Logo
८ बैशाख २०८१, शनिबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गिर्ने नै भो ओली सरकार: ‘कांग्रेस–माओवादीको गठबन्धनले सत्ता सम्हाल्ने’

Neta News

काठमाडौं  । राजनीति गर्नेहरुको अन्तिम लक्ष्य के हो ? उत्तर सहज छ – सत्ता प्राप्ति गर्नु र त्यहाँ बसेर देश र जनताको सेवा गर्नु । नेपालको सन्दर्भमा देश र जनताको सेवा प्राथमिकतामा परोस् या नपरोस्, सत्ता प्राप्तिको खेलहरु भने चलिरहन्छ । यो खेल प्राय नेपालकै नेताहरुले आफैं खेल्दैनन्, खासगरि दुई छिमेक (उत्तर चीन र दक्षिण भारत) बाट आएका दूतहरुले नाफा र घाटाको आधारमा यहाँको नेताहरुलाई नचाउँछन र यहाँका नेताहरु पनि विदेशी दूतहरुले बजाएको डम्फू अनुसार नाचिदिन्छन ।

सरकार परिवर्तनमा नेपाली नेताहरुको स्वविवेक खासै प्रयोग नहुने यथार्थ बुझेको दक्षिणतर्फको छिमेकी भारतले नयाँ संविधान लेखिएपछि त्यहाँका केही बुँदा तथा प्रावधानहरुमा असहमति जनाउँदै लगातार नेपालको आन्तरिक राजनीति र मामिलामा हस्तक्षेप गरिरहेको छ । उसका हस्तक्षेपकारी रणनीति थुप्रै असफल भए पनि अन्ततः लगातारको अथक प्रयासपछि अब भारतीय दूत आफ्नो रणनीतिमा सफल हुने स्पष्ट संकेत देखिएको छ ।

यदि चिनियाँ पक्ष पहिलाजस्तो रातारात हाबी भएन भने केपी ओली नेतृत्वको सरकारको आयु अब केही सातासम्म मात्र सीमित हुनेछ र कांग्रेस–माओवादीको गठबन्धनले सत्ताको बागडोर सम्हाल्न थाल्नेछ । ओली सरकारको दिनगन्ती शुक्रबारदेखि सुरु भएको हो । यो प्रयासले शनिवार आएर अझ गति पायो । यो दुई दिन सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल कांग्रेसले ओली सरकारको विकल्प खोज्ने आन्तरिक निर्णय गरे । यो कुरा बाहिर आयो । तर त्यसभन्दा भित्र पनि अर्को गोप्य सेटिङ भयो, यस्तो सेटिङको मध्यस्थकर्ता बने नेपालमा बसेर ओली सरकार जसरी भए पनि गिराउने योजनामा रहेका भारतीय दूतहरुले ।

भारतीय दूतको प्रयासमा कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य शीर्ष कांग्रेसी नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सो दलका समेत उच्च नेताहरुको गोप्य बैठक गराइयो । सो बैठकमा दुवै पक्षले संसदबाट बजेट पास भएपछिको एकसाताभित्रमा ओली आफैंलाई राजीनामाका लागि अनुरोध गर्ने, नमाने अविश्वासको प्रस्ताव दर्ता गरी सरकार ढाल्ने गोप्य सहमति भएको छ । कांग्रेसका एक शीर्ष नेताका अुनसार विगतमा भएका कमीकमजोरीलाई भूलेर बजेट पास भएपछि कांग्रेस र माओवादी केन्द्रसँगै अगाडि बढ्ने देउवा र प्रचण्डबीच सहमति भएको छ ।

बैठकमा प्रचण्डको साथमा कृष्णबहादुर महरा, वर्षमान पुन लगायतका नेताहरु गएका थिए । यो गोप्य बैठक बुढानिलकण्ठस्थित देउवा निवासमा भएको थियो । एकातिर दुवै पार्टीले आफ्ना सुप्रिमोको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गर्नु र अर्कोतर्फ गोप्य रुपमा दुई पार्टीका शीर्ष नेताबीच सहमति बन्नुले ओली सरकार फालिएर फेरि प्रचण्ड नेतृत्वमा बहुमतीय सरकार नै बन्ने निश्चित देखिएको स्रोत दाबी गर्छ ।

‘हाम्रो पार्टीले देउवा नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय गरेको छ ।’ कांग्रेसका ती नेताले भने–‘यसको अर्थ देउवा नै हुनुपर्छ भन्ने होइन, बार्गेनिङका लागि सभापतिको नाम अगाडि सारिए पनि सुरुमा प्रचण्डलाई नै प्रधानमन्त्री बनाउन समेत हामीभित्रै पनि सहमति बनिसकेको छ ।’ कांग्रेस र एमाओवादीबीचको गोप्य सहमति अनुसार आगामी संसदीय निर्वाचनअघिसम्म प्रचण्डलाई सरकारको नेतृत्व गर्न दिने र त्यसपछिको सरकारको नेतृत्व देउवाले गर्नेछन् ।

‘दुवै पार्टीका नेताहरु आउने संसदीय निर्वाचनमा कुनै पनि दलको बहुमत नआउने निश्कर्षमा पुगेका छन् ।’ स्रोतले भन्यो–‘त्यसकारण माओवादीसँग यस्तो सहमति भएको हो ।’ हाल प्रचण्डले सरकारको नेतृत्व गरे पनि महत्वपूर्ण मन्त्रालय भने कांग्रेसले लिने हिसाबले सेटिङ मिलाउने तयारी छ । ‘तर त्यसअघि ओली सरकार ढाल्नुछ ।’ कांग्रेस नेताले भने–‘ओली सरकारको आयु बढीमा साउनसम्म मात्र हो अब ।’

ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेटको दफाबार छलफल सकिएर त्यो पास हुँदासम्म लगभग साउन महिना लाग्ने कांग्रेस माओवादीहरुको बुझाई छ । ओली सरकारलाई गिराउनैका लागि माओवादी केन्द्र बाहेकका अन्य दलहरुसँग पनि कांग्रेसले छलफललाई तीव्र बनाएको छ । कांग्रेसका शीर्ष नेताहरुले मधेशवादी दलका नेताहरु, राप्रपा नेपाल र राप्रपाका नेताहरुसँग समेत भेट गरेर ओली सरकार गिराउनलाई सहयोग गर्न भनिसकेको छ । ती दलहरुबाट समेत ग्रिन सिग्नल आएको कांग्रेसको बुझाई छ ।

अर्कोतर्फ, माओवादी केन्द्रले जनमोर्चा, नेकपा माले लगायतका कम्युनिष्ट घटकसँग छलफललाई तीव्र पारेको छ । ती सबै घटकबाट ओली सरकार गिराउने विषयमा ग्रिन सिग्नल आएको स्रोत दाबी गर्छ ।

तारोमा परे ओली

ओली पछिल्लो समय सबै दल, शक्तिकेन्द्रहरुको तारो बनेका छन् । उनको सत्ता धरमराएको अवस्थामा समेत चिनियाँ शक्तिकेन्द्रको चलखेलपछि थामथुम पार्न महत्वपूर्ण भूमिका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका थिए । कांग्रेस र माओवादीको सत्ता गठबन्धन बन्न लाग्दै गर्दा ओलीको सरकार जोगाउन जस्तोसुकै सम्झौता गर्न समेत तयार रहेको सन्देशसहित बामदेव गौतम र झलनाथ खनाल प्रचण्ड निवास पुगेका थिए ।

प्रचण्डसँग उनीहरुले बजेट प्रस्तुतीपछि उनैलाई प्रधानमन्त्री दिन तयार रहेको बताएका थिए । यिनै बुँदाहरु समेटेर माओवादीसँग एमाले नेतृत्वको सम्झौता समेत भएको थियो । तर पछिल्लो कालमा केही आफ्ना राम्रा कामका कारण ओली चर्चित हुँदै गएपछि उनले विगतको सहमति बिर्सिएका र माओवादीलाई पाखा लगाउने खेल खेलेको माओवादी केन्द्रका नेताहरुको मात्र होइन, एमालेकै कतिपय नेताहरुको समेत बुझाई छ ।

त्यतिबेला ओली सरकार जोगाउने काममा महत्वपूर्ण भूमिका खेलेका बामदेव गौतमले सार्वजनिक संचारमाध्यममै ओली माओवादीसँगको सहमति कार्यान्वयनमा इमानदार नदेखिएका आरोप लगाइसकेका छन् । यसरी एमालेभित्रैबाट समेत ओली निशाना परेका छन् । अर्कोतर्फ, आफूहरुसँगको सहमतिमा ओली इमानदार नदेखिएपछि यसअघि सरकार ढाल्न नहुने पक्षमा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समेत शुक्रबार र शनिवारको छलफलमा कांग्रेस–माओवादी गठबन्धनको पक्षमा प्रस्तुत भएका छन् ।

हुन त उनलाई यो भूमिकामा प्रस्तुत गराउने काम पनि भारतीय दूतहरुले नै गरेका माओवादीभित्रै चर्चा छ । उनलाई लगातार दूतहरुले भेट गरेर प्रभावमा पारेका र त्यसपछि ओली सरकार ढाल्न नहुने पक्षमा रहेका प्रकाश पनि ढाल्ने पक्षमा उभिएपछि माओवादी केन्द्रभित्र ओली सरकारविरुद्ध एकमत बनेको हो । उता, भारतीय पक्षले ओली आफूविरुद्ध प्रस्तुत भएका भन्दै उनलाई ढालेरै छाड्ने म्याण्डेडसहित भारतीय गुप्तचर एजेन्सी ‘रअ’का पूर्व र वर्तमान अधिकारी र अन्य राजनीतिक खेलाडीहरुलाई बाक्लै संख्यामा काठमाडौं केन्द्रीत गरेको थियो । ती खेलाडीहरुले समेत लगातार खेलेपछि र कांग्रेसलाई हातमा लिएपछि ओली सरकारविरुद्ध कांग्रेस–माओवादी गठबन्धन तयार गर्ने काम सहज भएको स्रोत बताउँछ ।

‘अब आउनसक्ने चिनियाँ दवाबसँग समेत नझूकी कांग्रेस–माओवादी गठबन्धन बनाइछाड्ने सहमति समेत बनेको छ ।’ माओवादी केन्द्रका एक नेताले भने–‘हामीले साथ दिए पनि पूर्व सहमतिप्रति इमानदार नहुने ओलीको बहिर्गमन नै अबको उत्तम विकल्प हो ।’ सदाबहारमा खबर छ । आफ्ना अध्यक्ष ओली नेतृत्वको सरकार चौतर्फी संकटमा परेपछि यो गठबन्धनलाई जोगाउन र शक्तिकेन्द्रको खेलहरुलाई निस्तेज कसरी गर्ने भन्ने बिषयमा एमालेभित्र ठोस रणनीति बनेको छैन ।

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्