Logo
१२ बैशाख २०८१, बुधबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत प्रबुद्ध समूह बैठक: ‘भारतीयलाई पशुपतिमा हक छ, सिंहदरबारमा छैन’

RRP News

काठमाडौं । नेपाल र भारतबीचका सन्धि सम्झौतालगायतका सम्बन्ध सिंहवलोकन गरी सुझाव दिन गठित द्विदेशीय प्रबुद्ध समूहको पहिलो बैठक काठमाडौंमा सोमबार सुरू भएको छ । दुई वर्षका लागि गठित आठ सदस्यीय विज्ञ समूहको दुई दिने बैठक उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले दुई देशका सम्बन्धका सबै विषयमा महत्वपूर्ण सुझावको अपेक्षा गरिएको बताए ।

नेपाल र भारत सम्बन्धमा कहिलेकाहीँ बुझाइको समस्याले उतारचढाव आउने गरेको उल्लेख पनि उनले गरे। कूटनीति, संसद, नागरिक समाज र विशेषज्ञ क्षेत्रको प्रतिनिधित्व भएका समूहका सदस्यहरूबाट आउने सुझावले सरकारहरूलाई मार्गदर्शन गर्ने पनि उनले आशा राखे । समूहमा नेपाली पक्षका संयोजक अनुभवी कूटनीतिज्ञ भेषबहादुर थापा छन् भने भारतीय पक्षबाट सत्तारूढ भारतीय जनता पार्टीका एक उपाध्यक्ष तथा निकटवर्ती पश्चिमी छिमेकी राज्य उत्तराखण्डका पूर्व मुख्यमन्त्री भगतसिंह कोसियारी छन् ।

संयोजक थापाले चार चार जनाका दरले आठ जनाको उक्त समूहमा आफूहरू समकक्षी (काउन्टरपार्ट) नभई सहकर्मी (कलिग) भएको र त्यहीअनुसार द्विदेशीय सम्बन्धका बृहद् तथा शीघ्र महत्वका विषयमा छलफल गर्ने जानकारी दिए । समूहका सहसंयोजक कोशियारीले असल छिमेकी कसरी बन्ने भन्ने सोचाइमा छर्लङ्ग हुन सबैलाई आग्रह गरे। कोसी, काली, कर्णालीको पानीले दुई देशलाई घनिष्ठ पारेको उल्लेख गर्दै उनले नेपाल र भारत सम्बन्धलाई ‘रोटी र बेटी’ भन्ने पुरानो मान्यताबाट आफूले नहेर्ने बताए। भने, ‘हाम्रो त रक्त समूह एउटै हो ।’

त्यसक्रममा उनले पशुपतिनाथ मन्दिरमा आफूहरूको अधिकार रहेको तर त्यस्तै अधिकार सिंहदरबारमा छ भनेर हेर्न नहुने रोचक पारामा बताए। आफ्ना समकक्षी थापाले अंग्रेजीमा सुरू गरेको उद्घाटन सत्रमा आफ्नो बोल्ने पालो आएपछि उनले हिन्दीमा बोल्न अनुमति माग्दै दर्शकदीर्घाको अग्रपंक्तिमा बसेका समूहका नेपाली सदस्य निलाम्बर आचार्यको नाम जोडेका थिए ।

‘पशुपतिनाथ मन्दिरमा जति निलाम्बर आचार्यको अधिकार छ, उति भगतसिंह कोशियारीको पनि छ,’ उनले आफ्नै नाम पनि काड्दै भने, ‘तर यही दृष्टिले सिंहदरवारमा जति नीलाम्बर आचार्यको अधिकार छ, उति भगतसिंह कोशियारीको पनि छ भन्न थालेँ भने कुरा बिग्रिहाल्छ।’ कोशियारीको उक्त पेचिलो टिप्पणीले राजधानीको होटलको एउटा सभाकक्षमा समेटिएका राजदूत, पूर्व कूटनयिक, राजनीतिकर्मी, विशेषज्ञ, सञ्चारकर्मीलाई हँसाएको थियो ।

नेपाल र भारतबीच प्रधानमन्त्री स्तरमा १९५० को शान्ति सम्झौता पुनरावलोकन लगायत विभिन्न मुद्दामा छलफल हुने गरेकाले सम्बन्धका विभिन्न आयामबारे विज्ञतहमा छलफल गर्न र सुझाव लिन उक्त समूह दुबै देशले गठन गरेका हुन् । नारायणहिटीभित्र राहदानी विभागको परिसरमा कार्यालय स्थापना गरेको नेपाली समूहमा थापा र आचार्यसहित पूर्व प्रशासक सूर्यनाथ उपाध्याय तथा विदेश मामिला ज्ञाता एमाले सभासद् राजन भट्टराई छन् । भारतीय पक्षमा कोशियारीबाहेक पूर्व राजदूत जयन्तप्रसाद र प्राध्यापकद्वय महेन्द्र पी लामा र बीसी उप्रेती छन् । सेतोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्