Logo
७ बैशाख २०८१, शुक्रबार
(July 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“स्वास्थ्य नबिग्रियोस् भन्ने हाम्रो चाहना” भन्दै डा. बाबुररामको सर्मथन !

Dr baburam Bhattarai meets govinda kc

काठमाण्डौ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ठूला दल सरकार गिराउने र जोगाउने खेलमा केन्द्रित हुँदा डा. केसीको ज्यान जोखिममा रहेको बताएका छन् ।

‘एउटा डाक्टर आठपटक अनशन बस्दा समाधान ननिस्कनु विडम्बना हो,’ उनले भने, ‘उहाँको स्वास्थ्य नबिग्रियोस् भन्ने हाम्रो चाहना हो।’ पार्टीका तर्फबाट अनशनप्रति समर्थन जनाउन अस्पताल पुगेका भट्टराईले स्वास्थ्यका विषयमा नागरिक समाज र शुभेच्छुकको दबाब आवश्यक भएको बताए ।

उनले डा. केसीको अनशनको पाँचौं दिनसम्म पुग्दा सरकारका तर्फबाट संवेदनशीलता नदेखाएको बताए। भट्टराईले केसीले उठाएका माग पूरा नभएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले डा. केसीको साहस र दृढताको प्रशंसा गरे। महाभियोगको विषयलाई व्यक्तिगत कुरामा नजान भन्दै स्वास्थ्य शिक्षामा देखिएका विकृति–विसंगति अन्त्य हुनुपर्ने उनले बताए।

नयाँ शक्तिबाहेक डा. केसीको अनशनमा काठमाडौ विश्वविद्यालय प्राध्यापक संघ, विभिन्न मानवअधिकार र नागरिक समाजहरुले पनि ऐक्यबद्धता र समर्थन जनाइरहेका छन् ।

गत आइतबार चारसूत्रीय माग राखेर अनशनमा बसेका डा. केसीको स्वास्थ्य खस्किँदै गएपछि बिहीबारदेखि पूर्ण रुपमा अक्सिजन दिन थालिएको छ।

उनलाई निरन्तर नर्मल स्लाइनका साथै मोनिटरमा मुटुको चाल र रक्तचापको अनुगमन भइरहेको छ। उपचार मात्र होइन, प्रशासनको पत्र र अख्तियारको दबाबपछि अस्पताल प्रशासनले अनशनका लागि कोठासमेत उपलब्ध गराएको छैन।

पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई उपचार सेवा दिन अनुमति पाउँ भन्दै त्रिवि शिक्षण अस्पताल, महाराजगन्जले काठमाडौं जिल्ला प्रशासनसँग अनुमति मागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रमुखलाई महाभियोग लगाउनुपर्नेलगायत माग राखेर अस्पतालमै अनशनरत डा. केसीलाई सहयोग नगर्न जिल्ला प्रशासनबाट चेतावनीयुक्त पत्र आएपछि चिकित्सकहरु उपचार गर्नै डराइरहेका छन्।

त्यही कारण अस्पताल प्रशासनले बिहीबार जिल्ला प्रशासनसमक्ष पत्राचार गरी डा. केसीलाई उपचार सेवा दिन पाऊँ भनी अनुमति मागेको हो । अस्पतालका निर्देशक डा. दीपक महराले जिल्ला प्रशासनको पत्रपछि चिकित्सकहरुले डा. केसीलाई सेवा दिन असहज महसुस गरेकाले कानुनी सल्लाहकारको रायअनुसार पत्राचार गरिएको जानकारी दिए ।

उनले व्यक्तिगत पहलमा उपकरण र औषधि प्रबन्ध गरिए पनि प्रशासनको पत्रपछि ‘अफिसियल’ रुपमा चिकित्सक टोली खटाउन नसकिएको जानकारी दिए।

अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अस्पतालमा अख्तियारको आतंक बढेको आरोप लगाए। बिहीबार नागरिकसँग कुरा गर्दै उनले अख्तियारकै निर्देशनमा जिल्ला प्रशासनबाट धम्कीयुक्त पत्र आएको र त्यसयता चिकित्सकहरु आफ्नो छेउ पर्नै डराइरहेको जानकारी दिए।

डा. केसीले असार १२ गते अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग लगाउनुपर्नेसहित माग राखेर अनशनको अल्टिमेटम दिएपछि जिल्ला प्रशासन कार्यालयले असार १५ गते अस्पताललाई चेतावनीयुक्त पत्र पठाएको थियो।

अघिल्ला अनशनमा कुनै चासो नदेखाउने प्रशासनले यसपटक अत्यावश्यकीय सेवा ऐन, २०१४ को स्मरण गराउँदै सेवास्थलमा कुनै पनि बन्दहडताल नगर्न र गर्न नदिन, गर्नेलाई नसघाउन निर्देशनसहित पत्र पठाएको थियो ।

प्रकाशित मिति: Jul 15, 2016

प्रतिक्रिया दिनुहोस्