Logo
८ बैशाख २०८१, शनिबार
(July 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा-उपेन्द्रहरु मख्ख नभए हुन्छ, सम्बन्ध सुधार्न ओली/प्रचण्डको दौडधूप !

kp-oli-pushpa-kamal-dahal

काठमाडौं । नेकपा (एमाले) नेतृत्वको सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएपछि बिग्रिएको सम्बन्ध सुधार्न दुवै दलका नेता सक्रिय बनेका छन् । सरकारको नेतृत्वकर्ता एमालेले नौ बुँदे लिखित र तीन बुँदे भद्र सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै माओवादी केन्द्रले मंगलबार आफ्नो समर्थन फिर्ता लिएपछि दूरी बढेको छ ।

दुवै दलका नेताहरूबीच ‘वाक युद्ध’समेत चलिरहेको बेला आइतबार बिहान एमाले नेता सुवास नेम्बाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटे । स्रोतका अनुसार दाहालसँग नेम्बाङले दूरी बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए । “अध्यक्षसँगको भेटमा नेम्बाङजीले दुई दलबीच दूरी बढाउन नहुने बताउनुभयो,” ती नेताले भने, “उहाँले एमाले र माओवादीको गठबन्धन तोड्नै नहुने पनि बताउनुभएको थियो ।” मुख्य नेताहरूबीच बढेको वाक युद्ध घटाउनुपर्नेमा नेम्बाङले जोड दिएको स्रोतले जनाएको छ ।

जवाफमा दाहालले एमालेसँगको गठबन्धन तोड्ने पक्षमा नरहे पनि नौ बुँदे सहमति र भद्र सहमति कार्यान्वयन नभएकाले बाध्य भएर समर्थन फिर्ता लिनुपरेको बताएका थिए । “एमालेसँगको सहमति तोड्नु हाम्रो रहर होइन, बाध्यता हो,” दाहालको भनाइ उद्धृत गर्दैै स्रोतले भन्यो, “तपाईंको चासो र चिन्ता जायज छ । म मेरा साथीहरूलाई पनि आरोप–प्रत्यारोपमा नउत्रन सुझाउँछु ।”

यसघि प्रधानमन्त्री ओलीले नै दाहाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । दाहालले भने ढिला भएको भन्दै प्रस्ताव अस्वीकार गरेका थिए । नेम्बाङले भने गठबन्धन जोगाउने विषयमा कुनै प्रस्ताव नगरेको स्रोतको दाबी छ । आइतबार नै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले नेता माधवकुमार नेपाललाई भेटेका थिए । उक्त भेट पनि दुई दलबीचको सम्बन्ध सुधारमा केन्द्रित भएको जनाइएको छ । नेता श्रेष्ठले नेपालसँग गठबन्धन तोडिनु दुखद् भएको बताएको स्रोतले जनाएको छ ।

नेपालले भने ‘ओलीको दम्भ’ नै गठबन्धन तोडिनुको मूल कारक भएको बताएका थिए । “ओलीजी आफूलाई धर्तीमा जन्मिएको ठान्नु हुन्न, आकाशबाट झरेझैं गर्नुहुन्छ,” नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “हाम्रै महाराजको दम्भका कारण गठबन्धन तोडिएकोमा म दुःखी छु ।” आजको कारोबार दैनिकमा खबर छ । #फाइल तस्विर

प्रकाशित मिति: Jul 18, 2016

प्रतिक्रिया दिनुहोस्