Logo
१३ बैशाख २०८१, बिहीबार
(July 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनतिरबाट आएको बाढीले तातोपानी क्षेत्र उच्च जोखिममा

bimal-nepal

सिन्धुपाल्चोक । चीनतिरबाट आएको बाढीले नदीकिनारको जमिन कटान गर्न नरोकिएकाले नेपाल–चीन सीमा क्षेत्रको तातोपानी र आसपासका क्षेत्रका घरमा क्षति हुने क्रम रोकिएको छैन ।

भोटेकोसी नदीमा पानीको बहाव कम भए पनि बाढीका कारण नदीकिनारमा कटान हुने क्रम नरोकिएपछि तातोपानी क्षेत्र जोखिममा परेको छ । मंगलबार मध्यरातबाट सुरु भएको बाढीले सीमा क्षेत्रमा मात्र ४० भन्दा बढी घर बगाइसकेको छ ।

चीनको कुनै ठाउँमा भएको अविरल वर्षाका कारण मंगलबार राति बाढी आएको अनुमान गरिएको छ । लेदो बगेर आएका कारण चीनको कुनै ठाउँमा पहिरो गई केही समय नदी थुनिएर खुल्दा एक्कासि पानीको बहाव बढेको अनुमान गरिएको हो ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको बिहीबार बसेको बैठकमा दिइएको जानकारीअनुसार बाढीले सीमा क्षेत्रको लिपिङ बजारमा २० परिवारका २१ वटा घर बगाइसकेको छ भने थप ३० वटा घर पनि बग्ने अवस्थामा पुगेका छन् ।

कोदारी बजारको होटेल इको र आसपासका घर पनि नदी कटानमा परेका छन् । तातोपानी बजारमा थप घर बग्ने अवस्थामा पुगेको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए ।

नदीको बहाव बजारतर्फ बढ्दै गएकाले थप क्षति हुनसक्ने अनुमान छ । स्थानीय चौकीडाँडामा आ श्रय लिइरहेका सर्वसाधारणलाई राजधानी पुर्‌याउने तयारी भइरहेको पनि दुवाडीले बताए ।

बाढीका कारण गएको पहिरोले तार, पोल, ट्रान्सफर्मरलगायत बगाउँदा बाह्रबिसेमाथिका सबै गाउँमा बिजुली अवरुद्ध भएको छ । बिजुली बाल्न ५० भन्दा बढी पोल आवश्यक रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

स्थानीय प्रशासनसमक्ष ५० जनाले राजधानीमा गएर बस्ने चाहना व्यक्त गरेका छन् । अन्यका लागि आवश्यकताअनुसार अस्थायी आवास र खाद्यान्नको व्यवस्था गर्ने समितिको निर्णय छ ।

प्रकाशित मिति: Jul 8, 2016

प्रतिक्रिया दिनुहोस्