Logo
१२ बैशाख २०८१, बुधबार
(July 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेलिकोप्टर लिएर ३ उपप्रधानमन्त्री सहितको टोली कोरला नाकामा

Korala News

बेनी । चीनसंग सीमा जोडिएको कोरला नाकाको अवलोकन र वस्तुस्थिति अध्ययन गर्न तीनजना उपप्रधानमन्त्री बिहीबार दिउँसो कोरला नाका पुगेका छन् । जोमसोमबाट हेलिकोप्टरमा लोमान्थाङ ओर्लेका उनीहरूलाई स्थानीयले स्वागत गरेका थिए ।

सरकारले उच्च प्राथामिकता राखेको कोरला नाका पुग्ने सडकमार्ग, सुरक्षा र भन्सार कार्यालय व्यवस्थापनलगायतका विषयमा स्थलगत अनुगमन गर्न टोली सीमा क्षेत्र पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए ।

नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेर उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छेदार, भीम रावल, टोपबहादुर रायमाझीसँगै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, अर्थराज्यमन्त्री दामोदर भण्डारी, सडक विभागका महानिर्देशक माधव कार्की, रक्षा सचिव महेश दाहाल, मुस्ताङका सांसद रोमी गौचन, श्रीमाया थकाली र महेन्द्र शेरचनसहितको टोली सीमा क्षेत्र पुगेका हुन् ।

टोलीले सीमा क्षेत्रमा करिब आधा घन्टा बितायो । असार १ देखि २५ गतेसम्म उपल्लो मुस्ताङका ६ गाविसका स्थानीय र तिब्बतका व्यापारीबीच अन्तरदेशीय व्यापार मेला सञ्चालन गरिए पनि चिनियाँ पक्षले १६ दिनमै नाका बन्द गरेका थिए ।

नाका बन्द रहेका कारण अधिकारीहरूले सीमा क्षेत्रमा बढी समय बिताउन पाएनन् । स्थानीयको लामो समयको मागपछि लोमान्थाङमा स्थापना गर्न लागिएको नेपाली सेनाको गुल्मका लागि आवश्यक जग्गाको अवलोकन पनि गरिएको लोमान्थाङका गाउँ मुखिया झाङवा विष्टले बताए ।

लोमान्थाङवासीले सेनाका लागि लोमान्थाङको दक्षिणी क्षेत्रमा पर्ने बजारनजिकै छोलुङमा करिब ५० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

प्रकाशित मिति: Jul 8, 2016

प्रतिक्रिया दिनुहोस्