Logo
१२ बैशाख २०८१, बुधबार
(July 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली नेतृत्वको सरकार ढाल्न गठबन्धनले निशर्त सहयोग गर्ने

Gathabandhan_meeting

काठमाडौं ।  संघीय गठबन्धनले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न निशर्त सहयोग गर्ने भएको छ । बैठकमा गठबन्धन संयोजक उपेन्द्र यादवले आन्दोलनकारी पक्षका असन्तुष्टिहरु बाहिर नलैजान गठबन्धनका २९ घटकलाई आग्रह गरेका थिए ।

आइतबारदेखि सुरु बैठकमा गठबन्धनमा रहेको मधेसी मोर्चाका सात मधेसी घटकसहित २९ दलको बैठकले सरकारविरुद्धको अविश्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको हो ।

जेठ २५ देखि असार मसान्तसम्म खुलामञ्चमा चलेको रिले अनशनको समीक्षा बैठक थाल्दै यादवले यस बीचमा कतिपय दल र नेताबाट बैठकमा सौहार्दपूर्ण ढंगले प्रस्तुत हुने, बाहिर लगेर मतभेद छताछुल्ल पार्ने प्रवृत्ति देखिएको भन्दै त्यसो गरे आन्दोलनलाई नै क्षति पुग्ने बताए ।

सदभावना महासचिव मनिषकुमार सुमनले कांग्रेस र माओवादीले सरकारविरुद्ध राखेको अविश्वास प्रस्तावलाई निशर्त समर्थन गरे पनि अर्को सरकार बनाउने प्रक्रियामा मोर्चाका ११ बुँदा र गठबन्धनका २६ बुँदा सम्बोधन गर्ने प्रतिबद्धता आएपछि मात्रै निर्णय लिनुपर्ने बताए ।

बैठकमा मधेसी मोर्चाका घटकमध्ये तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तमसपा अध्यक्ष महेन्द्र राय यादव, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव र नेपाल सदभावना पार्टी अध्यक्ष अनिलकुमार झा भने अनुपस्थित थिए ।

बैठकमा अधिकांश वक्ताले व्यवस्थापकीय कमजोरी भए पनि काठमाडौंकेन्द्रित आन्दोलनबाट आम सर्वसाधारणमा राम्रो सन्देश गएको समीक्षा गरेका थिए ।

गठबन्धनभित्रको मोर्चाका ती नेता मधेसमा मोर्चाको नेतृत्वमा आन्दोलन चले पनि अहिले मोर्चालाई छायाँमा राखिएको भन्दै असन्तुष्ट छन् । सदभावनाबाट महासचिव मनिषकुमार सुमन, तमलोपा नेता वृषेशचन्द्र लाल, तमसपा वरिष्ठ नेता रामनरेश यादव सहभागी थिए । अनिल झा नेतृत्वको सदभावनाबाट बैठकमा कोही उपस्थित भएन ।

प्रकाशित मिति: Jul 17, 2016

प्रतिक्रिया दिनुहोस्