Logo
१२ आश्विन २०७९, बुधबार
(July 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशीको मजाक: होच्याएर यसरी गरिदै छ अपमान !

Teari

अनिल यादव, काठमाण्डौ । निखिल उप्रेती अभिनित नेपाली फिल्म ‘भैरव’ होस् वा कामेश्वर चौरसियाको ‘रेशम फिलिली’ । सन्दीप क्षत्रीको टेलि सिरियस ‘ह्वाट द फ्लप’ देखि जोगिन्दर बोले प्रणाम जी’ । मधेशी समुदायलाई अपमानित ढंगले होच्याएर गवार जस्तै तल्लो दर्जाको मान्छेको रुपमा प्रस्तुत गरिएका नेपाली फिल्म र टेलि सिरियल कति छन् कति । जनजाति समुदायलाई पनि नेपाली फिल्ममा मान्छे गन्ने चलन छैन ।

हाँस्नु स्वास्थ्यका लागि निःसन्देह फाइदाजनक छ । तर, कसैका कमजोरी, त्रुटि, अपूर्णतामाथि हाँस्नु जायज हो र ? कुनै खास वर्ग वा समुदाय वा क्षेत्रका मान्छेहरूको मजाक उडाएर हाँस्नुमा के आनन्द, के मनोरञ्जन ? नेपाली फिल्म र टेलिभिजनमा मधेशीलाई उपहासको पात्र मात्रै किन बनाइएको हुन्छ ? उनीहरूलाई उडाउने, होच्याउने र दर्शक हँसाउने…के कुनै पनि सिर्जनात्मक विधाको धर्म यही हो ? यस्तै प्रश्नहरूको जवाफ खोज्ने प्रयत्न गरिएको छ ।

गत वर्षको हिट फिल्म ‘रेशम फिलिली’ भित्र एउटा मधेशी पात्र छ हरिनारायण मण्डल ‘हरिया’ (कामेश्वर चौरसिया) । फिल्ममा हरिया रिसको झोकमा बाख्रासँग जबर्जस्ती संसर्ग गर्न खोज्छ । ऊ केटी जिस्काउने फटाहा पनि हो । ऊसँगै साथी रेशम (विनय श्रेष्ठ)ले उभिएर पिसाब फेर्दा, ऊ बसेर पिसाब फेर्छ । अर्काे हिट फिल्म ‘होस्टेल रिटन्र्स’ मा इन्जिनियरिङ पढ्न आएका विद्यार्थीको होस्टेल जीवनमा आधारित कथा छ । फिल्ममा अन्य ठाउँबाट आएका युवाहरू प्रचलित गेटअपमा हुन्छन् । तर, जनकपुर, धरमपुरबाट आएका रामेश्वर यादव (नाजिर हुसेन) को ‘इन्ट्री’ हास्यास्पद छ । हातमा शिवको मूर्ति, ब्यागमा घण्टी, निधारमा रातो अबिरको टीका लगाएर रामेश्वर ‘नमुना’को भेषमा होस्टेल भित्रिन्छ । फिल्मभरि उसलाई सोझो, केही पनि नजान्ने, साथी–सर्कलमा भिज्न नसक्ने खालको युवाका रूपमा देखाइएको छ ।

गत वर्षको भदौमा रिलिज भएको ‘लभसब’मा पहाडे मूलका कलाकार शिशिर भण्डारीले मधेशी पात्रको चरित्र निर्वाह गरेका छन् । त्यो पात्र सडकपेटीमा बसेर जुत्ता सिलाउने मोची हो । ऊ टाउकोमा फेटा बाँध्छ, मधेशी र भोजपुरी मिसाएर नेपाली बोल्छ । त्यही फिल्ममा अर्को मधेशी पात्र पनि ठेलामा चिया बेच्ने पात्रका रूपमा प्रस्तुत भएको छ । 

यी सबै फिल्ममा मधेशी पात्रलाई होच्याइएको छ, अपमान गरिएको छ । मधेश र मधेशीलाई हेर्ने नेपाली फिल्म क्षेत्रको समग्र दृष्टिकोण कति त्रुटिपूर्ण र विभेदकारी छ, त्यसको प्रमाण हुन् ती फिल्म । एकताका नेपाली फिल्ममा मधेशी चरित्र नै हुँदैन थिए । भए पनि उनीहरूको ‘सिन’ साह्रै छोटो हुन्थ्यो । त्यो पनि हजाम, साइकलमा तरकारीमा बेच्ने, जुत्ता सिलाउने, फटाहा, गुण्डा आदि भूमिकामा हुन्थे । केही वर्षयता धेरै त्यस्ता फिल्म बने जसले मधेशी चरित्र लामो सिनसम्म देखाए ।

त्यसैले यतिबेला नेपाली फिल्म जगत्मा भन्न थालिएको छ– ‘नेपाली फिल्ममा मधेश र मधेशी समावेश हुन थाले ।’ तर, यो समावेशिताको ध्येय भने अर्कै छ– मधेशी चरित्रलाई उपहास गरेर फिल्ममा हास्य सिर्जना गर्नु र दर्शक हँसाउनु । निर्देशक तथा समीक्षक नवीन सुब्बाले आफ्नो एक लेखमा ‘होस्टेल रिटन्र्स’को पात्र रामेश्वरबारे भनेका छन्, ‘अहिलेको एफएम र इन्टरनेटको सञ्जाल गाउँ–गाउँ पुगेको समयमा कुन चाहिँ नेपाली युवा त्यो रूपमा धर्मभीरु होला ? यो त सीधै इतर समुदाय र संस्कृतिलाई उडाउने उद्देश्यले प्रेरित छ ।’ यसमा फिल्म समीक्षक दीपेन्द्र लामा पनि सहमत छन् । भन्छन्, ‘नेपाली निर्देशकहरूमा चेतनाको कमी छ । उनीहरूले प्रगतिशील अभियानलाई बुझ्न सकेका छैनन् । जस्तो वातावरणमा उनीहरू हुर्के, सोच्ने स्तर पनि उनीहरूको त्यही नै भइदियो ।’

फिल्ममा जानीजानी यस्ता दृश्य दर्शकलाई मनोरञ्जन दिने बहानामा प्रयोग गरिन्छन् । जसको ज्वलन्त उदाहरण हो– ‘रेशम फिलिली’ । यो फिल्ममा मधेशी चरित्रको भूमिकाका लागि जब अभिनेता कामेश्वर चौरसिया अडिसन दिन पुगे, उनी तीनछक परे । ‘मलाई सुरुमै बाख्रासँग संसर्गको दृश्य सुनाइएको थियो,’ उनले सम्झिए, ‘यो त हसाउने बहानामा अति नै भएन र भनेर मैले प्रश्न गरेँ । तर, मलाई ‘तिमीले यो दृश्य नगरे फिल्ममा काम दिँदैनौ’ भने । आफू मधेशी भएकाले मधेशीप्रतिको यो दृष्टिकोणले निकै दुःख लाग्यो । तर, पूरा फिल्म अवधिभर मेरो सिन चाहिँ राखिएको रहेछ । त्यसैले मैले फिल्म अस्वीकार गर्न सकिनँ । वर्षाैंदेखि अवसर खोजिरहेको मसँग अर्काे विकल्प पनि थिएन ।’ सुटिङस्थलमा पनि उनले मधेशी भएकै कारण दुव्र्यवहारको शिकार हुनुप¥यो । ‘मधेशी कलाकारले यस्ता विभेद त कति भोग्छन्, भोग्छन्,’ उनले भने । उनले भोगेको विभेदको कथा यत्तिमै सकिँदैन । उनले पारिश्रमिक एक त कम पाए, त्यो पनि एकमुष्ट पाएनन्, पटकपटक दुई÷चार हजार गरेर पाए ।

मजाकको मारमा अरू पनि
नेपाली फिल्म र टेलिभिजनमा मधेशीलाई मात्र होइन, आदिवासी जनजाति, दलित, मधेशी र महिलालाई पनि जथाभावी र उडाएर चरित्रचित्रण गरिन्छ । ‘अहिले पनि नेपाली फिल्ममा परम्परागत सोच हाबी छ ,’ दीपेन्द्र भन्छन्, ‘आदिवासी असभ्य नेचरका हुन्छन्, आदिवासी पुरुष रिसाहा प्रवृत्तिका हुन्छन्, आदिवासी महिला चरित्रहीन हुन्छन् भन्ने रूढीवादी सोच अझै पनि फिल्ममा पाइन्छन् । कुनैकुनै फिल्ममा आदिवासीलाई ठीकै खाले पात्रमा देखाइए पनि गहिराइमा अध्ययन नगरी हचुवाको तालमा प्रस्तुत गरेको जस्तो देखिन्छ ।’

आदिवासी जनजाति समुदायका अभिनेता दयाहाङ राई पछिल्लो समय नेपाली फिल्ममा प्रमुख भूमिकामा देखिन थालेका छन् । तर, उनको समुदायसँग जोडिएको कथा अझैसम्म फिल्ममा आउन नसकेको उनी स्वयं स्विकार्छन् । ‘म धेरै फिल्ममा शिकार हुन्छु,’ राई भन्छन्, ‘मैले आफ्नो समुदायको कुरा ग¥यो भने ‘यसले जातीय कुरा ग¥यो’ भन्दै निर्माता÷निर्देशकले नाक खुम्चाइहाल्छन् ।’ आदिवासी जनजाति र मधेशी कलाकारको अभिनय क्षमता र प्रतिभा कमजोर नभए पनि उनीहरू स्तरीय भूमिकाका लागि अझै पनि फिल्म र टेलिभिजनमा संघर्ष गरिरहेका छन् ।

केही अपवादबाहेक नेपाली फिल्म र टेलिभिजनमा अझै पनि महिलाहरूको चरित्र गृहिणीकै रूपमा सीमित छ । ‘हाम्रो समाज पुरुषप्रधान हो,’ तीन दशकदेखि क्रियाशील अभिनेत्री करिश्मा मानन्धर भन्छिन्, ‘फिल्म बनाउने र लेख्ने मान्छेहरू पनि यहाँ बढी पुरुष नै छन् । त्यसैले उनीहरूले देखेको नारी पात्र नै मैले निर्वाह गर्नुपर्ने मेरो बाध्यता हो ।’ आफूलाई प्रमुख भूमिकामा उभ्याएर फिल्म बनाइरहेकी अभिनेत्री रेखा थापा पनि फिल्ममा महिलालाई स्क्रिप्टबाटै विभेद सुरु हुने बताउँछिन् ।

टेलिभिजनमा महिलाहरूको ‘स्टेरियोटाइपिङ’ भएको विषयमा किताब नै लेखिसकेकी नेपाल टेलिभिजनकी कार्यक्रम निर्देशक दीपा गौतमले फिल्मसम्बन्धी एउटा अन्तरक्रियामा भनेकी थिइन्, ‘फिल्म र टेलिभिजनमा महिलाको चरित्रचित्रण परम्परागत छ ।’ हास्य टेलिसिरियल ‘तीतो सत्य’ महिलाहरूलाई कमजोर मान्छेका रूपमा प्रस्तुत गरेकोमा थुप्रै पटक आलोचित भइसकेको छ । ‘एकचोटि मैले यसका निर्देशक दीपकराज गिरीलाई ‘तपाईंको सिरियलमा एकदम स्टेरियोटाइपिङ छ, यसलाई सच्याउनुपर्छ’ भनेकी थिएँ,’ गौतमले भनिन्, ‘उहाँले ‘महिलाको अधिकार संरक्षण गर्नुपर्ने मैले, बालबालिका, अपांग, जनजाति सबैको संरक्षण गर्नुपर्ने मैले, अनि मेरो हँसाउन पाउने अधिकारको संरक्षण चाहिँ कसले गर्ने ?’ भन्दै उल्टै प्रश्न गर्नुभयो ।’

उनले नेपाली फिल्ममा महिलाहरूको चरित्रचित्रण निकै रूढीवादी भएको भन्दै सुपरहिट फिल्म ‘लुट’को उदाहरण दिइन् । भनिन्, ‘हामीले युगान्तकारी फिल्म भनिरहेको ‘लुट’मा पनि तीनटै महिलाको रोल स्टेरियोटाइप्ड छ ।’ निर्देशक सुब्बाका अनुसार अझै पनि नेपाली फिल्ममा आदिवासी जनजाति मूलका महिला कलाकारहरू अस्वीकृतजस्तै अवस्थामा छन् । उनले एक लेखमा भनेका छन्, ‘बजारका कारण दयाहाङजस्ता कलाकार सक्रिय देखिए पनि जनजाति पृष्ठभूमिबाट आएका महिला कलाकारहरू अस्वीकृतजस्तै नै छन् र नायिका हुन खस–आर्यन नै हुनुपर्छ । यसको मुख्य कारण भनेको अहिले स्थापित सौन्दर्य चेतना नै हो । नेपाली चलचित्रका नायिकाहरूको अनुहार अबोध, घरेलु, धार्मिक र सतीसावित्री प्रवृत्तिको हुनु अनिवार्य छ ।

त्योभन्दा फरक अनुहार भए खस–आर्यन नै भए पनि नेपाली सौन्दर्य चेतनालाई स्वीकार्य छैन । यस्तो स्थितिमा भिन्न अनुहार र स्वतन्त्र छवि बोक्ने जनजाति महिला नेपाली चलचित्रमा अट्ने कुरै भएन ।’

पान, पान र पान
अधिकांश नेपाली फिल्म हेरौँ, यदि त्यहाँ मधेशी चरित्र छ भने कि ऊ पानपसले हुन्छ, नभए पनि पान चाहिँ खाइरहेकै हुन्छ । यस्तो लाग्छ– पान नै उनीहरूको पहिचान हो । कमेडी सो ‘जोगिन्दर बोले प्रणाम जी’ ले त झन् पानलाई व्यापक बनाइदिएको छ । सोका सञ्चालक शिवशंकर रिजालले पानलाई मधेशी पहिचानको ब्रान्ड नै बनाइदिएका छन् । ‘जोगिन्दर के पान की दुकान’ नाम गरेको पानपसल उनले खोलेका छन्, जहाँ विभिन्न सेलिब्रिटी अतिथिका रूपमा आउँछन् । परम्परागत सोचका आधारमा जसरी मधेशी चरित्रलाई टेलिभिजन र फिल्ममा प्रस्तुत गरिँदै आइएको थियो, उनले पनि सोमा त्यही चरित्रलाई ‘प्रमोट’ गरिरहेका छन् ।

अभिनेता राजेश हमालले फिल्म ‘हात लाग्यो शून्य’मा मधेशी पात्रको भूमिका निर्वाह गरेका छन् । धोती, कुर्ता, हातमा छाता, अनुहारमा नक्कली जुँगा लगाएर उनी कन्जुस व्यापारी गरिबदास दयालुको भूमिकामा छन् । उनको मुखमा पनि प्रायः पान टुट्दैन । यसै पनि कमेडी भनिएको फिल्ममा उनले दर्शक त हँसाउने नै भए । अभिनेता कामेश्वर चौरसियाले ‘रेशम फिलिली’मा अभिनय गरिसकेपछि आफूलाई थुप्रै पानपसले र हजामको रोल अफर आएको बताए । ‘मैले रिजेक्ट गरिदिएँ,’ उनले भने, ‘‘तिमीहरू त्यही मुला त हौ नि’ भन्दै खालि त्यस्तै स–साना रोलमा अफर गर्छन् । हाम्रा पैसा भएका निर्माताले कुनै पनि चरित्रको गहिराइमा पुगेर फिल्म बनाउँदैनन् । किनकि, उनीहरूमा त्यो चेतना पनि छैन, दर्शकलाई ‘अन्डरएस्टिमेट’ गर्नु हुँदैन भन्ने भावना पनि छैन ।’

समीक्षक सुब्बा भन्छन्, ‘काठमाडौँका रैथानेहरूका लागि मधेशी भनेको साइकलमा सब्जी बेच्ने मान्छे हो । हामीले यहीमात्र विषय उठायौँ भने त्यो स्टेरियोटाइपिङ भयो । तर, त्यो क्यारेक्टरको गहिराइमा पुगेर उसको दिनचर्या, उसका सपना, आकांक्षा र पीडाहरूलाई ल्याउन सकियो भने चाहिँ त्यो समुदायलाई बुझ्न सहयोग पु¥याउँछ ।’

सधैँ ‘भिलेन’, सधैँ ‘फटाहा’
चार वर्षको अन्तरालपछि गत वर्ष अभिनेता निखिल उप्रेतीले आफैँ निर्देशक भएर फिल्म बनाए– ‘भैरव’ । जतिबेला फिल्म रिलिज भइरहेको थियो, त्यतिबेला मधेश आन्दोलन चर्किरहेको थियो । मधेशमा पहिचान र आत्मसम्मानको कुरा उठिरहेको थियो । यता निखिलले फिल्ममा प्रहरी अफिसरको भूमिका निर्वाह गरेका थिए । अनि मुरलीधरलाई मधेशी चरित्रमा उभ्याएका थिए– ‘नामुद राधेश्याम डन’का रूपमा । जसले हातहतियारको व्यापार गर्छ । ऊ भनिरहन्छ, ‘जय मधेश, खाऊ मधेश ।’ ऊ भन्छ, ‘मधेशमा मेरो सिस्टम चल्छ ।’ फिल्मभित्रको एउटा दृश्यमा पत्रकारले इन्सपेक्टर भैरवलाई ‘नेपाल पुलिसको नजरमा मधेशीको अनुहार नै अपराधी हो कि ?’ भन्दै प्रश्न गर्छ । ‘अपराधी मधेशी र पहाडी भन्ने हुन्न, उसको पनि पुलिसको जस्तै एउटै जात हुन्छ’ भन्दै भैरवले त्यहाँ जवाफ फर्काउँछ । तर, मधेशी अनुहारलाई भिलेन बनाउने नेपाली फिल्मको चलन यो फिल्मले पनि धानेको छ । ‘भैरव’लाई गृह मन्त्रालयले दंगाग्रस्त क्षेत्रमा तत्काल नचलाउन रोकसमेत लगाएको थियो । मधेश र मधेशविरोधी फिल्म भन्दै सप्तरीमा त फिल्मको पोस्टर जलाउँदै प्रर्दशन हुनबाट रोक समेत लगाइएको थियो । तर, काठमाडौँमा निखिल अन्तर्वार्ता दिँदै थिए, ‘भैरव राष्ट्रवादी फिल्म हो, मधेशमा चल्नुपर्छ ।’

यस फिल्मबारे सुब्बाले आफ्नो एक लेखमा भनेका छन्, ‘यो चलचित्र सीधै सामाजिक विग्रह ल्याउने खालको थियो, भलै यसलाई लिएर मधेशी समुदायले कुनै प्रतिक्रिया दिएनन् ।’ उता, समीक्षक लामाको टिप्पणी छ, ‘‘भैरव’ मधेश आन्दोलनको भावनाविरुद्ध थियो । फिल्मले मधेश आन्दोलन देश टुक्राउने आन्दोलन हो भन्ने प्रमाणित गर्न खोजेजस्तो लाग्छ ।’ राजनीति, व्यापारी र गुण्डागर्दीको अन्तरसम्बन्धको कथामा बनेको फिल्म ‘षडङ्ग’मा अभिनेता सौगात मल्ल मधेशी चरित्रमा देखिए । उनी कालु डन अर्थात् कालु यादव बनेका छन्, बिजनेसम्यानको प्राइभेट गुण्डा । फिल्म ‘अलबिदा’मा नगेन्द्र रिजालले तराईमा बसेर काठमाडौँ हल्लाउने ‘टाइगर’ नामक नामुद गुण्डाको भूमिका निर्वाह गरेका छन् ।

नेपाली फिल्मले मधेशी चरित्रलाई सधैँ भिलेन, सधैँ फटाहाकै रूपमा चित्रण गरिरहेको छ । यसमा मधेशी मूलका अभिनेता प्रमोद अग्रहरि सहमत छन् । उनले अभिनय गरेका आधा दर्जनजति फिल्म रिलिज भइसके । तीमध्ये ‘सुन्तली’, ‘ताण्डव’, ‘फागु’ लगायत फिल्ममा उनले मधेशी चरित्रमा भिलेनकै रोल पाए । ‘मधेशी मूलको कलाकार भएकाले होला, मलाई धेरैजसो फिल्ममेकरले मधेशी चरित्रमा मात्र अफर गर्छन्,’ प्रमोद भन्छन्, ‘त्यो पनि सधैँ भिलेन, सधैँ फटाहा चरित्रका रूपमा । र, पनि काम गर्नुपर्ने मेरो बाध्यता छ । मधेशलाई गहिराइमा नबुझीकन राजधानीमा बसेर स्क्रिप्ट लेख्नेले मधेशीलाई सधैँ यस्तै चरित्रमा कल्पना गर्नु विडम्बना हो ।’

मिठाईलालको तीतो यथार्थ
कमेडी सो ‘ह्वाट द फ्लप’ लोकप्रिय टेलिभिजन कार्यक्रम हो । यसका सञ्चालक सन्दीप क्षत्रीले सिर्जना गरेको क्यारेक्टर हो, मिठाईलाल ज्यादब । सन्दीप अनुहारमा कालो दलेर कहिले नक्कली डाक्टर बन्छन् त कहिले मजदुर । उनको सो जति हिट छ, त्यत्तिकै आलोचित पनि छ । टेलिभिजन र फिल्ममा मधेशीको चित्रणका विषयमा आयोजना हुने बहसमा उनको यो हर्कत बढी चर्चा हुन्छ । क्षत्री चाहिँ ‘मिठाईलाल कुनै एक मधेशीबाट प्रभावित पात्र होइन, सम्पूर्णताको प्रतिनिधित्व हो’ भन्दै आफ्नो बचाउ गरिरहेका छन् । उनको प्रस्तुतिको मधेशी मूलका ब्लगर मुकेशले कडा शब्दमा विरोध गरेका छन् ।

उनले लेखेका छन्, ‘तपाईं गलत हुनुहुन्छ सन्दीप, हरेक मधेशीले मिठाईलालमा आफूलाई पाउँदैन र सायद तपाईंलाई थाहा न होला, अनुहारमा कालो पोतेर कालो अनुहार बनाउनुलाई संसारभरि नश्लवादी कार्यको रूपमा अथ्र्याइन्छ ।’ मुकेशले प्रश्न गरेका छन्, ‘मधेशी कस्तो हुन्छ ? के हरेक मधेशी कालो हुन्छ, छिर्केमिर्के लुंगी लगाउँछ, धर्के कमिज र गम्छा बेरेकै हुन्छन्, पान खाएकै हुन्छन र के सबै मधेशीको नेपाली भाषा उस्तै लवजको हुन्छ?’

अर्का ब्लगर जयसिंह महराले क्षत्रीलाई ट्वीटरमार्फत प्रश्न गरेका छन्, ‘मुहारमा कालो दली, टाउकोमा फेटा बेरी र धोती लगाई नेपाली बिगारेर बोली टीभी कार्यक्रममार्फत मधेशीको अपमान गर्ने कैलेसम्म सन्दीप क्षत्रीजी ?’ उता, सन्दीप भने विभिन्न अन्तर्वार्तामा सगर्व दाबी गरिरहेका हुन्छन्, ‘तराई र पहाड जोड्ने मिठाईलाल हुँ म ।’ शुक्रवारडटकमबाट

प्रकाशित मिति: Jul 18, 2016

प्रतिक्रिया दिनुहोस्