Logo
१३ बैशाख २०८१, बिहीबार
(July 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजदुत सिफारिस भएका सुवेदीद्वयको संलग्नतामा सरकारी टिकट खरिदमा अनियमितता

prakash-durga-subedi

काठमाडौं । सरकारले राजदुतका लागि सिफारिस गरेका परराष्ट्र मन्त्रालयका दुई कर्मचारी प्रकाश कुमार सुवेदी र डा. दुर्गावहादुर सुवेदीका विषयमा संसदीय सुनुवाई समितिमा उजुरी परेको छ । सरकारले प्रकाश कुमार सुवेदीलाई अस्ट्रिया र दुर्गा बहादुर सुवेदीलाई बेलायतका लागि राजदुत सिफारिस गरेको छ ।

मन्त्रालय मातहतको विदेश भ्रमणका लागि बर्षौंदेखि एउटै ट्राभल एजेन्सीबाट प्रचलित दरभाउ भन्दाबढी मूल्यमा हवाई टिकट खरिद गर्ने गरेको र त्यसमा प्रत्यक्ष संलग्न रहेको भन्दै सिफारिसमा परेका सहसचिवद्वय सुवेदीहरुमाथि समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि उजुरी परेको हो । यो उजुरी अख्तियारमा ३१७०७ नम्बरमा दर्ता भएको छ ।

सार्वजनिक खरिद ऐन, ३०६३, सार्वजनिक खरिद नियमावली २०६४ ले सरकारी निकायबाट सामान तथा सेवा खरिद गर्दा कानुनी कार्यविधि मान्नुपर्ने व्यवस्था गरेको छ । तर, मन्त्रालयले बर्षौंदेखि सुरुची ट्राभल एण्ड टुर्स प्रचलित बजार भाउभन्दा दोव्बर बढी मुल्यमा टिकट खरिद गर्ने गरेको छ । यसमा सहसचिवद्वय प्रकाश कुमार सुवेदी र डा. दुर्गाबहादुर सुवेदीको प्रत्यक्ष मिलेमतो रहेको स्रोतको दावी छ ।

उनीहरुले ट्राभल एजेन्सीसँग मिलेर सरकारलाई आर्थिक नोक्सान पार्ने गरि आर्थिक अनियमितता गर्ने गरेको उजुरीमा उल्लेख छ । मन्त्रालयमा रहेर निजी ट्राभल एजेन्सीसँग मिलेर चर्को आर्थिक चलखेल गर्ने गरेको स्रोतले दावी गरेको छ । सोही कारण आर्थिक अनियमिततामा संलग्न यस्ता व्यक्ति राजदुत जस्तो गरिमामय कुटनीतिक पदमा नियुक्त भएमा अझ बढी अनियमितता गर्न सक्ने र मित्र राष्ट्रमा नेपालको इज्जत र छविमै नकरात्मक असर पर्ने भन्दै राजदुत नियुक्त नगर्न उजुरीमा भनिएको छ ।

अन्य ट्राभल एजेन्सीले ५८ देखि ६० हजार रुपैयाँमा दक्षिण कोरियाको टिकट उपलव्ध गराउने गरेको छ । तर, दुई सुवेदीको मिलेमतो रहेको सुरुची ट्राभल एण्ड टुर्सलाई भने एउटा टिकटको एक लाख १० हजार भन्दाबढी भुक्तानी भएको मन्त्रालय स्रोतले जनाएको छ । विदेश भ्रमणको एकलौटी टिकट लिइदिएपछि सो ट्राभलबाट सुवेदीद्वयले राम्रो ‘लाभ’ लिइरहेको जनाइएको छ ।

मन्त्रालयको पावरफुल पदमा रहेर दुवै सुवेदी बर्षौंदेखि अनियमितता गर्ने काममा सक्रिय रुपमा लागेको मन्त्रालयकै कर्मचारी बताउँछन् । आफू मातहतका कर्मचारीलाई हातमा लिएर उनीहरुले मन्त्रालयभित्र राज गर्ने गरेको ती कर्मचारीको भनाई छ । आफू निकट रहेको (काँग्रेस) राजनीतिक दल र तीनका प्रभावशाली नेताको हबला दिँदै दुवैले आफूखुसी निर्णय गर्ने गरेको मन्त्रालयकै एक कर्मचारी बताउँछन् । कास्की घर भएका प्रकाश र झापा घर भएका सुवेदीद्वय लामो समयदेखि परराष्ट्र मन्त्रालयमै छन् । संसदीय सुनुवाइ समितिमा सुनुवाई हुने लागेपछि दुवै जनाले फुर्ती बढ्दै गएको मन्त्रालयका एक कर्मचारी बताउँछन् ।

बेलायतका लागि राजदुतमा सिफारिस भएका सुवेदीले अब धेरैलाई कर्णेल लामा बनाउने समय आएको भन्दै धम्की समेत दिने गरेको स्रोतको दावी छ । आफू निकट रहेको दलको हवला दिँदै अब थुप्रै नेपालीलाई कर्णेल लामा बनाउने पालो आफ्नो आएको उनी खुलम खुला भन्दै आएको स्रोत बताउँछ । सुवेदीले मन्त्रालय र सो अन्र्तगतका निकायका कर्मचारीलाई समेत आफू पक्कापक्की राजदुत हुने र कसलाई के गर्नुपर्छ भन्ने राम्रो जानकारी लिईसकेको भन्दै धम्कीपूर्ण भाषा प्रयोग गर्दै हिँड्ने गरेको स्रोतले जनाएको छ । रातोपाटीबाट साभार 

प्रकाशित मिति: Jul 8, 2016

प्रतिक्रिया दिनुहोस्