Logo
७ बैशाख २०८१, शुक्रबार
(July 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रहस्यमय तरिकाले बालिकाको मुत्यु भएपछि स्थानीय त्रसित

nurse-620x330न्यूज अप्रेशन, नवलपरासी ।  नेपाल भारत सीमा क्षेत्रमा गत असार १६ गते एक बालिकाको रहस्यमय तरिकाले मुत्यु भएकै कारण यतिबेला नवलपरासीका पक्लीहवा गाविसमा स्थानीय त्रसित छन् । विशेष गरी सीमापारीका भारतीय सुरक्षाकर्मीको डरका कारण सीमामा बस्दै आएका नेपाली निकै त्रसित बनेका हुन् ।

गत असार १६ गते बाख्रा चराउन भनी सीमापारी भारत जिल्ला महाराजगन्ज चिनलौल थाना अ‍ैरहवा गाउँमा पुगेकी १३ वर्षीया मङ्गीता कुर्मीको रहस्यमय तरिकाले हत्या भएको थियो । यद्यपि यसरी बालिकाको रहस्यमय तरिकाले मृत्यु भएको दुई साता भइसक्दा समेत यसबारे भारतीय प्रहरी मौन छ । भारतीय प्रहरीले सो घटनाबारे कसैलाई पनि जानकारी दिन खाजेको छैन साथै भारतीय प्रहरीले बालिकाको शव परीक्षण रिपोर्ट समेत बालिकाको घरपरिवारलाई बुझाएको छैन ।

गाउँलेले भारतीय प्रहरीले दोषीलाई बचावट गर्न भारतीय प्रहरी सक्रिय रहेको भन्दै तत्काल न्यायिक छानबिनको माग राखेका छन् । नवलपरासी क्षेत्र नं ६ का सांसद देवकरणप्रसाद कलवारले सीमा क्षेत्रमा भारतीय प्रहरीको ज्याजतीमा नेपाली समुदाय बाँच्न बाध्य छन् ।असार १६ गते बिहान ८ः३० घरबाट बाख्रा लिएर सीमा परी खेतमा बाख्रा चराउन घरबाट निस्किएकी मङ्गीताको राति करिब ८ः३० बजेतिर खेतमै शव फेला परेको थियो ।

सीमा क्षेत्रमा विशेष गरी सामान्य खाद्यान्न किनमेलदेखि पशु चौपाया चराउन सीमापारी भारत जानुपर्ने सीमावर्ती नेपाली समुदायको बाध्यता हो । सो घटनाबारे भारतीय प्रहरीले नवलपरासीको पक्लीहवाका १६ वर्षीय मेराज मिया र २३ वर्षीय गजेन्द्र कुर्मीलाई नियन्त्रणमा लिएर पाँच दिन पछि छाडेको थियो । सो क्रममा आफूहरुलाई भारतीय प्रहरीलाई कुटपिट समेत गरेको गजेन्द्रकुर्मीले बताए ।

बालिकाका बुबा सुरेन्द्र कुर्मीले आफ्नो छोरीको हत्यामा संलग्नलाई कारबाही गर्न भारतीय प्रहरी मौन बसेकाले न्यायिक छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग राखे । बालिकाको मृत्यु भएको स्थान भारतमै पर्दछ । बालिकाको मृत्यु भएको दिन सो क्षेत्रमा भारतीय सुरक्षाकर्मीको समेत आवागमन भएको सीमावर्ती नेपालीको भनाइ छ ।

प्रकाशित मिति: Jul 16, 2016

प्रतिक्रिया दिनुहोस्