलाई ‘पागल’ भनेको थियो । विरोधमा उत्रिएकाहरूले तीन करोड नेपालीको स्वास्थ्यको पक्षमा बोल्दा ‘पागल’ भनिएकाले आफूहरू पनि पागलै भएको भनेर प्रदर्शन गरेका थिए ।  लामो समय बित्दा पनि केसीका माग पूरा नभएपछि उनको जीवन जोखिमपूर्ण बनेको छ। केसीको जीवनरक्षा र माग पूरा गर्न दबाब दिँदै शनिबार माइतीघरमा हजारौं उत्रिएका थिए ।

प्रकाशित मिति: Jul 24, 2016

प्रतिक्रिया दिनुहोस्