Logo
६ बैशाख २०८१, बिहीबार
(July 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. गोविन्द केसीको विरुद्धमा अब मनमोहन अस्पतालका डाक्टरहरु अनसन बस्ने !

manmohan

काठमाडौं । मनमोहन मेमोरियत शिक्षण अस्पतालका ३३ जना डाक्टर र नर्सिङ विभागसमेतले त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीको आन्दोलनलाई निशाना बनाउँदै अनसन बस्ने घुर्की देखाएका छन् ।

डा. केसी अनसन बस्ने दिन २६ गते नै मनमोहनका डाक्टरले अनसन बस्ने घुर्की देखाएका हुन् । शुक्रबार शिक्षण अस्पताललाई निवेदन लेख्दै उनीहरूले अनसन बस्न कोठा उपलब्ध गराइदिन माग गरेका छन्। अन्यथा, अस्पताल हाताभित्रै अनसन बस्ने चेतावनी दिएका छन् ।

डा. केसीले मनमोहन मेमोरियललाई सम्बन्धन दिन संसदमा प्रस्ताव गरिएको विधेयक खारेज गर्न माग गरेका थिए। केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनसमेत माग गर्दै असार २६ गतेदेखि अनसन बस्ने घोषणा गरेका थिए।

‘डाक्टर केसीले यस प्रस्तावित मनमोहन मेमोरियल शिक्षण अस्पताललाई लक्षित गरी माग राख्नुभएको र अन्य मागहरूप्रति पनि हाम्रो असहमति रहेकाले असार २६ गते दिउँसो २ बजेदेखि त्यसै अस्पताल हातामा अनसन बस्ने निर्णय गरेका छौं,’ निवेदनमा भनिएको छ, ‘सोका लागि कोठा उपलब्ध गराइपाऊँ।’

‘छात्रवृत्तिमा एमएस गर्न विदेश पढ्न गई नियमानुसार दुर्गममा सेवा गर्न जानैपर्ने नियमलाई लत्याएर काठमाडौंमा नै काम गर्ने, बिरामी र विद्यार्थीलाई विदेश पठाएर देशलाई टाट पल्टाउन उद्दत देशद्रोहीहरूको साथ पाएर अनेक हर्कत गरेका डा. गोविन्द केसीलाई हदैसम्मको कारबाही गरियोस्,’ निवेदनमा उल्लेख छ ।

निवेदनमा ‘अनसन कार्यले शिक्षण अस्पताललाई बाधा पर्न जाने र त्यसलाई बाधयताको रुपमा बुझिदिन’ उल्लेख छ । मनमोहन मेमोरियल शिक्षण अस्पतालका डाक्टरले विभिन्न पाँच बुँदे माग राखेका छन् । निवेदनको ३ नम्बर बुँदामा व्यवस्थापिका संसदमा प्रस्तावित मनमोहन मेमोरियल स्वास्थ्य प्रतिष्ठान विधेयकलाई स्वीकृत गर्न माग गरिएको छ। त्यसैगरी, ५ नम्बर बुँदामा डाक्टर केसीलाई कारबाही माग गरिएको छ ।

प्रकाशित मिति: Jul 8, 2016

प्रतिक्रिया दिनुहोस्