Logo
१२ बैशाख २०८१, बुधबार
(July 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानन्धरको निधनमा ब्यवस्थापिका संसदमा शोक प्रस्ताव

BICCकाठमाडौँ । व्यवस्थापिका–संसद्को आइतबारको बैठकले पूर्वसांसद एवम् शिक्षामन्त्री प्रा डा मङ्गलसिद्धि मानन्धरको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

उहाँको यही असार १७ गते ७५ वर्षका उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो । उहाँ सङ्घीय समाजवादी फोरम, नेपालका केन्द्रीय सल्लाहकार समितिको प्रमुख सल्लाहकार हुनुहुन्थ्यो । त्यसअघि उहाँ नेकपा (एमाले) का तर्फबाट विस २०५६ को प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र ७ बाट र सोही दलबाट २०६४ सालको संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित हुनाका साथै पूर्वशिक्षामन्त्री पनि हुनुहुन्थ्यो ।

संसद्ले उहाँको निधनमा शोक प्रकटका साथ मानन्धरको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । सदनको बैठक आजै आधा घन्टाका लागि स्थगन भएको छ ।

Dr Manandharयसअघि पूर्वमन्त्री डा मानन्धरको शनिवार पशुपति आर्यघाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । मूत्र प्रणालीको क्यान्सरबाट पीडित मानन्धरको ७५ वर्षको उमेरमा शुक्रबार बिहान १०ः४५ बजे नर्भिक अस्पताल, थापाथलीमा निधन भएको थियो ।

समाजवादी फोरम सल्लाहकार परिषद्का सभापति स्व मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । मानन्धर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष र नेपाल प्राध्यापक सङ्घका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो ।

बिहान पार्टी कार्यालय तीनकुने, त्रिचन्द्र कलेज, घन्टाघर र खुल्लामञ्चमा राखिएको पार्थिव शरीरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेल, नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रका नेता वर्षमान पुन र सांसद श्याम श्रेष्ठलगायत मधेस केन्द्रित दलका नेताहरूले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

प्रकाशित मिति: Jul 3, 2016

प्रतिक्रिया दिनुहोस्