Logo
८ बैशाख २०८१, शनिबार
(July 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्धविश्वासको पराकाष्टाः बोक्सी आरोपमा आमासहित भाउजुलाई ६ महिनादेखि यातना

Nuwakot News

नुवाकोट । अहिलेको २१ औ सताप्दीमा पनि अन्धविश्वासको पराकाष्टा झै एउटा समाचार प्राप्त भएको छ । कथित बोक्सीको आरोपमा समाजमा परिवारभन्दा बाहिरका अन्यत्र व्यक्तिहरुमाथि थुप्रै अमानविय घटनाहरु हुँदै आएको त देखिरहेकै छौँ । तर, नुवाकोटमा भने एक छोराले आफूलाई जन्म दिने आमालाईसमेत छोडेनन् र बोक्सीको आरोप लगाउँदै हत्या गर्ने प्रयास गरेका छन् ।

चारघरे गाविस वडा नं।–१ चैनपुरका ३८ वर्षिय साईंला भनिने सोेम बहादुर मिजारले आफ्नी ६२ वर्षीया आमा सावित्री मिजारको हत्या गर्ने प्रयास गरेका हुन् । आमा सावित्रीलाई बोक्सी, मसान र विर भन्दै छाती र पिठ्युँमा निर्धात् कुटेर करिब २५ मिटर कान्लाबाट खसालिदिएका थिए । कुटपिटपश्चात् कान्लाबाट खसालिएकी उनको अवस्था चिन्ताजनक भएपछि एक सातादेखि सदरमुकाम विदुरको सिटी अस्पतालमा उपचार भइरहेको छ ।

असार १४ गते साँझ छोरा साईंलाको आक्रमणबाट दुईदिनसम्म बेहोस् हुनपुगेकी थिइन् । साथै बायाँ हातको पाता नचल्ने र छातीमासमेत गम्भिर चोट लाग्न पुगेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार लामो उपचारपछि सावित्रीको स्वास्थ्यमा सुधार त आएको छ । तर, स्वास्थ्यमा सुधार आएतापनि घटनापछि मानसिक रुपमा भने समस्या देखिएको परिवारले जनाएको छ ।

‘बेला–बेलामा बर्बराउने, कराउने र एकोहोरो टोलाउने गर्नुहुन्छ, जेठा छोरा कृष्ण बहादुरले भने, ‘आफैँले जन्माएको छोराले बोक्सी भन्दै यसरी मार्न खोज्यो । तर आमा त बाँच्नुभयो । यसकै कारण होला, उहाँमा शारिरिक चोटसँगै मानसिक चोट थपिएको छ ।’ उनले त्यसबेला आमासँगै आफ्नी जेठी भाउजु ३५ वर्षीया फुलमायाँमाथि समेत आक्रमण गरेका थिए ।

‘म त्यस दिन गाउँमा गएको थिएँ, मेरी श्रीमती बलिई थिई भाग्न भ्याईछ, उपचारका लागि आमालाई बोकेर अस्पतालमा आएका कृष्णबहादुरले घटनाको बेलिविस्तार लगाउँदै भने, ‘आमा उमेरले पनि बुढी मान्छे, असक्त हुनुहुन्थ्यो । कुट्दाकुट्दै आमा बेहोस् भएपछि मरीसकी भनेर उसले कान्लाबाट घचेटिदिएछ ।’

कृष्ण बहादुरकी श्रीमती अर्थात् सावीत्रीकी जेठी बुहारी फुलमायाँले बताएअनुसार असार १४ गतेको साँझमा उनी खाना खाइवरी भाँडा माझ्दै थिइन् । घरमा दाजुहरु कोही नभएको मौका पाएपछि साईंलाले भाउजु फुलमायाँलाई अश्लिल गाली गर्दै कुटपिट गर्न थाले । त्यो देखेर आमा सावित्रीले किन पिटेको भन्दै छेक्न पुगेकी थिइन् । ‘मलाई हातपात गरेको देखेर आमा छेक्न आउनुभएको आमालाई कुट्न आइलाग्यो, फुलमायाँले भनिन्, ‘तँ बोक्सी विर भएर हामीलाई खान खोज्न उसलाईचाहिँ बचाउन आएकी भन्दै छाती र हातको पातामा लगातार मुट्कीले हानिरह्यो ।’

आफू भागेर ज्यान जोगाएको बताउँदै उनले घटनाबारे थप कुरा भनिन्, ‘कुट्दाकुट्दै पछि म आइपुग्दा त आमा बेहोस् भइसक्नुभएछ । मरीसकी होला भन्ठानेर उसले कान्लाबाट घचेटेर फालिदिएपछि हामीले आमालाई उठाएर अस्पताल ल्यायौँ ।’ गाउँलेहरुका अनुसार यसअघि पनि सोेम बहादुरले आमा र भाउजुलाई अश्लिल गाली गर्दै शारिरिक र मानसिक रुपमा ६ महिनाअघिदेखि नै यातना दिँदै आएका थिए । एकमहिनाअघि भाउजु फुलमायाँलाई उनले कुटपिट गरिसकेका थिए ।

‘म मेरा सबै छोराछोरी सन्ताल लिएर धर्म भाक्न सक्छु, उसले के–के सम्म गरिसकेको छ भनेर’, फुलमायाँले आँशु झार्दै भनिन् । स्थानिय छिमेकीहरु पनि भन्छन्, ‘सोमबहादुर पहिलेदेखि नै उच्छृङ्खल गतिविधी गर्दै आइरहेको मान्छे हो, प्रहरीले पक्रेर लैजाँदासमेत ऊ सुध्रेन ।’ तीन महिनाअघि पनि आमा र भाउजु दुवैलाई कुटपिट गरेपछि तीन दाजुभाईहरु कृष्ण बहादुर, हेम बहादुरलगायतले प्रहरी चौकी देविघाटमा जीउज्यानको सुरक्षाको माग गर्दै उजुरी गरेका थिए ।

प्रहरीले पनि आइन्दा कुटपिट र गालीगलौज नगर्ने लिखित सर्तमा छोेडेका थिए । अहिलेको घटनापछि पुनः कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दिएको परिवारले जानकारी दिएको छ । पत्रकार जगदिश खनालको सहयोगमा

प्रकाशित मिति: Jul 6, 2016

प्रतिक्रिया दिनुहोस्